तरुण दलका पूर्वअध्यक्ष तथा कांग्रेस सांसद उदयशमशेर राणासँग राजनीतिका विकल्प अनेकौँ थिए । राणा परिवारमा जन्मिएका उदयले दार्जिलिङ, दिल्ली हुँदै अमेरिकामा अध्ययन गरे । अमेरिकाको अध्ययनपछि उनले त्यहाँ नै काम गर्ने वा आफ्नै व्यवसाय चलाउने अवसर पाएका थिए । तर, उनी फर्किएर नेपाल आए र आफूलाई राजनीतिमा होमे । ‘अन्तर्राष्ट्रिय सम्बन्ध’मा अमेरिकी विश्वविद्यालयबाट मास्टर्स सकेका उदय राजनीतिमा उदाउँदै छन् । अहिलेको सन्दर्भमा उनी नेपाली राजनीतिलाई कसरी बुझ्छन् त ? नयाँ पत्रिकाको कुराकानीमा आधारित फिचर:
कांग्रेस नेता तथा ललितपुर क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद उदयशमशेर राणालाई आकस्मिक परिस्थितिले राजनीतिमा उदय गराएको हो । र, राणालाई राजनीतिमा ल्याइदिने परिस्थितिचाहिँ उनका बाबु, कांग्रेस नेता सागरशमशेरले बनाएका हुन् । त्यो पनि सागरको योजनामा बनेको होइन, आकस्मिक रूपमा उदयले जुन अवसर पाए, त्यसले उनलाई राजनीतिमा होमिदियो ।
यो २०४६ सालको कुरा हो । त्यतिवेला उदय दिल्ली विश्वविद्यालयमा पढिरहेका थिए । यता, देशमा आन्दोलन सुरु भइसकेको थियो । एक दिन सागरले छोरा उदयलाई भने, ‘जाऊँ, कतै गएर आऊँ ।’ उनीहरू घरबाट बाहिर निस्किए । बाटोमा पार्टी कार्यालय थियो । एकै छिन पार्टीको काम पनि सकिहालौँ भन्ने सागरको मनमा रह्यो ।
उनले छोरा उदयलाई पार्टी कार्यालयको तल्लो कोठामा छाडेर माथि पार्टीअफिसमा पुगे । उदय बसेको त्यो तल्लो कोठामा थिए, दुईजना । नेविसंघका तत्कालीन दुई नेता, अर्जुन थापा र बालकृष्ण खाँड । ‘अर्जुन थापा अत्यन्त बोलक्कड हुनुहुन्थ्यो,’ अहिले उदय सम्झिन्छन्, ‘त्यो दिन उहाँले मलाई कन्भिन्स गर्नुभयो, मलाई नेविसंघको कार्यकर्ता बनाइहाल्नुभयो ।’
त्यो कोठामा अर्जुन थापाले उनलाई किन राजनीतिमा लाग्ने भनेर कन्भिन्स गरेछन् । आधा घण्टामा बाबु सागर फर्किएर आउँदा उदयको हातमा नियुक्तिपत्र थियो, हातले लेखिएको । त्यसमा लेखिएको थियो– तपाईंलाई नेविसंघ, दिल्ली विश्वविद्यालयको अध्यक्षमा मनोनीत गरिएको छ । त्यो दिन उदयले बाबुलाई यो चिठीबारे खासै बताएनन् । तर, मनमा चाहिँ अठोट लिएरै छाडे– अब म काम गर्छु, नेविसंघको ।
केही समयपछि उदय फर्किएर दिल्ली पुगे । त्यहाँ कार्यक्रम गर्न थाले । बिस्तारै भारतीय मिडियाले त्यसलाई स्थान पनि दिन थाले । भारतीय मिडियामा समाचार आउन थालेपछि भने उदयका लागि समस्याका दिन सुरु भए ।
