४ मंसिर २०८३, शुक्रबार

हत्याका कारण डेढ महिनादेखि मदरसा बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा, १० माघ । विद्यानगर ४, बसवरियाकी १० वर्षीय दरक्सन खातुन आजकल बाख्रा चराएर दिन विताउँछिन् । गाउँमा रहेको मदरसामा कक्षा ४ मा पढ्ने उनी मदरसा नै डेढ महिनादेखि बन्द भएपछि बाख्रा चराउनमै उनको दिन वितेको छ । उनीसँगै पढ्ने तलातुन निशा पनि पढाइ नै नभएपछि दिनभर खेल्ने, बाख्रा चराउने मै दिन वितेको बताउँछिन् ।

गाउँकै मदरसाको कक्षा ३ मा पढ्ने अमिरुन बानुको दैनिकी पनि दिनभर खेल्नमै वितेको छ । उनीजस्तै कक्षा २ मा पढ्ने वारिस अलि, कक्षा १ का अजमत अलि पनि दिनभर खेलेर दिन विताउँछन् । उनीहरु जस्तै मदरसामा पढ्ने १सय २५ जना मुस्लिम बालबालिकाहरु डेढ महिनादेखि खेलेरै दिन कटाउने गरेका छन् ।

गाउँमा हिन्दू र मुस्लिमबीच झपडका क्रममा एक जनाको मृत्यु भएपछि डेढ महिनादेखि गाउँ नै सुनसान छ । डर त्रासका कारण मदरसामा पढाउने मौलाना समेतले गाउँ छाडेर भागेपछि डेढ महिनादेखि मदरसा नै बन्द छ । अहिलेसम्म मदरसा नखुल्दा त्यहाँ अध्ययनरत मुस्लिम बालबालिका पढाइ नै अस्तव्यस्त छ । बालबालिकाहरु खेलेरै दिन विताउन बाध्य छन् ।

मुस्लिम बालबालिकाका लागि स्थानीयले “जामिया मदरसा अहले सुन्नत गुल्सनी रजा” नामक मदरसा संचालन गरेका छन् । मदरसामा कक्षा ४ सम्मको पढाइ हुने गर्छ, स्थानीयको भनाई छ । मदरसामा अरबी, हिन्दी, अंग्रेजी लगायतका विषय पठनपाठन हुने गरेको छ । मदरसामा हाल १ सय २५ विद्यार्थी छन् ।

जसमध्ये कक्षा ४ मा २ विद्यार्थी, ३ मा एक जना, कक्षा २ मा १४ जना र कक्षा १ मा १सय ८ जना विद्यार्थी अध्ययनरत छन् । तर डेढ महिनादेखि मदरसा नै संचालनमा नआएपछि गाउँका बालबालिका खेलेरै दिन कटाउन बाध्य भएको स्थानीय नाजिमा बढईले गुनासो पोख्नुभयो ।

गत मंसिर २७ गते दुई समूहबीच झडप हुँदा ५५ वर्षीय मुन्नुलाल यादवको मृत्यु भएको थियो । घटनापछि गाउँका एकसय बढी वृद्ध, वयस्क र युवाहरु डर त्रासले भागेका छन् । गाउँमा अहिले महिला र ८/१० वर्षका बालबालिकाहरु मात्र छन् ।

घटनाकै दिनदेखि इलाका प्रहरी कार्यालयले एक जना हवल्दारको कमाण्डमा ५ प्रहरी चौबीसै घण्टा खटाएको छ । प्रहरीले ८ जनालाई घटनामा संलग्नको आधारमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

गाउँमा एकअर्कासँग बोल्न डराउने अवस्था छ । जीवनयापन कष्टकर बनेको छ । दुवै पक्षले अहिले सरोकारवाला निकायले मेलमिलाप गरी शान्ति सद्भावको वातावरण सृजना गर्न माग गर्दै आएका छन् ।