काठमाडौं, २६ पुस । व्यवस्थापिका संसद्को सोमबारको बैठकमा सांसदहरूले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् ।
संसदमा आइतबार टेबुल भएका निर्वाचनसम्बन्धी दुई विधेयकमाथिको छलफलमा भाग लिने र शून्य र विशेष समयमा बोल्ने अधिकांश सांसदहरूले यस्तो माग गरेका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।
स्थानीय तह निर्वाचन विधेयक माथिको छलफलमा भाग लिँदै एमालेका प्रकाश ज्वालाले अब स्थानीय तहको निर्वाचनको नै मिति तोक्नुपर्ने बताए ।
उनले भने, ‘अब स्थानीय निकाय कि स्थानीय तहको निर्वाचन गर्ने भन्ने छलफल गर्नुको कुनै अर्थ छैन ।’
एमालेकै सांसद शेरबहादुर तामाङले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गरेका थिए ।
नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले पनि अब स्थानीय तहको निर्वाचनको मिति तोक्नुपर्ने बताए ।
विधेयकमाथिको छलफलअघि शून्य र विशेष समयमा बोल्ने सांसदले पनि स्थानीय तहको निर्वाचन गर्न माग गरेका थिए ।
कांग्रेसका रामहरि खतिवडाले स्थानीय तहको विधेयक संसद्मा पेस भइसकेकाले सबै दल मिलेर स्थानीय तहको निर्वाचन गर्न तयार हुनुपर्ने बताए ।
कांग्रेसका महेन्द्र यादवले संविधान संशोधन विधेयक टेबुल हुनुले मधेसी दललाई सहमतिमा ल्याएर निर्वाचनको वातावरण बन्ने बताए ।














प्रतिक्रिया