काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाले मन्त्रिपरिषद विस्तार गर्ने भनेको पनि थुप्रै दिन वितेको छ । तर उनले मन्त्रिपरिषद कहिले विस्तार गर्ने हुन् स्पष्ट केही बताएका छैनन् ।
स्रोतका अनुसार प्रधानमन्त्री दाहालले मंगलबार साँझ नै साना दलहरूका तर्फबाट मन्त्रीमा शपथ ग्रहण गराउने कार्यक्रम थियो । प्रधानमन्त्रीले किन शपथ गराएनन् केही बताइएको छैन ।
मन्त्री बन्ने सूचीमा रहेका साना दलका नेताहरू प्रधानमन्त्री दाहालको फोन कुरेर बसेका छन् । स्रोतले भन्यो, ‘मंगलबार साँझ मन्त्रिपरिषद विस्तार हुन सकेन । सायद आज (बुधबार) हुन्छ कि भन्ने आशा छ ।’
राप्रपा र फोरम लोकतान्त्रिकले तत्काल मन्त्रिपषिदमा नजाने संकेत गरेपछि प्रधानमन्त्री दाहाल साना दलहरूलाई भए पनि राखेर मन्त्रिपरिषद विस्तारको तयारीमा रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रेमबहादुर सिंहलाई खानेपानी र कुमार खड्कालाई पशुपंछी मन्त्रीमा शपथको तयारी गरिएको छ ।
तर, प्रधानमन्त्री दाहालको निजी सचिवालयका एक सहयोगीका अनुसार ठूला दुई दल नै मन्त्रिपरिषदमा नआउने भएपछि किन मन्त्रिपरिषद विस्तार गर्ने हो र ? भनेर प्रश्न गर्छन् । उनले आजै नै मन्त्रिपरिषद विस्तार होला जस्तो नलागेको उल्लेख गरे ।











प्रतिक्रिया