३० आश्विन २०८३, शुक्रबार

अरुलाई सुम्पेको यो मंसिर !

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लोकसेवाको चर्को क्रेजले काठमाडौंका इन्सिच्युट भरिभराउ छन् । त्यही भिडमा म पनि पुतलीसडकसम्म दिनहुँ विहान तनमनले दत्तचित्त भएर बसाँई त्यतै सारेको छु । अपरिचित जमातले कक्षाकोठा भरिएका छन् । सबै लक्ष्यमा शान्त भएर सवार छन् । साढे २ घण्टाको दिनहुँ कक्षाले मस्तिष्कको बचेको खाली स्पेस भर्दे छन् । कक्षामा मात्र पढिदैन, अनेक पाटो देखिन्छ, भोगिन्छ र प्राप्ति प्रयत्न जारी राखिन्छ । विहानै कक्षामा बज्ने राष्ट्रिय गानले छाति लाम्चो भएको छ, साइज फुलेर ठूलो भएको छ । जसले देश सेवाको रापिलो ज्वाला सल्काइदिन्छ । यति धेरै साथीको भिडमा म असल साथीको खोजीमा छु । साथी जो भएनी फरक पर्देन तर भावना मिल्ने भए उत्तम, यसमा केटी साथी भएमा झनै सर्वोत्तम । मेरो मनको कुनाबाट उदाएको चाह यहि थियो । मास्र्टस सम्मको अध्ययन निरन्तर अगाडी बढाइरहँदा प्राय लास्ट बेन्चर भइयो । फाइदा कम भएनी त्यति सारो बेफाइदा झेल्नु परेको छैन ।

फस्ट कल उसलाई गर्छु तर सम्पर्क हुनै सक्दैन् । हतारिदै फेसबुक खोल्छु । लामो सम्बोधन सहितको म्यासेज छ । स्क्रिन सर्ट गर्दे म्यासेजका टुक्रा सेभ गर्छु । मसंग सम्पर्क नभएको र पारीवारिक…..यस्तै शब्दका वाक्यले म्यासेज पढ्ने नेत्र हराउन्छ । मंसिर ९ ले अर्केलाई सुम्पेको छ उसलाई । म्यासेजको अन्तिम टुक्रामा विहेको फोटोे टासिएको छ । त्यसपछि मन अधैर्य हुन्छ ।

कक्षाको धेरै समय आँखा यताउति टहलिन्छन् । लाग्छ, मनले आँखालाई अर्के जिम्मेवारी सुम्पेको छ । थाह छैन ऊ कत्तिको सफल हुन्छ । कक्षामा सधै मेरा आँखासँग ठोक्काई खाने मध्येबाट सटलिस्ट मनसम्म पुर्याउन्छ । मनले एउटा चित्र कोरिसकेको छ । मानौ मनले खेस्रा मात्रै कोरेको छ त्यसलाई कसरी आकारमा उतार्ने भन्ने जिम्मेवारी मस्तिष्कलाई सुम्पेको छ । कक्षा सिद्विएपछि उसका पदचाप पछ्याउदै कति अघिपछि भइयो मनलाई मात्र थाह छ । मस्तिष्क बाहिर नओकल्न मनलाई निर्देशित गर्छ । अचम्म लाग्छ आफ्नो मन–मस्तिष्क पनि वसमा छैन ।

हो खोजीरहेको मान्छेसँग आँखा, मन र मस्तिष्कको गहिरो अन्तरसम्बन्ध छ । कक्षामा जब आँखाहरु ठोक्काई खान पुग्छन् म अन्तै मोडिदिन्छु उ भने अन्तै हेरेको वहाना गर्छे । आँखासंग नि बेलाबेलामा झोक चल्छ, यि कति बाठा भए होलान् । बाहिर हिड्दा उ निकै हतारमा हुन्छे । सोच्छु, लक्ष्य चुम्न उसका पाइला हतारिए होलान् । निरन्तर २ महिनाको उसको फ्लोअपमा मात्रै नाम–थर हात लागेको छ । यसैबाट म उसको फेसबुक प्रोफाइलमा भिजिटरको रुपमा थपिएको छु । प्रोफाइल पिक्चर यति मोहित छ त्यो निलो गगनभित्र अरुलाई चुकचुकाई रहेछ । नेपाली शब्दकोषका सुनौला शब्दले उसको कमेन्ट बक्स रंगाउने मन छ तर साथी बन्न फ्रेन्ड रिक्वेस्ट सेन्ड गर्ने हिम्मत जुटेको छैन ।

