३० आश्विन २०८३, शुक्रबार

योग चिकित्सा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

योग शब्दको अर्थ जोड्नु हुन्छ । आत्माको पर आत्मासगको मेल वा जोडलाई योग भनिन्छ । योगले मानवीय चेतनाको अघिकतम विकास गरी सम्पूर्ण जगतको रहस्य सिकाउदै आनन्दको उच्चतम अनुभूति गराउछ । योग वशिष्ठका अनुसार मनको प्रशमन गर्ने उपाय नै योग हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा स्वस्थ हुनु हो । यो सबैको प्राप्तिको आधार नै योग चिकित्सा हो ।

मनको अत्यधिक वेचैनी वा संस्कारबाट शरीरमा रोग उत्पन्न हुने प्रक्रियालाई रोगको प्रसव भनिन्छ भने रोग तथा मनका विकारहरुबाट मुक्त भई आफ्नो स्वरुप वा होशपूर्ण आनन्दमा फर्कनु प्रति प्रसव हो । यो नै योग चिकित्सा हो ।

भगवान शिव, गौतम बुद्ध तथा हजारौ मुनिहरुको साधना भूमिका रुपमा रहेको नेपाल योगको उद्गम स्थल हो । हठयोगका विभिन्न साधना पद्दतिका विकास नेपालमै हुनु तथा योगीलाई राजवैद्यका रुपमा हेर्ने कुराले प्राचीन समयदेखि नै नेपाल योग भूमि हो भन्ने पुष्टि हुन्छ । प्राचीन कालदेखि ऋषिहरुले विकसित गरेको योग साधनाका साथसाथै चिकित्साको रुपमा रहेको आयुर्वेदको सत्वावजय चिकित्सा पनि हो ।

नेपालबाटै प्रथम पटक माघ १ लाई योग दिवसका रुपमा मनाउन थालिएको हो । यसको सुरुवात मानर्सााग्नले आजभन्दा ३८ वर्ष पहिले गर्नुभएको थियो । पछि संयुक्त राष्ट्रसंघले जुन २१ लाई विश्व योग दिवसका रुपमा घोषणा गरी मनाउन थालेको हो ।

प्राचीन समयमा हठयोग, तन्त्रयोग, मन्त्रयोग, राजयोग, कर्मयोग, ज्ञानयोग जस्ता विभिन्न योग प्रमुख रुपमा रहेका थिए । वर्तमान समयमा विश्वमा यिनैबाट विकसित गरिएका भावातित ध्यान, विपश्यना ध्यान, सूदर्शन क्रिया, अष्टाङ्ग योग, विक्रम योग, विन्यास योग, आयङ्गर योग, कुण्डलिनि योग जस्ता अनेकौ विधिहरुको बृहत अनुसन्धान तथा उपयोग भैरहेको छ । इन्टरनेशनल योग फेडेरेशनका अनुसार विश्वभरी ३० करोड मानिसहरुले योग अभ्यास गर्दछन् ।

मानव अस्तित्वमा ५ तह हुन्छन्, जसलाई पञ्चकोष भनिन्छ । तैत्तरीय उपनिषदका अनुसार पञ्चकोषमा अन्नमयकोष वा भौतिक शरीर, प्राणमय कोश, मनोमय कोष, विज्ञानमय कोष र आनन्दमय कोष स्थूलदेखि सूक्ष्मसम्म पर्दछन् । स्थूलकोष क्रमशः सूक्ष्म कोषबाट नियन्त्रित हुन्छन् । आनन्दमय कोष, जो कारण शरीरको रुपमा रहेको हुन्छ, त्यसबाट नै क्रमश अरु स्थूलतर कोषहरु निर्मित तथा नियन्त्रित हुन्छन्् । यी सम्र्पूण तहको सन्तुलन गर्दै सबै तहबाट माथि उठ्दै चेतनाको उच्चतम अवस्थामा पुग्नु नै योगको लक्ष्य हो ।

वर्तमान समयमा बदलिदो जीवनशैली, खानपान, तनाव, कुलत का कारण विभिन्न नसर्ने रोगको विगविगि बढेको छ । हामीले जीवनशैली परिर्वतन गर्ने क्रममा प्रमुख रुपमा यी कुराहरु नगर्ने भन्छौ जुन डरमा आधारित छ । जस्तो कि चुरोट पियो भने क्यान्सर हुन्छ, तनाव लियो, मद्यपान गर्यो भने उच्चरत्तचाप हुन्छ । यो डर देखाई जीवनशैलीमा नियन्त्रण गर्ने विधि हो । त्यसैले जीवनशैली परिवर्तनको यो आधार मान्छेहरुलाई थाहा हुदाहुदै पनि दीर्घकालीन र उपयोगी छैन । तर योगमा आधारित जीवनशैली परिर्वतनबाट मानिसमा खुशी र आनन्द आउने हुनाले जीवनशैली परिवर्तन सहज र दीर्घकालीन हुन्छ ।

