१३ कार्तिक २०८३, शुक्रबार

धेरै भ्रष्टाचार भएपछि मालपोतका कर्मचारीविरुद्ध आन्दोलन शुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

भक्तपुुर, २५ पुस । मालपोत कार्यालय भक्तपुरका कर्मचारीले बिचौलिया र जग्गा दलालीसँग मिलेर सेटिङमा आर्थिक अनियमितता गर्ने गरेको भन्दै लेखापढी कानुन व्यवसायी आन्दोलित भएका छन् ।

मालपोत नयाँ भवनमा सरेको दुई वर्ष बित्तिसक्दा पनि कार्यालय व्यवस्थापन गर्नुको सट्टा लेखापढी कानुन व्यवसायीलाई दुःख दिने र घूस दिनेको मात्र कार्य गर्ने गरी आर्थिक अनियमितता हुने गरेको उनीहरूको दाबी छ । राजधानी दैनिकले समाचार छापेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको अध्ययनअनुसार मालपोत कार्यालय सबैभन्दा बढी आर्थिक अनियमितता हुने कार्यालयमा पर्छ । भक्तपुरका लेखापढी कानुन व्यवसायीहरूले भ्रष्टाचार र आर्थिक अनियमितता हुनुको सम्पूर्ण दोष व्यवसायीलाई लगाएर भित्रभित्रै दलालीसँग मिलेर सेटिङ मिलाई कार्यालयका कर्मचारीले घूस लिने गरेको आरोप लगाएका हुन् ।

कार्यालयले आर्थिक अनियमितताको सम्पूर्ण दोष लेखापढी कानुन व्यवसायीलाई लगाएको भन्दै व्यवसायीहरू आइतबारदेखि कार्यालय प्रमुख र कर्मचारीविरुद्ध आन्दोलित बनेका छन् । लेखापढी व्यवसायीले कर्मचारीले घूस नलिई काम गर्ने नगरेको, बिचौलिया र जग्गा दलालीलाई हातमा लिएर व्यवसायीलाई विस्थापित गराउने षड्यन्त्रमा लागेको भन्दै आइतबार कार्यालय परिसरमा भेला भएर आन्दोलन सुरु गरेका हुन् ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएन भक्तपुरका अध्यक्ष राजेन्द्रकुमार दाहालले कार्यालयलाई अवस्थित बनाएर मालपोत कार्यालयले गोलमाल गर्ने गरेको र त्यसको सम्पूर्ण दोष व्यवसायीलाई लगाएको भन्दै आक्रोश पोखे । बिचौलियालाई भित्रभित्रै प्रवेश गराएर व्यवसायीलाई भने झ्यालबाट काम गर्नुपर्ने अवस्था सृजना गरिएको र त्यसको सम्पूर्ण दोष व्यवसायीलाई लगाउने कार्य कार्यालय प्रमुखले गरेकाले आन्दोलन सुरु गरिएको अध्यक्ष दाहालले बताए ।

कर्मचारीले नै पैसा माग्ने र बारम्बार त्यसबारेमा कार्यालय प्रमुखलाई आग्रह गर्दा पनि बेवास्ता गरी भद्रगोल बनाइएको उनको भनाइ छ । कार्यालय प्रमुखले लेखनदासले पैसा लिन्छन् भन्नेजस्तो दोष लगाउने कार्य खेदजनक भएको र लेखापढी व्यवसायी लेखनदास नभएको अध्यक्ष दाहालले बताए ।

गत वर्षबाट अनलाइन सेवा सुरु गरिए पनि मालपोतको कार्यमा ढिलाइ भइरहेको बताउँदै सामान्यतया जग्गा दलाली र बिचौलियाको साँठगाँठमा आर्थिक अनियमितता हुने गरेको उनको दाबी छ । कार्यालयले अनावश्यक दुःख दिएर सर्वोच्च अदालतले समेत फैसला गरिसकेको विषयलाई अस्वीकार गर्दै दररेट तोक्ने, परिचयपत्र माग्ने, लेखापढीको पहिरन तोक्ने कार्य उचित नभएको र यसले अन्ततः व्यवसायीलाई विस्थापित गर्ने षड्यन्त्र भएको दाहालको भनाइ छ । यता, भक्तपुर लेखापढी कानुन व्यवसायी एसोसिएसनका संस्थापक एवं केन्द्रीय न्यायिक समन्वय समितिका सदस्य रवीन्द्र प्रधानले व्यवसायीलाई दोष लगाएर कार्यालयले आर्थिक अनियमितता रोक्ने कार्य नगरेर व्यवसायीहरू थप आन्दोलन गर्न बाध्य हुने बताए ।

उनले जनता र कार्यालको पुलको काम गर्ने व्यवसायीलाई घूस लिन्छन् भन्नेजस्ता आक्षेप लगाउनु उचित नभएको बताउँदै कार्यालयका कर्मचारीले नै लिखत पासजस्ता कार्यमा ढिलाइ गर्ने गरेको आरोप लगाए । तीन घन्टाभित्र लिखत पास हुनुपर्नेमा हप्तौँ लाग्ने गरेको र बिचौलियाको भने तुरुन्तै काम हुने गरेको उनको भनाइ छ ।

