१ कार्तिक २०८३, आइतबार

परेवा उडानमा गोरखद्वारा कीर्तिमान सहित उपाधी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । १७ औं परेवा उडान प्रतियोगितामा ठमेलका गोरखसमशेर राणाले राष्ट्रिय किर्तिमान सहित उपाधी हात पार्न सफल भएका छन् ।

गोरखले १३ औं परेवा उडान प्रतियोगितामा आफ्नै परेवाले राखेको ३२ घन्टा ५९ मिनट उडानको राष्ट्रिय किर्तिमानको समयमा ३२ मिनटले सुधार गर्दै ३३ घन्टा ३१ मिनटका साथ नयाँ राष्ट्रिय किर्तिमान सहित उपाधी हात पार्न सफल भएका हुन् ।

उनले नगद २५ हजार सहित केयुर समशेर रनिङ्ग शिल्ड र मेडल प्राप्त गरे । करिव ४ लाख मुल्य बराबरको चाँदीको परेवाको केयुर समशेर रनिङ्ग शिल्ड गोरखले नै आफ्ना पिता केयुर शमसेर राणाको स्मृतीमा २०६९ सालमा स्थापना गरेका हुन् ।

१६ औं संस्करणमा मधु घिमिरेको परेवाले ३० घन्टा ४३ मिनट उडानका साथ प्रथम र गोरख शमसेर राणाको परेवाले २३ घन्टा ५० मिनट उडानका साथ दोश्रो स्थान प्राप्त गर्न सफल भएका थिए ।

प्रतियोगितामा भक्तपुर ठिमीका बिरेन्द्र श्रेष्ठ ३३ घन्टा ४ मिनटका साथ दोश्रो र ठिमीकै रविन महर्जन २९ घन्टा ९ मिनटका साथ तेश्रो भए । उनीहरुले नगद १५ र १० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै काठमाण्डौका रविन्द महर्जन चौथो, दिप्तराज जोशी पाँचौ र पुष्प महर्जन छैटौं स्थानमा रहे । उनीहरुले क्रमश नगद ५, ४ र ३ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यसै गरि प्रतियोगितामा उत्कृष्ट परेवाको उपाधी बानेश्वरका उज्वल रिमालले हात पारे । प्रतियोगितामा सहभागी १८९ परेवालाई पछाडी पार्दै उनको एक परेवाले ८ घन्टा ५२ मिनटको उडान गर्दै उत्कृष्ट भएको थियो । उनले पहिलो पटक स्थापित स्व. बिष्णुभक्त उत्कृष्ट परेवा रनिङ्ग शिल्ड र मेडल सहित नगद ५ हजार प्राप्त गरे । घनश्याम श्रेष्ठले परेवाका सौखिन बिष्णु भक्त श्रेष्ठको स्मृतीमा करिब २ लाख ५० हजारको एक तोला सुनको लकेट सहितको चाँदीको परेवा निर्माण गरी उक्त रनिङ्ग शिल्ड स्थापना गरेका हुन् ।

विजयीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, राखेप खेलकुद बिकास विभागका प्रमुख कुलबहादुर थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।

४० प्रतिस्पर्धीले नाम दर्ता गराएकोमा २७ प्रतिस्पधीले प्रतियोगितामा सहभागिता जनाएका थिए । २७ प्रतिस्पर्धीबाट उत्कृष्ट छ प्रतिस्पर्धीलाई दोश्रो चरणमा प्रतिस्पर्धा गराई पहिलो, दोश्रो, तेश्रो, चौथो, पाँचौ र छैटौं घोषित गरिएको थियो ।

प्रतियोगितामा सहभागि प्रतिस्पर्धीमध्ये विहान ६ बजे देखि बेलुका ६ बजे सम्म एक प्रतिस्पर्धीको पाँच परेवाको उडान अवधीलाई गणना गरि कुल समय निकालिने र सवै भन्दा बढी समय उड्ने परेवा पालकलाई विजयी घोषित गरिने आयोजकले जानकारी गराए । प्रतियोगितामा एक घन्टा भन्दा कम उडान गर्ने परेवालाई अयोग्य घोषित गरिने समेत आयोजकले जानकारी गराए ।