४ मंसिर २०८३, शुक्रबार

‘नेपाल संयुक्त राष्ट्रसंघको विशेष प्राथमिकतामा’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि भेलरी जुलिआन्डले नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ ।

आज विहान ९ बजे पूर्व प्रधानमन्त्रीको नीजि निवास कोटेश्वरमा भएको भेटमा नेपालको शान्ति प्रक्रिया, संयुक्त राष्ट्रसंघमा नेपालले खेलेको भूमिका, विस्तृत शान्ति संझौता, विभिन्न तहका निर्वाचन सहित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भयो ।
भेटवार्ताको आरम्भमा पूर्व प्रधानमन्त्री नेपालले संयुक्त राष्ट्रसंघको आवासीय प्रतिनिधिको रुपमा भेलरी जुलिआन्डलाई स्वागत गर्दै उहाँको सफल कार्यकालको शुभकामना दिनुभयो ।

राष्ट्रसंघका आवासीय प्रतिनिधिले शान्ति प्रक्रियामा नेपालले खेलेको भुमिकाको प्रशंसा गर्दै संयुक्त राष्ट्रसंघको महत्वपूर्ण सदस्यको रुपमा नेपाल रहिआएको र नेपाललाई संयुक्त राष्ट्रसंघले विशेष महत्व दिएको कुरा उल्लेख गर्नुभयो । उहाँले विस्तृत शान्ति संझौता निर्माणको बेला संयुक्त राष्ट्रसंघले खेलेको सहयोगी भूमिकाको स्मरण गर्दै नेपालको विविधतालाई संरक्षण एवम् सबैको सम्मानसहित अहिले देखिएका समस्या समाधान गर्ने एकिकृत उपाय, विभिन्न तहका निर्वाचन तथा पछिल्ला गतिरोधका बारेमा जिज्ञासा राख्नुभयो ।

पूर्व प्रधानमन्त्री नेपालले नेपालको शान्ति प्रक्रियाका पछिल्ला घटनाक्रमहरुलाई संक्षिप्त रुपमा उल्लेख गर्दै जाती, धर्म र संप्रदाय जस्ता विषयलाई संवेदनशील रुपमा लिनुपर्ने कुरा उल्लेख गर्नुभयो । सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देश नेपालले आफ्ना छिमेकीहरु तथा सबै अन्तर्राष्ट्रिय समुदायसँग सम्मानपूर्ण र पारस्परिक हितमा आधारित सम्बन्ध राख्ने कुरा बताउँदै उहाँले नेपालको आर्थिक विकासमा थप सहयोग गर्न संयुक्त राष्ट्रसंघको सहयोग महत्वपूर्ण हुने कुरा उल्लेख गर्नुभयो । संविधान कार्यान्वयन गरी आर्थिक सम्बृद्धिको मार्गमा अगाडि बढ्न विभिन्न तहका निर्वाचनहरु अपरिहार्य रहेको कुरा उल्लेख गर्दै उहाँले मानव विकास सूचकाङ्कको आधारमा गरीव एवम् विपन्न परिवारलाई लक्षित विशेष कार्यक्रम मार्फत उनीहरुलाई राष्ट्र निर्माणको मूलधारमा सहभागी गराउनु नै वर्तमान समस्याको प्रभावकारी समाधान हुने बताउनुभयो ।

उक्त भेटमा संयुक्त राष्ट्रसंघको नेपालस्थित जनसम्पर्क कार्यालयका प्रमुख क्याथरिन सुङ्ग पनि सँगै हुनुहुन्थ्यो । आजको भेटले संयुक्त राष्ट्रसंघसँग नेपालको कुटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान दिएको पूर्व प्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।