राम्रो खबर सुन्न बर्षौं लाग्छ तर नराम्रो खबर चैते डढेलो जस्तै क्षण भरमै फैलिन्छ । आज पनि त्यस्तै भयो एउटा नराम्रो कुरा सुन्नु पर्यो। धेरै समय भयो मेरा आत्मिय मित्रले भन्नु हुन्थ्यो : दीप यति ठुलो सामाजिक सन्जाल छ केहि लेख्ने गर्नुस न ! कैयौं पटक कति कुराहरुले दिमागमा स्ट्राईक गर्छन् अनि मोबाईलको कि प्याड चलाउन खोज्छु वा कलम र डायरी लिएर बस्छु केहि कुरा लेख्दा लेख्दै बिषय नै अर्को तिर भासिन पुग्छ अनि त्यतिकै छोडिदिन्छु।
तर आज एउटा कुराले नराम्रोसँग दिमागमा यसरी हानी रह्यो वा स्ट्राईक गरिरह्यो कि म १० बजे सुतेको मान्छे १२ बजे नै निद्राले छोडिदियो र यहिं कुराले घोंचिरह्यो।
मैले माथि नै उल्लेख गरिसकें राम्रो कुरा सुन्न बर्षौ लाग्छ वा थाहा नै पाईंदैन तर नराम्रो कुरा भुसको आगो सरी फैलिन्छ। जसले मलाई लेख्न उत्प्रेरित गर्यो, उसकै बारेमा लेख्नु पर्दा मनै चिरिएर आयो ।
मेरो सन्दर्भ दिनहूँ पन्ध्र सय युवक परदेश भासिएपछि घरदेशमा कमजोर र भताभुंग भएको पारिवारिक सम्बन्धको बारेमा हो, जहाँ रेमिट्यान्स संगै सम्बन्धहरुको बिग्रह शुरु भएको छ ।
हामीलाई धन कमाउने रहर र बाध्यता यति सम्म चढ्यो कि हाम्रो आफ्नो परिवार र भबिष्यलाई नै ख्याल गर्न छोडी सक्यौं। अर्को कुरा हाम्रो समाजमा एउटा यस्ता मान्छे हावी छन् कि कसैको पारिवारिक सम्बन्धलाई कसरी बिगारी दिउँ वा त्यसको कमजोरी पक्ष पत्ता लगाएर त्यसको फाईदा कसरी लिउँ। यो कुरामा सामान्य ब्यक्ति भन्दा पनि त्यो ठाउँमा राजनितिक भक्तिको आड लिएर सामाजिक कार्यकर्ता भन्न रुचाउनेहरुले मौक़ा ढुकिरहेका हुन्छन । सकेसम्म बैदेशिक रोजगारीमा जानेहरुको परिवारहरुको कमजोरी खोजिरहन्छन्।
हाम्रै समाजमा यी ठूला ठूला घटना घटिसकेका छन् , यसमा उचित होसियारी नपुर्याउने हो भने सम्बन्ध कर्कलाको पानी सरी हुने निश्चित प्राय: हुन्छ। बैदेशिक रोजगारमा रहेका श्रीमानका श्रीमतीहरुलाई कतै भावनात्मक तथा सामान्य सहयोगको नाममा उनीहरुको शरीर र धन सँग मोज गर्नेहरु हरपल त्यस्तो मौक़ा खोजिरहेका देखिन्छन् । ईन्टरनेटको सामाजिक सन्जालको उपयोग सबै भन्दा सजिलो माध्यम बनेको छ अचेल ।
केही बर्ष अघि एउटा यस्तै घटना घट्यो: त्यो पनि मेरै छिमेकमा । जो एक प्रतिनिधि घटना मात्र हो ।
आफूलाई एउटा सामाजिक कार्यकर्ता बताउने मिराज (नाम परिवर्तन) ले एउटी त्यस्तै महिला शर्मिला(नाम परिवर्तन)लाई सामान्य बोर्डिंग स्कुलको जागिर लगाईदिने आश्वासन दियो। उनी एउटा सानो छोरा पढाउन कुनै पहाडी जिल्लाबाट तराई झरेकी थिईन् र कोठा भाडामा लिएर बसेकी थिईन् भने उनको श्रीमान बैदेशिक रोजगारीमा कुनै अरब देश गएका थिए। सानो छोरा दिउसो स्कुल जाने हुँदा उनी दिन भरि बेकामी बनेकी थिईन् ।