उनले विश्वविद्यालयमा राजनीतिमा प्रवेश गराएका अरू विद्यार्थीका अभिभावक यता उदयका बाबु सागरकहाँ पुगेर भन्न थालेछन्– तपार्इंको छोरालाई यसरी हाम्रा छोरा पनि बरालेर राजनीतिमा नलैजान, मिडियामा आउन नदिन भनिदिनोस् न, यता हामीलाई समस्या पर्छ । थेग्नभन्दा धेरै यस्ता ‘कम्प्लेन’ आउन थालेपछि सागरले छोरालाई यो कुरा भने ।
तर, उदयमा ‘राजनीतिको रस’ पसिसकेको थियो । उनले त्यसलाई सुक्न दिएनन् ।उनी नेपाल फर्किए र निर्वाचनमा बाबुलाई सहयोग गर्न थाले । २०४८ सालको मात्र होइन, २०५१ सालको मध्यावधि निर्वाचनमा पनि उदयले बाबुलाई निर्वाचन अभियानमा सहयोग गरे ।
‘म बुवासँग गाउँगाउँ पुगेँ,’उनी भन्छन् । तर, ‘सेटल्ड’ राणा परिवार उदयलाई राजनीतिमा लागोस् भन्ने चाहन्नथ्यो । उदयले व्यापारमा हात हालोस् र अरू केही गरोस् भन्ने चाहना सायद परिवारको थियो ।
तर, यसको अर्थ के होइन भने उदय राजनीतिमा लाग्दैमा परिवार निरास भइसकेको थियो । ‘एउटा क्षेत्र रोजोस् र त्यसमा नै लागिरहोस् भन्ने परिवारको चाहना थियो,’ उनी भन्छन्, ‘म त लक्की हुँ, राजनीतिमा लाग्दा पनि सहयोग पाएँ र अरू धेरै कुरामा मन डुलाउनुपरेन ।’
उता, पढ्नका लागि अमेरिका पुगिसकेका थिए, उदय । उनलाई पनि नेपालमै बसेर राजनीतिमा लाग्नचाहिँ सुरुमा मन थिएन । उनी पाँच-सात वर्ष अमेरिकामा काम गर्न चाहन्थे र फर्किएर राजनीतिमा लाग्ने विचार थियो । यही इच्छा उनले बुवासँग राखे ।
तर, सागरशमशेर राणा उनको यो निर्णयमा खुसी भएनन् । ‘चुज वान,’ उदयलाई फोनमा सागरले भनेका थिए, ‘राजनीतिमा नै लाग्ने हो भने अहिले बहुदल आएको धेरै भएको छैन, आएर राजनीति सुरु गर्नुपर्छ । सुरुबाट गर, फर्केर आइहाल्नू । बुवाले नत्र अरू केही गर्दा हुन्छ । दुई डुंगामा खुट्टा हाल्नेचाहिँ होइन ।’
अमेरिकी जीवनशैलीमा भिजिसकेका उदयसँग बुवाको यस्तो सुझाबलाई स्वीकार गर्नुको विकल्प नै थिएन । उनी फर्किएर आए, राजनीति गर्न । र, नेविसंघको राजनीतिमा आफूलाई होमे । त्यसको केही समयपछि नेपाली कांग्रेसले तरुण दल गठन गर्यो ।
उनी ललितपुरको तरुण दलको नेतृत्व गर्न चाहन्थे । तर, उनका लागि बाधक बन्यो– भाषा । ‘मेरो नेपाली त्यति राम्रो थिएन,’ उनी अहिले सम्झिन्छन्, ‘त्यसैले बालकृष्ण खाँणले मलाई नेतृत्व दिन अप्ठ्यारो पर्ने भन्नुभयो । अनि मैले गुहार्ने ठाउँ भनेकै बुवा हुनुहुन्थ्यो । उहाँलाई गुहारेँ ।’ उनका बुवा र बालकृष्ण खाँडको सम्बन्ध अत्यन्त राम्रो थियो ।
