काठमाडौं, ७ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने लिखित सहमति गरेको दाबी गरेका छन् ।
‘वैशाख १ गते सत्ता हस्तान्तर गर्ने लिखित सहमति नै भएको छ’, डा.कोइरालाले भने, ‘छोड्नु हुन्छ वा छोड्नु हुन्न त्यो राजनीतिक इमान्दारिताको कुरा हो । उहाँको कुरा हो ।’ नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलसँगको अन्तर्वार्ताका क्रममा डा.कोइरालाले कांग्रेस र माओवादीबीच वैशाख १ गते सत्ताहस्तान्तरण गर्ने सहमति भएको बाएका हुन् ।
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गरेको दोस्रो दिन कांग्रेसका प्रभावशाली नेता डा.कोइरालाले सरकारको आयू सक्किन लागेको बताएका हुन् । डा.कोइरालाका अनुसार ‘प्रचण्ड’ सरकार वैशाखमा ढल्ने निश्चित छ ।
डा.कोइरालाले प्रमुख दलहरूका बीच यस्तै लफडा भयो भने कुनै पनि निर्वाचन तोकिएको समयभित्र नहुने बताए । ‘यस्तै लफडा रह्यो भने तोकिएको समयभित्र चुनाव हुन सक्दैन’, उनले भने, ‘चुनाव हुन सकेन भने संविधान खतरामा पर्छ ।’
कमल थापा राजनीतिमा विजय गच्छदारभन्दा जुनियर रहेको भन्दै कांग्रेस नेता डा.कोइरालाले भने, ‘मन्त्रिपरिषदमा देखिएको वरिष्ठताको विषय उठ्नु स्वभाविक हो । कमल थापा विजय गच्छदारभन्दा जुनियर नै हुन् ।’
संविधान संशोधन पारित हुने दाबी गर्दै डा.कोइरालाले सहमतिका लागि पहल भइरहेको बताए । ‘संविधान संशोधन दुई तीहाईले पारित हुन्छ । दुई तीहाई पुग्छ’, उनले भने, ‘एमालेले भने जस्तो हुँदैन ।’
एमालेले भने जस्तो अहिलेको सरकार राष्ट्रघाती नरहेको बताए । ‘दलहरूका बीच कुरा मिलर नै संविधान संशोधन विधेयक संसदमा पेश गर्नु दिइएको हो’, उनले भने, ‘सहमति र सहकार्यबाट अगाडि बढ्नु पर्छ ।’ उनले भने, ‘एमालेको उग्रराष्ट्रवादको नारा र मधेसको उग्रमधेसवादको नाराले मुलुकलाई ठूलो नोक्सान गर्छ ।’











प्रतिक्रिया