यत्तिकैमा शर्मिलाले समय पनि बित्ने, सामान्य खर्च पनि चल्ने ठानेर माथि उल्लेखित उद्यमी,राजनीतिकर्मी र सामाजिक कार्यकर्ताले चिनिने मिराजको आग्रह स्वीकार गरीन् । बिभिन्न भैपरि आउने समस्यामा सहयोग गरेर मिराजले उनको मन बिस्तारै जितीरहेको थियो । केही महिनामै थाहा भयो रुपमा सुन्दर र मिजासिली शर्मिलालाई सहयोग गर्नुको कारण त उनको जवानी रहेछ । केही समय पछि उसले बिभिन्न बहानामा गिद्दे दृष्टि लगाई हाल्यो, फेसबुक मेसेन्जरमा नाना भाँती सन्देश पठाउने, बारम्बार फोन गर्ने गर्न थाल्यो । शर्मिलालाई उसको नियत के छ भनेर पछि थाहा हुदै आयो र उसको सहयोग को बदलामा उनले उनको शरीर सुम्पनु पर्ने छनक पाईरहेकी थिईन् । पछि उनले त्यो जागिर नै छोडीदिईन् ।
एउटा नाथे जागिरको लागि आफ्नो स्वाभिमान, अस्तित्व र ईज्जत बेच्न उनलाई मन लागेन बरु त्यो बोर्डिंग स्कूलको जागिरको लोभ गरिनन् तर उनको नजरमा त्यो सामाजिक कार्यकर्ता भनाउने मिराजको शिर त्यसपछि उनी सामु कहिल्यै ठाडो हुन सकेन साथै उनका साथीहरु बिच पनि ऊ घटिया र न्यून स्तरको ब्यक्तिको रुपमा परिचित भयो। यदि उनले आफ्नो संयम गुमाएको भए नतिजा सजिलै आफ्नो पक्षमा पार्न ऊ सफल हुन्थ्यो नै ।
कुरा यहिँ मात्र रोकिंदैन उसले आफु असफल भएकोमा वा आफुले गर्न खोजेको अनैतिक चरित्र प्रति हीनताबोध गरेर आत्मालोचना गर्दैन बरु त्यसले अझै सशक्त बनेर उनको कमजोरी ढुकिरहेको हुन्छ मानौ उनको चरित्र हत्या गर्न एउटा ठुलै पासो नै थापेर बस्छ, आफ्नो असफलताको बदलामा उनी कसै सँग घुमेको बोलेको प्रमाण चाहिएको थियो उसलाई । तर शर्मिलाको र उनको श्रीमान बिचको सुमधुर सम्बन्धले गर्दा उ सफल भएन ।
हाम्रो समाजमा आजकाल सकेसम्म बैदेशिक रोजगारी मै जानेको परिवार निचोरिएको हुन्छ। चाहे त्यो आफ्नै परिवार, छिमेक, समाजको दृष्टिकोण नै अलग हुन्छ। त्यसो त केही महिला पुरुषहरु यसको अपवाद भई मोज मस्तीको जीवन बिताउने पनि छन् । घरै भित्र पनि सामान्य कुरामा भनौ बिहानको कुचो लगाउने वा खाना पकाउने अथवा भाडा माझ्ने कुरामा बहाना निकालिन्छ र आरोप प्रत्यारोप शुरु हुन्छ कुनै फलफूल किन्ने पसलमा कुनै दोश्रो ब्यक्तिसंग कुरा गरेको देख्नु हुँदैन आगो यसरी सल्काईन्छ कि फलानी फलानोसँग आदि आदि । आफ्नै घर परिवार भित्र नै यो बिकृति हुन्छ भने समाजमा अझै माथि ऊल्लेखित गरेका पात्रहरु कति सलबलाउँदा हुन् म पनि बुझ्न सक्दिन।