‘सक्छ भने मौका दिनुहोस् न त खाँडजी,’ सागरले बालकृष्ण खाँडलाई सिफारिस गरिदिए । बाबुको ‘सोर्सफोर्स’ लगाएर उदय ललितपुर तरुण दलको पहिलो अध्यक्ष बने । अनि बल्ल सुरु भयो, उदयको खाँटी राजनीति । तर, यसभन्दा अगाडि नै उनले राजनीतिको खास स्वाद पाइसकेका थिए । त्यो थियो, सोसलिस्ट इन्टरनेसनलको युवा विभागको उपाध्यक्ष हुँदाको । उनी इटालीमा भएको यसको अधिवेशनमा जान चाहेका थिएनन् । तर, कांग्रेस नेता किसुनजीको आग्रहले उनका लागि त्यहाँ जानैपर्ने बाध्यता भयो ।
‘अर्जुन थापाले मलाई भन्नुभएको थियो, तर मैले इटाली त जान्नँ भनेको थिएँ,’ उनी सम्झिन्छन्, ‘उहाँले गएर किसुनजीलाई भन्नुभएछ– सागर शमशेरको छोरो उदय नै यसका लागि उपयुक्त हो, तर ऊ जान्न भनिरहेको छ ।’
किसुनजीले उनलाई बोलाएर भने, ‘तिमी अर्जुनसँग इटाली जानू ।’ त्यतिवेला अर्जुन सोसलिस्ट इन्टरनेसनलको युथ विङका उपाध्यक्ष थिए, एसियाबाट । उनको कार्यकाल सकिँदै थियो । इटालीको त्यही अधिवेशनमा उदय उपाध्यक्षमा चुनिए । ‘दुई वर्ष त्यो पदमा हुँदा मलाई बल्ल राजनीतिको पूरै नशा थाहा भयो,’ उनी भन्छन् ।
त्यहाँबाट राजनीति सुरु गरेका उदय अहिले निर्वाचित सांसद् हुन्, ललितपुर क्षेत्र नम्बर १ का । यो त्यही क्षेत्र हो, जहाँबाट उनका बाबु सागर तीनपटक टिकट पाएर पनि निर्वाचनमा पराजित भएका थिए । संविधानसभाको पहिलो निर्वाचनमा सागरले पहिलोपटक त्यहाँबाट टिकट पाए ।
‘त्यतिवेला टिकट पाउँदा मानिसहरूले भनेका थिए– यो उदयले कसरी पायो टिकट ?’ उनी सम्झिन्छन् । टिकट पाउनु फरक कुरा थियो, जित हासिल गर्नु अर्को । उदय पराजित भए । तर, हिम्मत हारेनन् । उनले संविधानसभाको दोस्रो निर्वाचनमा पनि त्यहीँबाट टिकट पाए । यो निर्वाचनमा चाहिँ फराकिलो मतान्तरले उनी विजयी भए ।
‘राजनीतिमा पूर्ण होमिएँ,’ उनी भन्छन्, ‘अब म यान्सरेबल हुनुपर्छ ।’यिनै उदयसँग बिहीबार पुतलीसडकको एउटा कफी सपमा भेट्ने समय तय भयो । तर, तय भएको समयभन्दा म पुग्न आधा घण्टा ढिलो भयो– ‘हेभी ट्राफिकले’ ।
आधा घण्टाभन्दा बढी कुरेका उदयलाई सोध्न स्वाभाविक प्रश्न जन्मियो, ‘अहिले उपत्यकाको ट्राफिकजस्तै अलमलमा छ राजनीति पनि । हाम्रा नेताहरू छिमेकी देशसँगको सम्बन्ध सन्तुलन गर्ने भन्दै विकासबारे त बोल्नै छाडे, आखिर देश कहिले बन्छ ?’ छिमेकी देशहरू र अन्तर्राष्ट्रिय सम्बन्धबारे उदयलाई प्रश्न गर्नु किन पनि सही हो भने उनी ‘अन्तर्राष्ट्रिय सम्बन्ध’(इन्टरनेसनल रिलेसन्स)का विद्यार्थी हुन् ।
