नयाँ शक्ति पार्टी गठन भएको छोटो अवधिमा राष्ट्रव्यापी आकार ग्रहण गरिसकेको छ । सबै आधारभूत तहमा यसका संगठनहरुले काम शुरु गरिसकेका छन् । यो अविधमा नयाँ शक्तिले सत्तारुढ र देशका ठूला गनिएका पार्टीहरुबाट थुप्रै नेता कार्यकर्ता आफूभित्र समाहित गरिसकेको छ । वैचारिक रुपमा यसले ल्याएको नवीनता, पार्टीभित्र शुरु गरिएको प्रत्यक्ष लोकतन्त्रको अभ्यास, सदाचारी राजनीतिको अवलम्वन, आर्थिक समृद्धिको केन्द्रीय अजेण्डाको कारण यो अवस्था सिर्जना भएको हो । प्रचण्ड नेतृत्वको माओवादी पार्टीमा शान्ति प्रक्रियापछि समाहित भएर पहिलो संविधान सभामा त्यो पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउने प्रायः सबै नेता कार्यकर्ता नयाँ शक्तिमा सामेल भइसकेका छन् वा हुने क्रममा छन् । एमाले, नेका र राप्रपाबाट समेत ठूलो संख्यामा नेता, कार्यकर्ता र समर्थकहरु नयाँ शक्तिमा सामेल भएका छन् । यसो भएर पनि नयाँ शक्ति चुनौति मुक्त भने छैन ।
तराई मधेशमा नयाँ शक्तिका एक से एक नेता छन् । जो मधेशवादी दलका नेताभन्दा कम छैनन् । तिनका आफ्नै ईतिहास र छवि बनेको छ । तर दुःखका साथ भन्नै पर्दछ, नयाँ शक्तिले तराई मधेशमा उनीहरुलाई प्रोजेक्सन गर्ने राम्रो योजना बनाउन सकेको छैन । यति नेतालाई मात्र तराई मधेशमा राम्ररी स्थापित गराउन सके मधेशका नेता खोज्न कसैको ढोका चहार्नु पर्दैन ।
क) नयाँ संस्कृतिको निर्माण
एउटा अग्रगामी पार्टी अग्रगामी संस्कृतिले लैस भएको हुनु पर्दछ । पार्टी संस्कृतिको सबभन्दा पहिलो शर्त हो — सोच्ने तरिकामा एकरुपता । डा.बाबुराम भट्टराईको सोचाई र एक सामान्य कार्यकर्ताको सोचाईमा साझापन नआई नयाँ शक्तिको छुट्टै संस्कृति निर्माण संभव छैन । नेता र कार्यकर्ताबीच आवश्यक न्यानोपन पैदा हुन सकेको छैन । नेताले कार्यकर्ता र जनतामा भरोसा गर्न सकिरहेका छैनन् भने कार्यकर्ता र जनताले नेतामाथि विश्वास गर्न सकिरहेका छैनन् । नयाँ शक्तिले ठूलो अभियान चलाएर यो मनोवैज्ञानिक दूरी कम गर्नु पर्दछ । सबै पृष्ठभूमिबाट आएकालाई उत्तिकै सम्मान, योग्यता क्षमता अनुसारको जिम्मेवारी प्रत्यायोजन, पार्टी जीवनका हरेक क्षेत्रमा लोकतान्त्रिक परिपाटीको अवलम्बन र कसैलाई काखा कसैलाई पाखा गर्ने कुख्यात तरिकाको तिलान्जली दिएर एउटा उच्च पार्टी संकृतिको निर्माण गर्न सकिन्छ । अलेक्ज्याण्डर पोपले भनेका थिए— अहिलेसम्मको अध्ययन मान्छेको अध्ययन हो (The study hereto is the study of man) । नयाँ शक्तिका नेताले जनभावनाको राम्रो अध्ययन गरेर सोही बमोजिम आफूलाई ढाल्ने प्रयत्य गरे आमरुपमै नयाँ शक्ति संस्कृति हुन धेरै समय लाग्दैन । विदितै छ, तानाशाहले जनताको मन जबरजस्ती थिच्दछ जब कि एक लोकतान्त्रिक नेताले रिझाएर उनीहरुको मन आफूतिर खिच्दछ ।
