मुगु, ४ माघ । रक्षामन्त्री बालकृष्ण खाँड, भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक र सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सोमबार मुगुको उत्तरी नाका जोड्ने निर्माणाधीन नाक्चेलाग्ना सडकको हेलिकोप्टरबाट निरीक्षण गरेका छन् ।
तिब्बतको हेजिमार जिल्लाको नाका र मुगुको नाक्चेलाग्नादेखि गमगढीसम्म ८६ किलोमिटर दूरी रहेको यो सडकखण्ड सडक डिभिजन कार्यालय जुम्लाले निमार्ण सुरु गरेको सात वर्षमा १५ किलोमिटरको ट्र्याक खुलेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।
सो सडकको कामले गति नलिएपछि नाका खोल्न मुगुवासीहरूले पटकपटक मन्त्रालयसम्म धाउन थालेपछि मन्त्रीत्रले हवाई निरीक्षण गरेका हुन् ।
गमगढी नाग्चेलाग्ना सडक प्रदेश–६ को उत्तरी नाका जोड्ने सबैभन्दा नजिक र सजिलो भएकाले केही भागमा परियोजनामार्फत रअप्ठ्यारा खण्डहरूमा नेपाली सेनालाई निर्माणको जिम्मा दिनुपर्ने धारणा प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले राखे ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मंगलबहादुर शाहीले उत्तर–दक्षिण सडकका लागि सरकारले न्यून बजेट विनियोजन गर्दा सडक निर्माणले गति लिन नसकेको गुनासो गरे ।
गमगढी–नाग्चेलाग्ना सडकको कुल ८६ किलोमिटर दूरीमध्ये ३४ किलोमिटरको मात्र विस्तृत परियोजना रिपोर्ट ९डीपीआर० तयार भएको जानकारी दिँदै सडक विभागका निर्देशक देवेन्द्र कार्कीले भने, ‘बाँकी ५२ किलोमिटर दूरीको डीपीआर गर्न यो वर्षभित्रमा ठेक्का खोल्ने योजना सडक विभागको रहेको छ ।’
सो कार्यक्रममा भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले सो उत्तर–दक्षिण सडक शीर्षकमा राखेर समयमै सम्पन्न नहुने भएकाले सरकारले विषेश परियोजना स्थापना गरी विषेश तरिकाले काम गर्न मन्त्रिपरिषद्बाट पास भएको बताए ।
कर्णालीमा भोग, रोग, शोक, अशिक्षा र बेरोजगारी भए, तापनि यहाँको प्राकृतिक सम्पदा, पर्यटकीय स्थलहरूका कारण यहाँको भविष्य उज्ज्वल रहेको उनले बताए । उनले नाक्चेलाग्ना र हिल्सा सडकखण्ड मात्र बन्न सकेमा भारत र चीनसँगको व्यापारले गति लिने विचार व्यक्त गरे ।
नाग्चेलाग्ना परियोजना कार्यालय सदरमुकाम गमगढीमा यथाशीघ्र स्थापना गर्ने र बाँकी सडकखण्डको तयारीका लागि सरकारले पहल गर्ने मन्त्री लेखकले प्रतिबद्धता जनाए ।
नेपाली सेनालाई काम जिम्मा दिँदा छिटो बन्छ भने त्यो निर्णय गर्न मन्त्रालय तयार रहेको बताउँदै उनले यो सडक निमार्णमा रकम अभाव हुन नदिने वचनबद्धता व्यक्त गरे ।














प्रतिक्रिया