‘ट्राफिक जाम र देशको परिस्थितिलाई दाँज्न त्यति सकिँदैन,’ उदय मुसुक्क हाँसे र भने, ‘तर, ट्राफिक जाममा पनि नियम मानिन्छ कि मानिँदैन र देश पनि एउटा नियममा छ कि छैन भन्नेचाहिँ महत्वपूर्ण कुरा हो । तर, देशको परिस्थितिमा ट्राफिक कसरी व्यवस्थित गर्ने भन्नेचाहिँ झन् महत्वपूर्ण हुन्छ ।’
तर, संसदीय व्यवस्था भएको देशमा त्यस्ता अनेकौँ सन्दर्भ छन्, जुन एउटा सांसदलाई नै थाहा हुँदैन । कतिसम्म भने सरकार विस्तारका कुरा सांसद्लाई त परै जाओस्, केही दिनअघिसम्म सरकारमै सम्मिलित मन्त्रीहरूलाई पनि थाहा थिएन, यो केही मन्त्रीहरू आफैँले स्वीकार गरेको कुरा हो । यस्तो किन भने अहिले देशको राजनीति संसद्मा भन्दा पनि बढी दलका शीर्ष नेतामा निर्भर छ ।
‘हामी राजनीतिमा आइसकेपछि एउटा कुनामा पुग्दा रहेछौँ,’ उदय भन्छन्, ‘हामीलाई विभिन्न साइकोफ्यानहरूले घुमाइरहेका हुन्छन् । हामीभन्दा ठूला नेतालाई घुमाउने त्यस्ता चाकडीबाज अझ धेरै होलान् । त्यसैले, देशको परिस्थिति अझ बढी स्वतन्त्र संघसंगठनले बुझिरहेका हुन्छन् । तर, केचाहिँ सत्य हो भने सरकारको परिस्थितिचाहिँ बढी नेतालाई नै थाहा हुनुपर्छ ।’
उदयलाई सबैभन्दा महत्वपूर्ण कुरा एउटा नेता तथा सांसद्ले अन्तर्राष्ट्रिय राजनीति र अर्थतन्त्र कता गएको छ भन्नेबारे जानकारीमा राख्नैपर्ने लाग्छ ।
‘भारत र चीनका कुरा हामी धेरै गर्छौं,’ उनी भन्छन्, ‘सांसदले पनि आफ्नो निर्वाचन क्षेत्रमा गएर यी देशका नाम पनि लिइरहेका हुन्छन् । तर, ती देशको अर्थतन्त्रको बहावलाई हामीले अझै पनि राम्रोसँग बुझ्न सकेका छैनौँ ।’ उनी भन्छन्, ‘अहिलेको समस्या भनेको आर्थिक अजेन्डाले सबैभन्दा महत्वपूर्ण स्थान लिनुपर्ने हो । यही आर्थिक अजेन्डाले नै अरू विषय निर्धारण गर्छ । तर, विडम्बना नेपालमा यसबारे त्यति ध्यान दिइएको छैन ।’
उदयले इथियोपियाको उदाहरण झिके । सन् १९८४ सम्म इथियोपियामा भोकमरीको समस्या थियो । तर, पछिल्ला वर्ष इथियोपियाको आर्थिक विकासदर १५ प्रतिशतको हाराहारीमा छ । त्यहाँ अन्डरग्राउन्ड मेट्रो बनिसकेको छ ।
इथियोपियाको यो प्रसंग सकेपछि उनले भने, ‘हामीसँग पनि अहिले अत्यन्त ठूलो सम्भावना छ, तर त्यसलाई हामीले सदुपयोग गर्न सकेका छैनौँ । दक्षिणमा भारत र अर्को छिमेकी चीनको विकास दरबाट हामीले धेरै आर्थिक फाइदा उठाउनुपर्ने हो, तर यो प्रयास नै भएको पनि छैन ।’ यसको कारण उनी कूटनीतिक रूपमा चीन र भारतलाई सन्तुलनमा राख्न नसकेको मान्छन् ।