‘कार्यालयलाई लेखापढी व्यवसायीको पारिश्रमिक तोक्ने अधिकार छैन,’ उनले भने । व्यवसायीका अनुसार कार्यालयमा सबैभन्दा बढी सेवाग्राहीलाई तामेली फाँट, मोठ फाँट (जग्गाको अभिलेख) दुःख दिने र आर्थिक अनियमितता हुने गरेको आरोप लगाएका छन् । कर्मचारीले अनलाइन सेवाको नाममा सेवाग्राहीलाई दुःख दिएको र पैसा नलिई काम गर्ने नगरेको व्यवसायीको भनाइ छ ।

कार्यालयका कर्मचारीले अनावश्यक दुःख दिने, पैसा नदिनेको काम गर्न आँलटाल गर्ने गरेको उनीहरूले आरोप लगाएका हुन् । कर्मचारीले सेटिङ मिलाएर काम गर्ने गरेको र कमिसन माग्ने गरेको धेरैजसो व्यवसायीको आरोप छ ।

लामो समयदेखि भाडामा सञ्चालन हुँदै आएको कार्यालय आफ्नै नयाँ भवनमा सर्दा पनि कार्यालय व्यवस्थित हुन नसक्दा कार्यालयको तामेली फाँट अझै व्यवस्थित हुन सकेको छैन । १ पुस, २०७२ देखि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित तुमुचो दुमुरो जग्गा एकीकरण आयोजनाको नयाँ भवनमा सरेको थियो । मालपोत कार्यालयबाट सेवााग्राहीले पुराना खोजेको फाइल पाउन हप्तांै लाग्ने गरेको गुनासो गर्ने गरेका छन् । तामेली फाँटका फाइल अव्यवस्थित र भद्रगोल अवस्थामा हुँदा फाइल खोज्न हप्तांै लाग्ने गरेको एक सेवाग्राहीले गुनासो गरे । मालपोतमा सेवाग्राहीले चाहेको समयमा सहजै फाइल हेर्न सक्दैनन् । यसअघि भाडामा आदर्शमा सञ्चालन हुँदै आएको कार्यालयले कमलविनायकको नयाँ भवनमा सरेको लामो समय बितिसक्दा पनि फाँट व्यवस्थापनतर्र्फ ध्यान दिएको देखिन्न ।

नयाँ भवनमा सर्दा पनि दराजको अभावका कारण तामेली फाँट व्यवस्थित गर्न नसकेको मालपोत कार्यालयको स्पष्टोक्ति छ । तामेली फाँटमा २००६ देखि २०२२ सम्मका रेकर्ड फाइल भद्रगोल अवस्थामा छरप्रस्ट छन् । फाँटमा सालैपिच्छेका फाइलसमेत एकै ठाउँमा छैनन् । २०२२ सालपछिका फाइल सबै मिसिएका छन् । तामेली फाँटका कार्यालय सहयोगी दैनिक सयौं फाइल खोज्न निर्देशन आउने गरे पनि भनेजति फाइल खोज्न नसक्ने बताउँछन् । छरप्रस्ट अवस्थामा फाइल हुँदा कसैको फाइल केही समयमै भेटिने त कसैको भने हप्तांै पनि लाग्ने गरेको उनीहरूको भनाइ छ ।

यता मालपोत कार्यालय भक्तपुरले भने जनशक्ति अभावमा सेवाग्राहीले माग पूरा गर्न नसकेको बताएको छ । मालपोत कार्यालय भक्तपुरका प्रमुख कमलप्रसाद तिमिल्सिनाले जनशक्ति अभावले कार्यालयले सोचेजस्तो कार्य गर्न नसकेको बताए । गत २० वर्षजति जनशक्ति थियो अहिले पनि त्यति नै जनशक्ति हुनाले समस्या झेल्नुपरिरहेको उनको भनाइ छ । आफूले कार्यभार सम्हालेको तीन महिना मात्र भएको बताउँदै उनले लेखापढी कानुन व्यवसायीलाई कार्यालय प्रवेश गर्दा परिचयपत्र, प्यान नम्बर तथा कर चुक्ता प्रमाणपत्र, डेस्कमा एकरूपता र दररेट अधिकतम पारिश्रमिक के कति हो लागू गर्नुपर्ने विषयमा सहमति जनाए पनि लागू हुनुलाई विस्थापित गराउन खोजेको बुभ्mनु गलत हुने राजधानीलाई बताए ।व्यवसायीले भने नागरिक बडापत्रमा सूचना जारी भएको कुनै पनि विषय कार्यान्वयन हुन नसकेको अवस्थामा लेखापढी व्यवसायीलाई मालपोत कार्यालयले कुनै पनि निर्देशिका जारी गर्न नमिल्ने बताएका छन् ।