१३ कार्तिक २०८३, शुक्रबार

सेनाले किन अस्वीकार गर्यो सरकारको प्रस्ताव ? संसदसँग यसरी भयो जुहारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । पुतली बगैंचा चर्चामा छ । यो बगैंचा मासेर संसद भवन बनाउने संसद सचिवालयको प्रस्तावलाई नेपाली सेनाले अस्वीकार गरेपछि फेरी एक पटक यो चर्चामा आएको हो । तर, धेरैको पहुँचबाहिर रहेको यो बगैंचाको ऐतिहासिकतालाई भने थोरैलाई मात्र थाहा छ । संसद र सेनाबीचको यो जुहारी त्यो ऐतिहासिकता जोगाउनलाई भने होइन ।

मन्त्रिपरिषद्को साउन ८ को बैठकले नै ८१ बर्ष पुरानो पुतली बगैंचा मासेर संसद भवन बनाउने निर्णय गरिसकेको छ । तर, नेपाली सेनाले अस्वीकार गरेपछि यो अहिले चर्चामा छ । 

पुतली बगैंचाका बारेमा सुनेकाहरुले पनि देख्ने सौभाग्य नपाएका हुन सक्छन् । सिंहदरबारभित्र भएर मात्रै होईन, राष्ट्रि सुरक्षा परिषद्को हाताभित्र भएकै कारण धेरैले यो बगैंचा चहार्न पाएका छैनन् । किनकी सुरक्षा सर्तकताका कारण परिषद्भित्र जो कोहीले सजिलै पहुँच पाउदैनन् ।

पहुँच नपाएको यो बगैंचाको ईतिहास भने सिंहदरबार जत्तिकै पुरानो छ । पुरानो मात्रै होईन, कौतुकता र धेरथोर रहस्यले भरिएको पनि छ । यही वगैचा मासेर संसद भवन बनाउने संसद सचिवालयको प्रस्ताव नेपाली सेनाले अस्वीकार गरेको कारण यो वगैचा फेरी चर्चामा छ । तर, सेनाले उक्त ठाउँमा भवन बनाउन नदिनुको कारण भने, वगैचाको ऐतिहासिकता सुरक्षित राख्न भने होईन । बगैंचा परिसरमा रहेको सुरक्षा परिषद्को सचिवलय र सेनाको निकायको व्यवस्थापन कसरी गर्ने भन्ने विषय टुंगोमा नपुगेर मात्रै हो ।

सजिलै बुझ्न सकिने कुरो, सेना होस वा संसद सचिवालय दुवैलाई यसको ऐतिहासिक महत्व ख्याल छैन् । मन्त्रिपरिषद्को साउन ८ को बैठकले नै ८१ बर्ष पुरानो पुतली बगैंचा मासेर संसद भवन बनाउने निर्णय गरिसकेको छ । बुझ्न कठिन पर्दैन, ढिलो वा चाडो पुतली बगैंचा मासिनेछ, त्यसमा कंक्रिट भवन ठडिनेछ अनि वगैचाको ईतिहास यदाकता फुटनोटहरुमा मात्रै आउनेछ ।

हरियो दुवोले ढाकेको चौर । रंगीचंगी फुलहरु र फुलहरुको वीचबाट बनाइएको सानो गोरेटो बाटो अनि रंगीविरंगी पुतलीहरुको ओहोरदोहोर । फुलको रस चुस्न झुम्मिएका माहुरी र भमराहरुको आवाज अनि फुलबारीको वरीपरी रहेको असारे र अन्य प्रजातीका फुलहरुबाट आउने मोहक बासना । १३ रोपनी १ आना क्षेत्रफलमा फैलिएको पुतली बगैंचाको एकसरो वर्णन हो ।

जुद्धशम्सेर प्रधानमन्त्री भएपछि वि.सं. १९८९ मा निर्माण गरिएको यो पुतली वगैचाको ईतिहास जति रोचक छ त्यति नै विविधताले भरिएको । ईतिहासकारहरु भन्छन, युरोपेली शैलीमा नेपालभित्र निर्माण गरिएको सम्भवत यो सबैभन्दा पुरानो वगैचा हो । जानकारहरुका अनुसार यो वगैचामा भएको वनस्पतीको विविधताले पनि यसको महत्व दर्शाउने बताउँछन् । जुद्धशम्सेरले युरोपेली देशहरुको भ्रमणपछि तिनै देशबाट सिकेर पुतली वगैचाको निर्माण गरेका थिए । उनी आफु जुन जुन देश पुग्थे, त्यहाँबाट फर्कदा फलफुलका विरुवा ल्याएर फर्किन्थे । ति सबै पुतली बगैंचाकै शोभा भए ।

वनस्पतीविद् तिर्थबहादुर श्रेष्ठ ईतिहास बोकेका उद्यानहरु आफैमा सम्पदा हुने बताउँछन् । उनले यस्ता वगैचाहरुको पुरानो कथासँग बनस्पतीको ईतिहास जोडिने बताए । श्रेष्ठले चिन्ता मान्दै भने, ‘तर, हाम्रोमा यस्ता कुरा कसले बुझ्ने । पुतली बगैंचाको महत्व कसले ठम्याउने ?’ कुनै बेला राष्ट्रिय सुरक्षा परिषद्का सह–सचिव रहेका पूर्ण तन्डुकारलाई सिहंदरबार निर्माणमा खटिएका आफ्ना जिजुबाजे कुलमानले बताएका केहीकुराले पुतली बगैंचाको महत्व दर्शाउछ । उनले जिजुबाजेको कुरा सम्झिदै सुनाएका थिए, ‘सिहंदरबारको उत्तरमा रहेको सिहंदरबार बैद्यखानामा बन्ने कतिपय औषधीहरुका निम्ती यही वगैचाका बनस्पतीहरु उपयोग हुन्थे । विलासी बगैंचाको रुपमा रहेको यो वगैचाको मध्यभागमा रहेको  गोलो पोखरीमा कुनै समय जापानीज् कोईकार्क माछा पालिएको थियो ।