साउने झरिले कक्षामा एक खालको ध्वनी छरिरहेको छ । झिसमिसे विहानमै प्रायको हातमा बुधबारको गोरखापत्र छ । उ स्थिर छे, मन लगाएर धैर्यताका साथ पृृष्ठहरु पल्टाउदै छे । लोकसेवाले त्यसै दिन मेरो रिजल्ट निकालेको छ । केटाहरुको बधाइको चर्को हल्ला उसको कानसम्म परेको हुनुपर्छ सायद । मेरो नजिकै रहेकी उसलाई भन्न मन छ पृृष्ठ ११ पल्टाएर मेरो नाम खोज । कतै बधाई पो भन्छे कि भन्ने झिनो आशा छ तर म सोच्दासोच्दै यता भृकुटिमण्डपमा चियाको कप समातिरहेको हुन्छु इलामेली साथीसंग । त्यस दिनदेखी अन्तवार्ताको तयारीको लागि मैले कक्षा छोड्ने निर्णय लिइसकेको हुन्छु । चियाको अन्तिम चुस्किसंगै उसलाई फ्रेन्ड रिक्वेस्ट सेन्ड गर्छु । त्यसदिन साँझ अफिसबाट घर पुग्छु । फेसबुकको नोटीफिकेसन कक्षमा दीपा…….. एसेप्टेड योर्र फ्रेन्ड रिक्वेस्ट सहितको जानकारी छ । मन खुसीले बुर्कुची मार्न थाल्छ । एक हप्तापछि म्यासेज लेख्छु, हेल्लो फाइन ? उसले निमेषभरमै रिप्लाई दिन्छे, ठिक छु, कता हराको ? हातका औला काप्न थाल्छन् खुसीले । त्यसदिन रातको ११ बजेसम्म गफिन्छु । त्यस रातको कुरा सबैलाई अमेट हुनेगरी मस्तिष्कले सेभ गरेको छ । दैनिक सेडुल ब्यस्त छ । अफिसमा (राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र) भोलि पढाउनु छ । तयारी अपुग छ । मन त्यत्तिकै अस्थिर छ ।

लमजुङ्गकी ठिटी घर काठमाडौं महाराजगन्ज । भर्खरै बिबिए सकेकी । शाखा अधिकृत बन्ने लक्ष्यले पुतलिसडक सम्म धाएकी । बुबा बैकंका जागिरे, मम्मी लेक्चर । भाई १० कक्षामा पढ्दै । उसको ओजिलो परिचय यहि थियो ।

यसरी म्यासेजमा मात्रै सिमित भएका केही दिनहरु त्यसपछि भने फोनमा छाइसकेका हुन्छन् । साँझबाटै सुरु भएका प्रेमिल गफहरु प्रभातकालिन उषासम्मै आइपुग्छन् । काठमाडौंका चल्दाका कफिसपमा हाम्रा धेरै प्रहर कटिसकेका हुन्छन् । हाम्रो भाषा छुट्टै छ । दुई शब्दका संकेतले लामा–लामा भाव ब्यक्त गर्ने उसको बानी ममा पनि सरिसकेको छ । रंगिन कपालले उसलाई सुन्दरताको शिखरमा पुर्याएको छ । मेरा खस्रा हातहरु उसका कोमल हातले कोमल बसिकेका छन् ।