‘खासमा हाम्रो देशमा के कुरामा प्रतिक्रिया जनाउने भन्ने नै छैन । भारतको एउटा अभिनेताको अभिव्यक्तिको आधारमा यहाँ ठूलो प्रतिक्रिया हुन्छ, जुलुस हुन्छ,’ उनी भन्छन्, ‘तर, राजनीति भनेको यस्तो होइन, पोलिटिक्स भनेको त रणनीति हो ।’
निर्वाचित सांसदको हैसियतले उदय भन्छन्, ‘हामीले भनेको कुरा न भारतले मान्छ, न चीनले नै । हामीले त उनीहरूबाट फाइदा लिन खोज्नुपर्ने हो । तर, हामी त्यसमा फेलियर भइरहेका छौँ । र, हामीले इमोसनमा रणनीति बनायौँ भने हामी डुबिरहेका हुन्छौँ ।’
आखिर उदयले यसबीचमा के गरे त ? ‘अहिले त मेरा लागि यो सिक्ने समय हो,’ उनी भन्छन्, ‘अर्थ समितिमा बसेकाले अहिले म आर्थिक विषयमा अध्ययन पनि गरिरहेको छु ।’
झन्डै पाँच वर्ष तरुण दलको अध्यक्ष पनि भएका उदयले बुझेको गुह्य कुरा हो, ‘सबै मन्त्रालयलाई अहिले पनि अर्थ मन्त्रालयले नै कन्ट्रोल गरिरहेको छ । उसले किस्ताबन्दीमा मन्त्रालयहरूलाई बजेट निष्कासन गरिरहेको छ । यदि यो प्रक्रिया बदलेर अर्थ मन्त्रालयले अरू मन्त्रालयलाई एक ढिक्का बजेट दिने हो भने अहिलेको भन्दा रफ्तारमा विकास हुने थियो ।’
उदयले अमेरिकाका उत्कृष्ट विश्वविद्यालयको सूचीको शीर्ष स्थानमै पर्ने कोर्नल विश्वविद्यालयमा अध्ययन गरे । तर, उनीजस्तो अन्तर्राष्ट्रिय स्तरमा अध्ययन गरेर आएका नेता नेपालमा अत्यन्त कम छन् । दार्जिलिङ, दिल्ली र अमेरिकामा पढेका उदयले राजनीतिमा अरू नेताभन्दा फरक के गरेका छन् त ? ‘मलाई लाग्छ, म अहिले कूटनीतिका कुरा, नेताका कुरा र कार्यकर्ताका कुरा अरूभन्दा छिटो बुझ्छु,’ उनी आफ्नोबारे भन्छन्, ‘अन्तर्राष्ट्रिय सम्बन्धबारे पनि अहिले मेरो बुझाइ फरक भइसकेको छ, म यहाँका कूटनीतिज्ञहरूसँग कुरा गर्दा बुझ्छु– उनीहरू हिन्ट मात्र दिन्छन् । मैले गरेको ब्रिफिङ अरूको भन्दा पाको हुन्छ भन्ने पनि मेरो निष्कर्ष छ ।’
उदयसँग कुराकानी सुरु भएको एक घण्टा भइसकेको थियो, अन्तिममा उनलाई प्रश्न सोधियो, ‘के तपाईं नेपाली संसद्को प्रतिनिधि पात्रमा पर्नुहुन्छ ?’ उदयले भने, ‘ठ्याक्कै प्रतिनिधिमा पर्दिनँ । किनकि, त्यहाँ मभन्दा इन्टेलेक्चुएल पनि हुनुहुन्छ, मभन्दा धेरै समय राजनीतिमा बिताएका व्यक्तिहरू पनि हुनुहुन्छ ।’ र, उनले थपे, ‘त्यसमाथि हाम्रोजस्तो मुलुकमा एकजनाले मात्र संसद्को प्रतिनिधित्व गर्नै सक्दैन ।
किनकि, हाम्रो संसद्मा राजनीतिमा नलागेका पात्र पनि अचानक सांसद् भएका छन् ।’ र, यसैलाई लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष मान्छन्, उदय ।
(नयाँ पत्रिका दैनिकबाट साभार)












प्रतिक्रिया