योगचिकित्साले मानव अस्तित्वका पञ्चकोषमा क्रमश अन्नमय देखि आनन्दमय कोष सम्मका विभिन्न तरिकाहरु उपयोग गर्दछ । आधुनिक चिकित्सा प्रमुख रुपमा भौतिक शरीरमा मात्र केन्द्रित छ भने योगचिकित्सा पञ्चकोषमा आधारित छ । अनाधिज व्याधिमा प्रमुख रुपमा आधुनिक चिकित्सा फलदायी छ भने आधिज व्याधिमा योगचिकित्सा फलदायी छ । त्यसैले दुवै चिकित्साको संयुुक्त उपयोग आवश्यक छ ।

अन्नमय कोषमा सात्विक आहार, आसन, क्रिया, मुद्राको प्रयोग गरिन्छ । प्राणमय कोशमा प्राणायामको प्रयोग गरिन्छ । मनोमय कोषका लागि भजन, कीर्तन, धारणा, ध्यान को प्रयोग गरिन्छ । त्यस्तै विज्ञानमय कोषमा यौगिक सल्लाह, चिन्तन, मनन तथा आनन्दमय कोषमा आनन्दका साथ कर्मफलको आशविनाको सेवा पर्दछन् ।

अधिकांश नसर्ने रोगका कारणहरुमा असन्तुलित खानपान, व्यायामको कमी, तनाव, कुलत जस्ता कुराहरु पर्दछन् । यी सबैलाई हटाई योगले सन्तुलित जीवन जीउन सिकाउनुका साथै रोगलाई निको पार्दछ । योग अभ्यासले क्यान्सर, मधुमेह, माइग्रेन, वाथरोग, उच्च रक्तचाप, उच्च कोलेश्टेरोल, दम, ढाड दुख्ने, मानसिक तनाव, डिप्रशेन, सिजोफ्रेनिया, मोटोपन, अम्लपित्त, कब्जियत जस्ता नसर्ने रोग रोक्न तथा भैसकेपछि निर्मूल पार्न सहयोग गर्दछ । योग अभ्यासले सबै रोग तथा चोटपटकमा प्रतिरक्षाप्रणाली लाई मजबुत बनाई रोगसग लड्न सहयोग गर्नुका साथै भविष्यमा रोग हुनबाट समेत बचाउछ ।

योगले पुनर्स्थापनामा समेत सहयोग गर्दछ । पुनर्स्थापना भन्नाले रोग, चोटपटक, मानसिक असन्तुलन आदिबाट पुन सामान्य अवस्थामा फर्काउनु अथवा सो हुन नसकेमा भइरहेको अवस्थामा अत्यधिक सहजता ल्याउनु भन्ने बुझिन्छ । योग पुर्नस्थापना विशेष गरी हृदयघात, मस्तिष्कघात, ठूला चोटपटक पछि हुने शारीरिक तथा मानसिक असक्षमता, मानसिक तनाव, क्यान्सर, कुलत मा रहेका बिरामीहरुलाई पुन सामान्य अवस्थामा फर्काउनु अथवा उनीहरुका दैनिक गतिविधिहरु सहज गराउन उपयोगी हुन्छ । वैज्ञानिक अध्ययनहरुमा सामान्य पुर्नस्थापना भन्दा यौगिक पुर्नस्थापना बढी उपयोगी भएको पाइएको छ ।

योगले आनन्दमा आधारित जीवनशैली परिवर्तन सिकाउछ, जुन सहज र दीर्घकालीन हुन्छ । तर अहिले चलिरहेको जीवनशैली परिवर्तन डरमा आधारित छ, जुन मानिसहरुलाई थाहा हुदाहुदै पनि अबलम्वन गर्न गाह्रो हुन्छ ।

योग चिकित्सा प्रयोगका आधारहरु

योगले हाइपोथालामसमा भएको तृप्ति केन्द्र, सटाइटी सेन्टरमा प्रभाव पारी अनावश्यक भोजनमा नियन्त्रण गर्दछ । यसले मोटोपन घटाउन सहयोग गर्दछ ।

योगले रगतमा खराब बोसोको मात्रा कम गरी असल बोसोको मात्रा बढाउछ, जसले गर्दा रक्तनलीमा जमेको बोसो कम गर्दछ । यसबाट हृदयघात, मस्तिष्कघात तथा रक्तसंचारसम्बन्धी रोगहरुको नियन्त्रण तथा उपचार गर्न सकिन्छ ।