केहि समय अगाडि यउटा यस्तै घटना छताछुल्ल भयो कि मानौ मेनुका(नाम परिवर्तन)ले आफ्नो पवित्रताको प्रमाण दिनु पर्ने भो । यसको परिणाम पनि त्यहिं थियो लामो समय बैदेशिक रोजगार अनि प्रचलित सामाजिक सन्जाल, ब्यक्तिगत कमजोरीपन पत्ता लगाउनु र ब्लयाकमेलिंग। एक जना कुनै प्रतिष्ठित कम्पनीको होलसेलरको रुपमा काम गर्ने र आफुले आफैलाई भलाद्मीको हैसियतमा राख्ने ब्यक्तिको जालमा पुगिन् मेनुका । उ निकै धुर्त र चलाख थियो सायद हुन सक्छ उनले(मेनुका) आफ्ना मानवीय कमजोरीलाई लुकाउन सकिनन् तर उनी सोझी भएकै कारणले उसले त्यसको फाईदा सजिलै लियो ।
अहिलेको प्रबिधिको हरसंभव दुरुपयोग गर्न उसले कुनै कसर बाँकी राखेन । फोटोहरु ईडिट गर्ने र साथी हरुलाई पठाउने, नचाहिदा हल्ला फिजाउने आदि गर्यो र समाजमा उनको चरित्रमा दाग लगाउने आगो सजिलै दन्काईदियो । यहाँ सम्म कि पाँच बर्षे आफ्नै बच्चाको बाबु प्रमाणित गर्न डि. एन. ए. सम्म गर्नुपर्यो । तर मेनुका आफैमा सही थिईन् । समाजले त्यही फोटोकै आधारमा ग़लत टिका टिप्पणी गर्यो । यो समाजमा मेनुकाले आफुले हिनताबोध गर्नु पर्ने आवश्यकता नै थिएन। आत्मबिश्वासका साथ स्वाभिमानी शिर उँचो राख्ने र गलत प्रबृर्ति तिर नलाग्ने हो भने यो घृणित समाज र त्यस पछाडी चलखेल गर्नेहरु आफै झुक्ने छन् ।
हाम्रो समाजको सबै भन्दा ठुलो दुश्मन नै शंका हो। शंकालाई आवेगमा परिणत गरेर हामी जीवन सहज बनाउन सक्दैनौ, जीवन बाँच्न त बिश्वास चाहिन्छ ।
अहिले मैले बुझ्न नसकेको कुरा र आज मलाई दिमागमा हानिरहेको कुरा पनि यसैसँग सम्बन्धित छ। यो मेरै अगाडि तेश्रो घटना हो : दामु (नाम परिवर्तन) शैक्षिक योग्यता एम.एस.सी. अनि पेशामा एउटा प्रतिष्ठित स्कुलको बिज्ञान बिषयको शिक्षक थिए। उनी शिक्षक भएको स्कूलकी एउटी छात्रासँग जिन्दगीको अटुट सम्बन्ध गाँसियो उनीहरु एक अर्का प्रति पूर्ण रुपमा परिचित थिए। दामु परिवारको कान्छो छोरा अनि मिलनसार पनि । उनको आफ्नै घरबाट पायक पर्ने ठाउँमा सम्मानजनक पेशा थियो ।
तर खोई के को भूत चढ्यो, उनी कोरिया तिर हान्निए । कलकलाउँदो बैँश, सम्मानयोग्य पेशा, र पैसा अनि नव दाम्पत्य जीवन हुँदा हुँदै उनी अलिक बढि आर्थिक लाभका लागि हिडे । उनले साथी भाइले बिदेश गएर जोडेको सम्पत्ति त देखे तर बिग्रिएको सम्बन्ध देखेनन् अन्तत: उनी त्यहाँ पुगेको २ बर्ष पुग्दा नपुग्दै परिस्थिति उनकै प्रतिकूल बनेछ।
उनी संग जुनी जुनी संगै बिताउने कसम खाएर प्रेम सम्बन्ध हुदै माँगी बिवाह गरेकी श्रीमतीको मन बदलिएछ । दामु २ बर्ष पछि छुट्टीमा आउँदा उनी खुशी भईनिन्, ढोकै खोलिनन्, अनायास डिभोर्सको कुरा भयो, आरोप प्रत्यारोप भयो । मेहनतले कमाएको ८० लाख मध्ये २५ लाख त उनले फजूल खर्च गरिछन् । उनको अन्त कतै सम्बन्धको हल्ला छ, सत्य के हो खुल्दै जाला तर बसेको घर भताभुंग भयो ।
