काठमाडौं, १ माघ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा ठूला माछाहरु रहेको र आफूहरुचाहिँ भुरामात्रै भएको बताएका छन् ।
‘केही दिनअघिको सुन तस्करीबारे कुरा आ’छ, सुन्नभा होला’, महराले भने, ‘मेरो नामै सुन तस्करीमा जोडेर आछ । जुन सुन तस्करी अहिले मैले सबै डिटेलमा भन्न चाहदिनँ, धेरै ठूला माछाहरू छन् यसमा । त्यो समय क्रममा बाहिर आउँछ । हामी त भुरेभारेमात्र हौं ।’ अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
तस्करी गरी ल्याइएको १५ करोड रुपैयाँ मूल्यको ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुस २१ गते भेटिएको थियो ।
सुनका भरिया गोपाल शाहीसहित उक्त सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो ।
शाहीले यसअघिसमेत गरी १ सय किलो सुन अवैध रुपमा भित्र्याएको बयान प्रहरीलाई दिइसकेका छन् ।
संगठित अपराध र त्यस्तो अपराधको आर्जन तथा सम्पत्ति शुद्धीकरणबारे अर्थ मन्त्रालयले शुक्रबार पोखरामा आयोजित अन्तक्रियामा अर्थमन्त्री महराले उक्त प्रसंग उप्काएका हुन् । उनले अपराधीहरुले राजनीतिक सत्ता नै किन्दिने गरेको समेत सुनाए । ‘अपराधीहरु राज्यभन्दा बलियो बन्न खोज्छन्’, उनले भने, ‘उनीहरुलाई कमजोर बनाउन राज्य र निजी क्षेत्र मिल्नुपर्छ ।’














प्रतिक्रिया