शनिबार बाहेक अरु दिनको सेडुल उसले नै बनाएर म्यासेज बक्समा पठाएर अन्त्यमा दिपमात्रै लेख्थी । दिपले मात्रै यसको र मेरो नाममा सहि प्रतिनिधित्व गथ्र्यो । मैले अफिसबाट बिदाको राम्रै स्वाद लिइरहेको हुन्थे । भक्तपुर, धुलिखेल, नगरकोट, चोभार, सुन्दरीजल हाम्रा लागि पर्याय थिए । चन्द्रागिरी डाँडोमा पुग्न केबलकार चढ्दा उ डराएर कसिलो शरीर मै तिर अड्याउन्थि । उसको कपाल मैले चपाउन्थे । आहा उसको कपालले कति मिठो सुगन्धित अक्सिजन दिइरहेको छ । लाग्छ यहि अक्सिजनले मेरो जीवन चलिरहेछ । नगरकोटको होमस्टेमा बिताएका दिन । ग्राउन्ड एप्पल चपाएका उसका हिमाल जस्ता सेता अटल दाँत । हिमालमा सजिएर बसेको सेतो हिँउ साक्षी राखेर साटफेर गरिएको जिब्रोको स्वाद । सबै प्रिय छन्, सर्वप्रिय ।

धनकुटा पुग्छु अन्तवार्ताको लागि । सबै साथिहरुको जमघट छ । रिफ्रेस हुन साथीसंगै भेडेटारको यात्रा त्यति रोमान्चक लाग्दैन । हरियाली छटाले मलाई गिज्याइरहे जस्तो लाग्छ उसको अनुपस्थितले । पढ्ने खुराक सबै उसले नै मेल गरिदिएकि छे । फोनबाटै अन्तवार्ता उसले लिन्छे । सुधार्न गाली गर्छे । तैपनि उसको गाली मलाई तालि जत्तिकै लाग्छ । काम सकि काठमाडौं फर्कन्छु । अफिसबाट अर्को दिन १० दिनको लागि कालिकोट पुग्नु छ । बसाई सदरमुकाम मान्मामा हुनेछ । भोलि विहान एयरपोर्ट भेट्ने सल्लाहका साथ टिकट लिई रुम पुग्छु अफिसबाट । विहान ७ बजेको फ्लाइट छ । दिपजस्तै बलेकी उ मलाई छाड्न एयरपोर्ट म संगै पुग्छे । अफिसको ३ जनाको हाम्रो गु्रप १ घण्टापछि नेपालगन्ज पुग्छौ ।

मंसिर पहिलो साता जाडोले निकै छोइसकेको छ कालिकोटलाई । मान्माको चौर भन्ने स्थानमा बसेका छौ हामी । स्थानिय लघु जलविधुत आयोजना बिग्रेकाले मान्मा अन्धकार छ प्राय । हामी सबैको मोबाइल अफ छ । काठमाडौंमा उसंग सम्पर्क नभएको नि ७ दिन भैसक्छ । यो युगमा सञ्चारबाट बिमुख हुँदा अत्यास लाग्छ । मन बेचैन हुन्छ । मंसिर ११ गते बिद्युत सुचारु हुन पुग्छ । मोबाइल चार्ज गरी फस्ट कल उसलाई गर्छु तर सम्पर्क हुनै सक्दिन । हतारिदै फेसबुक खोल्छु । लामो सम्बोधन सहितको म्यासेज छ । स्क्रिन सर्ट गर्दे म्यासेजका टुक्रा सेभ गर्छु । मसंग सम्पर्क नभएको र पारीवारिक…..यस्तै शब्दका वाक्यले म्यासेज पढ्ने नेत्र हराउन्छ । मंसिर ९ ले अर्केलाई सुम्पेको छ उसलाई । म्यासेजको अन्तिम टुक्रामा विहेको फोटोे टासिएको छ । त्यसपछि मन अधैर्य हुन्छ । लयमा चलिरहेको हावाको बतासे गति रोकिन्छ ।

विर्सु कसरी अब म, भन मेरी प्रियतम्
पागल पागल, सरी भाछु
केवल तिम्रो सम्झनामा, केवल तिम्रो सम्झनामा

संगितसँग स्वर मिसाउदै थिए नरेन्द्र प्यासी यो गीतमा । म यो गीत पुरा नहुदै सिलिपिङ्ग ट्याबलेटको सहारा लिन्छु । थाहा छैन यो निद्राबाट कहिले ब्युझिन्छु ।