१३ कार्तिक २०८३, शुक्रबार

उपेन्द्र यादव एक्लिँदै, को–को निस्कने भए गठबन्धनबाट ?

12.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । संघीय गठबन्धन फुटको संघारमा पुगेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा रहेको गठबन्धनबाट आदिवासी जनजाति सम्बद्ध नेताले औपचारिक रुपमै बाहिरिने प्रस्ताव राखेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

गठबन्धनमा आबद्ध आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका नेता डा ओम गुरुङले बिहीबारको बैठकमा यस्तो प्रस्ताव राखेका हुन् । गुरुङ गठबन्धनका प्रवक्तासमेत हुन् । संघीय गठबन्धन र नयाँ शक्ति पार्टीको बिहीबारको संयुक्त बैठकमा गुरुङले अबदेखि आदिवासी र जनजातिहरू संघीय गठबन्धनमा बस्न नसक्ने प्रस्ताव राखेका थिए। उनको प्रस्तावलाई गठबन्धनका संयोजक यादवले भने अस्वीकार गर्दै मिलेर जान आग्रह गरेका थिए ।

संघीय गठबन्धनमा मधेसी मोर्चासहित २९ पार्टी आबद्ध छन् । मोर्चामा सातवटा दल छन् । गठबन्धनमा आबद्ध राष्ट्रिय जनमुक्ति पार्टीका पर्शुराम तामाङ तथा अर्का नेता पासाङ शेर्पा भने यसअघि नै नयाँ शक्ति पार्टीमा मिलिसकेका छन् ।

बिहीबारको बैठकमा गुरुङको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो, ‘संघीय गठबन्धनमा आदिवासी जनजातिहरू रहे तपाईंहरूलाई पनि अप्ठेरो हुन्छ । हामीलाई पनि अप्ठेरो हुन्छ। त्यसैले अबदेखि बाटो अलग अलग गरौं ।’ गुरुङले अचानक यस्तो प्रस्ताव राखेपछि यादव अत्तालिएका थिए ।

गुरुङले जनजाति र आदिवासी गठबन्धनबाट अलग हुने प्रस्ताव आफूले राखे को स्वीकारे । ‘आदिवासी र जनजाति अबदेखि गठबन्धनबाट अलग रहन्छौं भन्ने प्रस्ताव मैले नै राखेको हुँ’,  गुरुङले भने, ‘उहाँहरू (मधेसी मोर्चाका नेता)लाई राजनीतिक लेनदेन, सत्ता समीकरण मिलाउन अन्तर्राष्ट्रिय दबाब परेको छ। त्यसैले संविधानन संशोधन विधेयक पास गर्न सरकारलाई सहयोग गर्ने पक्षमा हुनुहन्छ ।’

गुरुङले संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकबाट आफूहरूका मुद्दा सम्बोधन नहुने भएकाले आदिवासी र जनजाति त्यसको पक्षमा नरहेको बताए । ‘हामी संसद्मा टेबुल संशोधन विधेयकको पक्षमा छैनौं तर उहाँहरू (मोर्चाका नेता) परिमार्जन गर्ने भन्दै यही विधेयक पास गर्ने पक्षमा देखिनुभएको छ’, गुरुङले भने ।

स्रोतका अनुसार बैठकमा गुरुङले गठबन्धनमा नरहने प्रस्ताव राखेपछि यादवले संशोधन विधेयक परिमार्जन गर्न संयुक्त कार्यदल बनाउन प्रस्ताव राखेका थिए। ‘बरु विधेयकमा कुन कुन बुँदामा परिमार्जन गर्न सकिन्छ। त्यसका लागि संयुक्त कार्यदल बनाऔं तर गठबन्धनमा विभाजन नल्याऔ’, बैठकमा यादवको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

बैठकमा सहभागी नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले पनि संघीय गठबन्धनमा विभाजन नल्याउन गुरुङलाई आग्रह गरेका थिए। ‘गठबन्धनमा विभाजन नल्याऔं बरु सहकार्य गरेर अघि बढौ’, भट्टराईले भनेका थिए ।