अर्को एक जना मित्रको कथा पनि त्यस्तै छ : किशोर अवस्था देखि नै मोज मस्ती गरेर हुर्केका बाबुराम कलिलैमा बिहे गरेर मलेशिया तिर हानिए, एक बर्ष सम्म दुबै जनाको राम्रो कुरा कानी हुन्थ्यो, पछि बाबुरामले घरमा फोन गर्न, पैसा पठाउन सबै छाडे, खबर अनुसार उनको एक फिलिपिनो महिला संग सम्बन्ध छ रे । यता उनकी श्रीमती दिन रात रोएर बसेकी छिन् ।
अर्को एक घटना छ रुपन्देहीकी गीता (नाम परिवर्तन) का श्रीमान् भारतीय सेनामा काम गर्छन्, उनी मुश्किलले बर्षमा एक पटक मात्र आउने जाने गर्दछन् , श्रीमान नभएको बेला उनको नियमित भेटघाट गर्ने प्रेमी छ । उनी भन्छिन् : अहिलेको जमानामा एक्लै बस्न पनि त गाह्रो छ , कोही न कोहीको साथ त चाहिन्छ नि ! लोग्नेले कमाएको पैसा प्रेमीको लागि खर्च गर्न हिच्किचाउदिनन् उनी । त्यसो त पैसा र शरीर दुबैका लागि त्यस्ता लाहुरेका श्रीमतीहरु ताक्नेहरु पनि धेरै छन् ।
पैसा र बैँसमा आफ्नो आवेग गुमाउनेहरु पनि अहिले धेरै भई सकेका छन् हाम्रो समाजमा । हुन सक्छ सम्बन्ध हरु लामो समय सम्म भौतिक रुपमा टाढा हुनु र मानवीय आवश्यकता पूरा नहुनु एउटा कारण होला ।
हो, एकातिरबाट मात्रै रोटी पाक्दैन, दुबै जनाको कमजोरीमा तेश्रो ब्यक्तिले फाईदा उठायो होला । हामी बाध्य छौं कोरिया, अस्ट्रेलिया, अमेरीका, जापान, युरोप, अरब वा मलेशिया भासिन । के हामी बैदेशिक रोजगारीमा गयौं भन्दैमा परिवारमा माया बिश्वास र सद्भाव पो दिन भूल्यौँ कि ? कतै चाहिने भन्दा बढि स्वतन्त्रता दियौँ कि ? परदेश हुनेले घर परिवार र घरदेश हुनेले परदेशिएका लाई भूल्यौँ कि ? दोषी हामी दुबै या एक हुन सक्छौँ ।
यति भन्दै गर्दा हामीले केहि होशियारी पनि गुमाएका हुन्छौँ । मायाँ गर्ने बहानामा आफ्नै पवित्र घरबाट अलग्याएर शहरमा सुख दिन भन्दै कसैको हेरचाह बिना कोठा खोजी खोजी राख्नु हाम्रो कमजोरी हो। अझै उसका प्रत्येक शौख पूरा गरिदिने तर के र किन भन्ने चासो नदिने पो भयो कि ? कुनै अभिभावकको रेखदेखको आवश्यकता छ कि ? जोडिई सकेको सम्बन्ध फेरि भत्काउनु भनेको महाभूल नै हुन्छ के थाहा फेरि जोडिने नयाँ सम्बन्ध पनि त्यहीँ स्थितिमा पुग्ने पो हो कि? किन भने समाजमा यस्ता उदाहरण थुप्रै छन् ,जुन एक पटक भत्किने बानी पर्यो भने घरी घरी भत्किने गरेका ।
त्यसैले एक अर्का बिच बिश्वास र मायाको वातावरण बनाउँदै सम्बन्ध हरु सुमधुर बनाउन प्रयत्न गर्नु पर्छ । नत्र रेमिट्यान्स भित्रिने तर सम्बन्ध बाहिरिने भयो भने फोहर गरिसकेपछि दैलो देखेर के काम ? सबै घरदेशी र परदेशीले बुझ्नै पर्ने कुरा हो यो ।
सैनामैना, मुर्गिया रुपन्देही
हाल ओमान ।















प्रतिक्रिया