योगले मुटुका रक्तनली सागुरीएर हुने कोरोनरी हार्ट डिजिजमा फाइदा गर्दछ । कोरोनरी हार्ट डिजिजमा अमेरीकी चिकित्सक डिन अर्नेसले रिभर्सिङ्ग हार्ट प्रोग्राम प्रयोग गरी विना औषधि यौगिक चिकित्साको उपयोगिता प्रमाणित गरेका छन् । जुन हामी सबैका लागी उपयोगी छ ।
योगले स्वतन्त्र नाडी संस्थान अन्र्तगतको सिम्पाथेटिक नर्भस सिस्टमको गतिविधिलाई कम गरी उच्च रक्तचाप तथा तनावलाई कम गर्दै विश्रान्ति दिन्छ ।

योगले भेगस नर्भको गतिविधि बढाई मुटु, श्वासको गति र पसिना कम गर्दछ ।

योगले नेचुरल किलर सेलको संख्या बढाई क्यान्सर सग लड्न सहयोग गर्छ । क्यान्सरको उपचारमा प्रयोग गरिने किमोथेरापी, रेडियोथे।पी तथा सर्जरीका दुष्प्रभाव अन्त गरी बिरामीका पीडा, दुख, मानसिक तनाव, डिप्रेशन घटाइ जीवनस्तर सहज बनाउछ ।

योगले सेरोटोनिन, गावा जस्ता स्नायु प्रणालीसग सम्बन्धित रसायन बढाइ मानसिक तनाव, डिपे्रशन जस्ता मानसिक रोगमा फाइदा गर्दछ ।
योगले मुड डिसर्डर, सिजोफ्रेनिया, सोमाटाइजेशन, डर, चिन्ता जस्ता मानसिक रोगको उपचार गर्न तथा उपचारमा प्रयोग भएका औषधिका दुष्प्रभाव कम गर्न सहयोग गर्र्दछ ।

योगले इन्सुलिनको निर्माण गर्न तथा इन्सुलिनको अवरोधलाई कम गरी रगतमा चिनिको मात्रा नियन्त्रण गर्दछ । यसबाट मधुमेह नियन्त्रण गर्न सकिन्छ ।

योगले मस्तिष्कको भावनात्मक केन्द्र, लिम्बिक कर्टेक्स लाई प्रभावित पारी सम्पूर्ण स्नायु प्रणालीको काममा सहयोग गर्दछ ।

योगले शरीर तथा मनलाई गहिरो विश्राम दिई अम्लपित्त, ढाड दूख्ने समस्या, माइग्रेन, दम, महिनावारी वेदना, महिनावारी अनियमितता, बाझोपन तथा कब्जियत निर्मूल गर्दछ ।

योगले शरीर तथा मनलाई गहिरो विश्राम दिइ प्रतिरक्षा प्रणालीको अति प्रवृतिबाट उत्पन्न हुने एलर्जी तथा अटो इम्युन डिसर्डर कम गर्दछ । त्यसैले आमवात, एलर्जीक राइनाइटिस, मल्टिपल स्केलोरोसिस, क्रोन्स डिजिज, अल्सरेटिभ कोलाइटिस, स्पोन्डाइलाइटिस आदि रोगमा फाइदा हुन्छ ।

योगले मेलाटोनिन, इन्डोर्फिन, अक्सिटोनिन जस्ता रसायन बनाइ खुशाी, प्रेम तथा आनन्द प्रदान गर्दछ ।

योगले धुम्रपान, मद्यपान तथा लागुपदार्थको सेवनको चाहना कम गर्र्छ तथा सेवनबाट उत्पन्न दुष्प्रभाव कम गरी कुलतबाट छुट्कारा दिलाउछ ।
योगले शरीरमा एन्टि अक्सिडेन्टको मात्रा बढाइ बुढ्यौली कम गर्दछ ।

योगले मनलाई शान्त पार्दै मस्तिष्कको क्रियाशिलता बढाउछ ।

योगले रोग तथा चोटपटक पछिको पुनस्थापनामा सहयोग गर्दछ ।

योगले स्ट्रेस हर्मोन, कोर्टिशलको मात्रा घटाइ तनाव कम गर्दछ ।

चिकित्सा क्षेत्रका विद्यार्थीमा गरिएको अनुसन्धान अनुसार योगले विद्याथीमा परीक्षा अगाडीको तनाव कम गर्दै कार्यक्षमता समेत बढाउछ ।

योगका माध्यमबाट स्वस्थ जीवन जीउदै सम्पूर्ण मानव रहस्यको पहिचान गरी शान्ति, सहिष्णुता र एकताका लागि अगाडि बढ्नुपर्छ ।

तसर्थ वर्तमान परिप्रेक्ष्यमा योग चिकित्सालाई चिकित्सामा चलिरहेका पद्धतिसग एकीकृत गरी रोग को नियन्त्रण तथा उपचार गर्दै मानवीय अस्तित्वको पूर्ण विकासको साधनका रुपमा प्रयोग गर्नु जरुरी छ । यसका लागि सम्बन्धित सबैले पहल गर्नु आवश्यक छ ।

(लेखक योग तथा पुनर्स्थापना विशेषज्ञ हुन् ।)