ख) अर्जुन दृष्टिः आर्थिक समृद्धि
नयाँ शक्तिको प्रमुख अजेण्डा “अबको निकास, आर्थिक विकास” हो । स्वभाविक छ, शान्ति, स्थीरता, सुशासन र पारदर्शिता नभई यो अजेण्डा कार्यान्वयन हुन सक्दैन । त्यही कारण हो, नयाँ शक्तिले संविधानलाई अविलम्ब सर्व स्वीकार्य बनाएर, स्थीर सरकार बनाएर देशलाई आर्थिक समृद्धितर्फ मोड्नु पर्छ भन्ने अवधारणा ल्याएको हो । संविधान जारी गर्दाका बखतदेखि नै असन्तुष्ट रहेको मधेशी मोर्चालाई समेत राष्टिय मूलधारमा ल्याएर देश अघि बढ्नु पर्छ भनेको हो । यसो गरिरहँदा कतिपयले पूर्वाग्रही रुपमा नयाँ शक्तिलाई मधेशवादी —जातिवादी भएको आरोप लगाउने गरेका छन् । नयाँ शक्ति न मधेशवादी हो न जातिवादी हो ।
नयाँ शक्ति बेखबर छैन— अरुको खल्तिमा अधिकारै अधिकार देख्ने आफ्नो खल्तिमा कुनै अधिकार नदेख्ने उग्र मधेशवादी, उग्र जातिवादी नेता र पार्टीलाई नेपाली जनताले कुनै पनि चुनावमा मत दिएका छैनन् । नयाँ शक्तिलाई यो पनि राम्ररी थाहा छ— सत्ता गिराउन र टिकाउन खेलिने खेलहरु, सिमाङ्कन विवाद, ओली —मधेशी बलाबलजस्ता विषयमा अल्झेर बस्ने समय उसलाई छैन । नयाँ शक्ति खस आर्य, आदिवासी जनजाति र मधेशी थारु समुदायको समान अधिकारको ग्यारेन्टी गर्न जन्मिएको हो, कसैको अधिकारको खल्ति रित्याएर अर्कोलाई थुपार्न जन्मिएको होइन । आफूले तय गरेको नवीन अजेण्डाको आलोकमा बढीभन्दा बढी जनतालाई गोलबन्द गर्दै अघि बढ्नु नै यसको अर्जुन दृष्टि हो ।
ग) नयाँ शक्तिको मधेश रणनीति
तराई मधेशमा नयाँ शक्तिका एक से एक नेता छन् । रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान, राम रिझन यादव, दानबहदुर चौधरी, चिनक कुर्मी डा. सुरेन्द्र चौधरी, सभासद गंगा चौधरी, प्रविण मिश्र, नाथुप्रसाद चौधरी लगायतका नेता कोही मधेशवादी दलका नेताभन्दा कम छैनन् । तिनका आफ्नै ईतिहास र छवि बनेको छ । तर दुःखका साथ भन्नै पर्दछ, नयाँ शक्तिले तराई मधेशमा उनीहरुलाई प्रोजेक्सन गर्ने राम्रो योजना बनाउन सकेको छैन । यति नेतालाई मात्र तराई मधेशमा राम्ररी स्थापित गराउन सके मधेशका नेता खोज्न कसैको ढोका चाहार्नु पर्दैन । आफ्नो खल्ति सदुपयोग गर्न नसक्नेले थप आर्जनको कल्पना गर्नु निरर्थक छ ।
घ) नयाँ शक्ति मधेशी एकता
प्रत्यक्ष कार्यकारी लगागतका केही विषयमा डा. भट्टराई र उपेन्द्र यादवले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेदेखि नयाँ शक्ति र उपेन्द्र नेतृत्वको फोरमविच एकताको चर्चा चलिरहेछ । एकताको जतिसुकै उच्च अभिलाषा राखे पनि दुई पार्टीको विचार नमिली एकता सम्भव छैन । विचार मिलेपछि पनि नेतृत्वको व्यवस्थापनको सवाल त्योभन्दा जटिल विषय हो । नयाँ शक्तिका अजेण्डा र फोरमको राजनीतिक कोर्सको कसरी तालमेल हुन्छ, हाल केही भन्न सकिदैन ।
















प्रतिक्रिया