ईतिहासका जानकार सौरभले कुनैबेला बताएका थिए, यो वगैचामा जुद्धले नेपालमै अन्त कतै नपाईने अमेरिकन प्रजातीको पिकान नट ओखर लगाएका थिए । बगैंचाभित्र रहेको तीनटा बोटमा अहिले पनि वर्षेनी ओखर फल्छ र कर्मचारीहरुले त्यसको स्वाद चाख्ने गर्दछन् । अहिले पनि यो वगैचाको दक्षिणी कुनामा हलुवा वेद र बगैंचाको एक छेउमा लहरा जस्तो विदेशी प्रजातीको हात्ती गने फूल छ । यौन उत्तेजक औषधीका रुपमा प्रयोग गरिने यो हात्तीगाने फुललाई जुद्धशम्सेरले युरोपबाट झिकाएका थिए । बगैंचाको बीच भागमा रहेको अजंगको चापको रुखले पनि यो बगैंचाको महत्वलाई दर्शाउँछ । बनस्पती विभागले चापलाई दुर्लभ र संरक्षित बनस्पतीको सुचीमा राखेको छ । सल्लादेखि धुपीसम्म र पिपल देखि हिविसकस फूलसम्म रहेको यो बगैंचाको विविधताले भरिएको छ ।

वनस्पतीको विविधता र सुन्दरता दुवैले यो वगैचाको महत्व कायम रहेको थियो । विस २०१७ साल अघिसम्म पनि यो वगैचा नेपालकै सबैभन्दा सुन्दर वगैचामध्येको एक मानिन्थ्यो वि.सं. २०३२ सालमा सिहंदरबारमा आगलागी भएपछि यसको दुर्दसा सुरु भयो । आगालागीपछि सिंहदरबारको व्यवस्थापन गर्ने क्रममा यो बगैंचा अस्थायी डम्पीङ्ग साईटमा परिणत भएको थियो । त्यतिबेला यो बगैंचामा रहेको धेरै दुर्लभ र बहुमूल्य बनस्पती नष्ट भए । यद्यपी यसको सुन्दरताका केही अंशहरु भने बाँकी नै थिए ।

वनस्पतीविद् श्रेष्ठका अनुसार पुतली बगैंचाजस्तै थुप्रै उद्यानहरु कुनै समय राणाकालिन दरबारहरुका सान थिए । श्रेष्ठले काठमाडौं रैथाने भन्दा फरक प्रजातीका वनस्तपतीहरु राणाकालमै भित्रिएको बताउँछन् । उनका अनुसार रुख कमल, ईन्द्र कमल र देवदार जस्ता रुखहरु राणाहरुले नै काठमाडौं छिराएका थिए । उनले थपे, ‘पश्चिम नेपालमा मात्रै पाईने देवदारलाई त राणाहरुले काठमाडौंमै हुर्काए ।’ श्रेष्ठका अनुसार पुतली वगैचाको विविधताको अध्ययनले बनस्पतीको ईतिहास बुझ्न सघाउँछ ।

२०३० अघिसम्म यही बगैंचामा दुरसंचार प्राधिकरणका टावरहरु थिए । जुन पछि हटाइए । त्यसताक वगैचाको वरिपरी रहेको लामो टहरामा लामो समयसम्म भूमीसुधार मन्त्रालयले अड्डा जमाएको थियो । यहाँ सुरक्षा परिषद्को कार्यालय बस्न थालेको भने विस २०६० पछि मात्रै हो । त्यसपछि नै हो, बगैंचाले थोरै भएपनि स्याहार पाएको । समयक्रममा यो वगैचाले धेरथोर आफ्नो अनुहार फेरेको छ । जुद्धशम्सेरले  वगैचामा टहलिनका निम्ती गोलो ढुंगा र बज्र चुन प्रयोग गरेर बनाएको बाटोलाई सिमेन्टले विस्थापित गरिसकेको छ ।

बगैंचा मासेर भवन बनाउने भएपछि सिहंदरबार पुर्ननिर्माण समितिले वगैचामा रहेको बनस्पतीको सूची तयार पार्न केन्द्रिय उद्यान शाखालाई लगाएको थियो । शाखाले पिकाननट र चाप महत्वपूर्ण बनस्पती रहेको विवरण दिएका थियो । कतिपयले यो वगैचाको नाम पुतली सडक जस्तै तरिकाले रहन गएको बताउँछन् । तर, त्यो सत्य होईन । किनकी कोतपर्वभन्दा अघी राज्यको शासन सत्ता राजा राजेन्द्र शाहको हाट्टमा थियो ।

तिनै राजा राजेन्द्रकी कान्छी रानी लक्ष्मीदेवीको सुसारे थिईन पुतली नानी । ईतिहासकारहरु भन्छन, दरबारभित्रको गोप्य सुचनाहरु जंगबहादुरलाई पुर्याएर कोतपर्वमा सघाएको खुशीमा जंगबहादुरले पुतली नानीलाई समेत आफ्नो दोस्रो रानी बनाएर बिहे गरेका थिए । पुतली जंगबहादुरकी सबैभन्दा प्रिय रानी थिईन र यिनैको नाममा जंगबहादुरले पुतलीसडकमा एउटा दरबार समेत निर्माण गरिदिएका थिए । त्यही दरबारको नामबाट नै अहिलेको पुतली सडकको नाम रहन गएको हो ।

कान्तिपुर दैनिकमा समाचार छ ।