१३ कार्तिक २०८३, शुक्रबार

एयर मार्सलका लागि भारतद्वारा सरकारलाई कडा दबाब

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । भारतबाट आउने जहाज काठमाडौंमा रोकिनु परे त्यहाँ रहने एयर मार्सललाई बासको व्यवस्था गरिदिन भारतले आग्रह गरेको खुलासा भएको छ ।

भारतले हालै दुई देशका पर्यटन तथा नागरिक उड्ययनका उच्च अधिकारीहरुको बैठकमा यस्तो आग्रह गरेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

हवाई ट्राफिक तथा नयाँ रुटबारे पुस ५ गते नयाँ दिल्लीमा भएको बैठकमा भारतीय टोली नेता अरुण कुमारले काठमाडौंका लागी उड्ने जेट एयरवेजमा आउने ‘इन–फलाइट सेकुरीटी अफिसर’ (एयर मार्सल)लाई यदि रात्री विश्राम गर्नुपरे काठमाडौंका होटलमा बस्न कठिनाई हुने गरेको बताएको उक्त वार्तामा सहभागी एक अधिकारीले बताए ।

यस विषयलाई दुई मुलुकका अधिकारीले गरेको सैद्धान्तिक सम्झौतापत्रमा पनि लेखिएको छ । ७ पृष्ठ लामो सम्झौतापत्रको ५ नम्बर बुँधामा भारतबाट काठमाडौं आउने जेट एयरवेजको विमानले राति काठमाडौंमै बास बस्नुपर्ने अवस्था आइपर्दा जहाजमा खटिएका एयर मार्सल विमानस्थलबाट बाहिरिन नसक्ने अवस्था रहेको उल्लेख छ ।

यस विषयलाई लिएर बिहीबार संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले सहसचिव सुरेश आचार्यलाई सोधेका थिए । बैठकमा सहसचिव आचार्यले आफ्नो नेतृत्वमा भारत गएको ८ सदस्यीय नेपाली अधिकारीको टोलीले वार्ताको एजेन्डामै नरहेको विषयलाई ‘काउन्टर एजेन्डा’ का रुपमा भारतीय अधिकारीले राखेपछि चकित परेको अनुभव सुनाए ।

‘एयर मार्सल पूर्व निर्धारित सूचीमै थिएन, भारतीय अधिकारीले काउन्टर एजेन्डाका रुपमा एयर मार्सलको विषय राखेपछि अप्ठ्यारो अवस्था आइपर्‍यो’, परराष्ट्र र कानुन मन्त्रालयका सरकारी अधिकारीसहित भारत पुगेका सहसचिव आचार्यले भने, ‘हामीले वार्ता विफल हुने र केही पनि उपलब्धि नहुने देखेपछि यो विषय उच्च राजनीतिक तहको भएको बताउँदै नेपालले हालै हवाई सुरक्षा नियमावली ल्याइसकेको र त्यस नियमावली अनुसार प्रक्रिया थालेमा भारतीय चासो समाधान हुने बतायौ ।’

सहसचिव आचार्यले वार्तामा हवाई मार्सल नभनी भारतीय पक्षले ‘इन–फलाइट सेकुरीटी अफिसर’ भनेको बताए । तर यी दुवै भनेको एउटै हो । जहाजमा सादा पोशाकमा तैनाथ रहने सुरक्षाकर्मीसँग हतियार पनि हुन्छ ।

जहाजभित्र अवान्छित तथा आतंक फैलिने गतिविधि हुन नदिन यी सजग रहन्छन् । कमर्सियल विमानमा उड्ने यस्ता सुरक्षाकर्मीलाई यात्रुले खुट्याउन सक्दैनन् ।

यिनले हतियार लुकाएको स्थान र बस्ने सिटबारे जहाजको कमान्ड सम्हाल्ने क्याप्टेनलाई मात्रै जानकारी हुने गर्छ । यिनीहरु आफ्नो मुलुकबाट उडेपछि अर्काको मुलुकको भूमिमा अवतरण भने गर्दैनन् ।

नागरिक उड्डयन प्राधिकरणका अधिकारीले हवाई मार्सलबारे पहिलोपटक नेपाली अधिकारीले लिखित सम्झौता गरेकोमा आश्चार्य व्यक्त गरेको छ ।

‘नेपाली अधिकारीलाई हवाई मार्ग लगायतका विषयमा छलफल गर्ने मात्रै म्यान्डेट थियो, सूचीमै नभएको विषयमा लिखित सहमति देखेर चकित परेका छौं’, प्राधिकरणका एक उपमहानिर्देशकले भने ।

यो सम्झौताले भारतीय विमानमा एयर मार्सल आउने गरेको पुष्टि गरेको ती अधिकारीले बताए ।