काठमाडौं, २५ पुस । प्रधानमन्त्री प्रचण्ड र नेपालको राजनीतिमा खेल्ने बाह्य शक्ति भारतलाई हिजोको सहमति कार्यान्वयनमा दायाँबायाँ नगर्न चेतावनी दिने भित्री मनासयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओली निवासमा विशेष डिनर मिटिङ गरेका थिए ।
प्रमुख दलका दुईजना सर्वोच्च नेताले पत्नीसहित गरेको एक रातको डिनरले राष्ट्रिय राजनीतिलाई पर्लक्कै पल्टाइदिएको विश्लेषण हुन थालेको छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।
२०७३ पुस २४ गते आइतबार संसद बैठकमा नाटकीय तरिकाले संविधान संशोधन विधेयक पेस भएको छ । चुनाव सम्बन्धी विधेयक पनि पेस भएको छ । सतहमा देखिएको यो राजनीतिको भित्री पक्ष भने निकै गहिरो छ ।
पुस २४ गते विधेयकहरू पेस गर्ने र अवरोध बीच नै प्रकृया अगाडि बढ्ने नाटकीय प्रकरणको थालनी भने कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले पत्नीसहित गरेको डिनरबाट सुरु भएको विश्लेषण गरिँदैछ ।
उच्च राजनीतिक स्रोत भन्छ – २०७३ पुस ११ गते राति शेरबहादुर र आरजु देउवा ओली निवास बालकोट पुगे । अरु बेला निवास चकमन्न थियो । किनभने दिउँसोबाटै ओली निवासका व्यवस्थापकहरूले भेट्न आउन चाहनेहरूलाई आज अध्यक्षज्यू राति घरमा हुनुहुन्न भनेका थिए । ओली निवासमा बाहिरिया मानिसहरूमा सुरक्षाकर्मीहरू मात्र थिए । राति देउवा दम्पित्ति पुगे, भब्य स्वागत र खातिरदारी भयो । स्वागतभन्दा धेरै संवाद भयो ।
देउवा र ओली दुवैका निकटहरूबाट पाएको जानकारी अनुसार डिनर बैठकमा निकै दीर्घकालीन महत्वको सहमति भयो । छलफलमा देउवा र ओली दुबैजना प्रचण्डको हातबाट चुनाव हुन नसक्ने निष्कर्षमा पुगे । त्यसो भए कसको हातबाट चुनाव हुन्छ त ? दुवैले सहमति गरे – देउवाको हाटबाट ।
देउवा र ओलीबीच व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव, सर्वोच्च अदालतमा बहस चलिरहेको लोकमान मुद्दाका बारेमा निकै गम्भीर रुपमा छलफल भएको थियो ।














प्रतिक्रिया