१३ कार्तिक २०८३, शुक्रबार

किन आए ५५ देशका प्रहरी प्रमुख नेपालमा ? कारण यस्तो छ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को एसिया प्रशान्त क्षेत्रीय सम्मेलन बुधबारदेखि तीन दिनसम्म काठमाडौंमा हुने भएको छ । होटल ह्यात रेजेन्सीमा हुने सो सम्मेलनको सबै तयारी पूरा भएको छ ।

करिब २७ वर्षपछि काठमाडौंमा हुन लागेको सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका केही गृहमन्त्री र ५५ मुलुकका प्रहरी प्रमुखहरूसहित २ सय ५० भन्दा बढीको सहभागिता रहनेछ । राजधानी दैनिकले समाचार छापेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख एआईजी विज्ञानराज शर्माका अनुसार मंगलबार साँझसम्म १ सय ३३ जना पाहुनाहरू आइसकेका छन् । मंगलबार रातिसम्म सबै पाहुना आइसक्ने छन् ।

एआईजी शर्माका अनुसार सम्मेलनमा मानव बेचबिखन, बालबालिकाविरुद्ध हुने अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराधहरू, अन्तर्राष्ट्रिय आतंकवाद, साइबर अपराध, वन्यजन्तुसम्बन्धी अपराधका विषयमा छलफल हुनेछ ।

इन्टपोल महासचिवालयको हरेक दुई/दुई वर्षमा सदस्य राष्ट्रहरूमा हुने इन्टरपोलको एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ५२ देशका ३ उपक्षेत्रीय कार्यालय प्रतिनिधिहरू सम्मेलनमा भाग लिन आउनेछन् । अपराध विभागका प्रमुख एआईजी शर्माको नेतृत्वमा सम्मेलन सफल बनाउन सात सदस्यीय मूल समिति गठन गरिएको छ ।

त्यसैगरी पूर्वतयारी समिति पनि छुुट्टै बनाइएको छ । जसमा डीआईजी बमबहादुर भण्डारी, विजयलाल कायस्थ, माधव जोशी, देवेन्द्र सुवेदी, मिङमार लामा, हेमन्तबहादुर पाल, रोमेन्द्रसिंह देउजा, रामकुमार खनाल, शिला कार्की कंशाकार र एसएसपी कृष्णप्रसाद गौतम रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सम्मेलनमा भाग लिन विभिन्न संघसंस्थाका प्रतिनिधिसमेत काठमाडौं आउने भएका छन् ।

कुन–कुन संस्था सहभागी ?

सम्मेलनमा विश्व भन्सार संघसँग सम्बन्धित प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय लागू औषध नियन्त्रण कार्यक्रमसँग सम्बन्धित प्रतिनिधि, अन्तर्राष्ट्रिय आप्रवासी संगठनका प्रतिनिधि, आसियानका सचिवालय प्रतिनिधि, सार्क सचिवालयका प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय अपराध उपचार नियोगका प्रतिनिधि, अरवियन मन्त्री परिषद्का सदस्यले भाग लिँदै छन् ।

यसैगरी गल्फ तथा अरब राष्ट्रका प्रतिनिधि, आर्थीका समन्वय संगठनका प्रतिनिधि, इक्याप्ट इन्टरनेसनलका प्रतिनिधि, राष्ट्रिय परिधिभित्र रहेको अपराध अनुसन्धान गर्ने अस्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधि, एसियन महाद्वीपका प्रहरी प्रमुख, प्यासिफिक ट्रान्सनेसन क्राइम कोअर्डिनेसनका प्रतिनिधि, एसियन क्षेत्रीय इन्फरमेसन सेन्टरका प्रतिनिधि, विश्व प्रतिआतंकवाद संस्थाका प्रतिनिधिले यो सम्मेलनमा भाग लिनेछन् ।

मुख्य एजेन्डाहरू

सम्मेलनमा छलफल गरिने मुख्य एजेन्डाहरू इन्टरपोलका महासचिवले तय गरी नेपालमा पठाउनेछन् । आतंकवाद अपराध, युद्ध अपराध, मानवताविरुद्धको अपराध, पर्यावरणीय अपराध, संगठित अपराधजस्ता दर्जनौं अपराध नियन्त्रणका लागि पहलकदमी लिने संगठन भएकाले अहिले देखिएको मुख्य समस्यासँग पनि इन्टरपोलले नेपालमा हुने सम्मेलनमा छलफल गर्ने भएको छ ।

सम्मेलनमा भाग लिन एसिया महादेशबाहेक अमेरिका र फ्रान्सका प्रहरी प्रमुख पनि नेपाल आउनेछन् । १ सय ९० देशका प्रहरी संगठनहरू सदस्य रहेको इन्टरपोलको वार्षिक बजेट ७८ लाख डलर रहेको छ ।

सम्मेलन सकिएपछि इन्टरपोल मुख्यालय फ्रान्सबाट नेपाल प्रहरी त्यसले गरेका काम कारबाहीको अनुगमनका लागि ४ अप्रिल २०१७ मा नेपाल आउने कार्यक्रम रहेको छ ।

चीनका सुरक्षा राज्यमन्त्री पनि सहभागी

इन्डोनेसियाको बालीमा सम्पन्न इन्टरपोलको ८५औं महासभाबाट अध्यक्षमा निवार्चित भएका चीनका मेङ होङवीईको नेपालमा हुने सम्मेलन इनटरपोलको पहिलो कार्यक्रम हुनेछ । उनी चीनका सुरक्षा राज्यमन्त्री हुन् ।

अध्यक्ष एसिया प्यासिफिक सबै देशका प्रहरी प्रमुखहरू सो सम्मेलनमा नेपाल आउनेछन् । एउटा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएकाले मुलुकको छविबारे सकारात्मक सन्देश प्रवाह हुने प्रहरीको दाबी छ । पर्यटनको दृष्टिकोणले पनि यो सम्मेलन फलदायी हुने बताइन्छ ।

सबै प्रहरी प्रमुखहरू आफ्नै खर्चमा नेपाल आउनेछन् । उनीहरू बस्ने होटलको खर्चसमेत आफैंले बेहोर्नेछन् । नेपालले कार्यक्रम र डिनर/लञ्चको खर्च मात्र बेहोर्नेछ । नेपाल आउने प्रहरी प्रमुखहरूले केही दिन नेपाल घुम्न इच्छा देखाएका छन् । यसबाट पर्यटन क्षेत्रको प्रचारप्रसार हुने प्रहरी अधिकारीको दाबी छ ।

नेपाल लागू औषध र वन्यजन्तुका अंग कारोबारमा ट्रान्जिट देशका रूपमा प्रयोग भइरहेको छ । दक्षिण अमेरिकन देशहरूमा उत्पादन हुने कोकिनदेखि अफगानिस्तानको हेरोइनसम्म नेपाल हुँदै युरोपलगायत विभिन्न देश पुग्ने गरेको छ ।

त्यस्तै, वन्यजन्तुका अंग नेपाल हुँदै चीनमा तस्करी भइरहेका छन् । नेपालले यो सम्मेलनमा यही विषयलाई उठाउने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।