१ कार्तिक २०८३, आइतबार

उद्घाटन खेलमा गोल्डेनलाई पछाडि पार्दै शिवशक्तिको जीत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा, २२ पुस । माघे संक्रान्तिको अवसर पारी कपिलवस्तुको शिवगढी ९, मा जिल्लास्तरीय फूटबल प्रतियोगिता संचालन भएको छ ।

त्यहाँ गठित सूर्यमुखी युवाक्लबले शिवगढीलाई पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउन १६औं फूटबल प्रतियोगिताको आयोजना गरेको हो । कार्यक्रममा खेल उद्घाटन गर्दै प्रमुख अतिथि गाविस सचिव प्रेमसागर ओलीले खेललाई सद्भाव र मैत्रीपूर्ण बनाउन जोड दिए । शिवगढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास र प्रवद्र्धनमा युवाहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको औल्याउँदै गाविसको तर्फबाट पर्यटन प्रवद्र्धनमा भरपूर सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रमका विशिष्ट अतिथि व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले विगत १५ वर्षदेखि युवाहरुले खेलको माध्यमबाट शिवगढीको विकास र पहिचानमा महत्वपूर्ण योगदान दिएको भन्दै खुलेरै प्रशंसा गरे । खेलको कुनै जात, धर्म, राजनीति नहुने भएकाले खेलको माध्यमबाट सबैलाई एकताबद्ध बनाउन युवाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । साथै युवाहरुलाई उत्प्रेरणा जगाउँदै शिवगढीको पयटकीय विकासमा व्यापार संघको तर्फबाट सहयोग पु¥याउने प्रतिबद्धता जनाए ।

शिवगढी गा.वि.स.आफैंमा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको औल्याउँदै खेलकूदको माध्यमले यसक्षेत्रको विकास र प्रचारप्रसारमा टेवा पुग्ने शिवगढी पर्यटन विकास तथा प्रवद्र्धन समितिका कोषध्यक्ष तारा कार्कीले विश्वास व्यक्त गरिन् । सूर्यमुखी युवाक्लबद्वारा आयोजित खेल शिवगढी गाविसको सान रहेको आयोजक क्लवका सचिव ज्ञानु विश्वकर्माले वताए । यसैगरी कार्यक्रममा सरस्वती निमावि बनियाभारका प्रधानाध्यापक विक्रम के.सी.ले खेललाई सभ्य, भव्य र विवादरहित बनाउन आयोजकले विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

“विकास र परिवर्तनका लागि युवा अघि सरौं, शिवगढीलाई पर्यटकीय स्थलको रुपमा विकास गरौं” भन्ने नारा सहित आयोजित खेललाई विगत १५ वर्षदेखि निरन्तरता दिंदै आएको आयोजक क्लबका अध्यक्ष संकल्प गुरुङले बताए । खेलप्रेमीहरुका लागि कार्यक्रम आकर्षणको गन्तव्य बन्ने विश्वास व्यक्त गर्दै खेललाई भव्य रुपमा सम्पन्न गर्न सहयोगको खाँचो रहेको क्लवका पूर्वअध्यक्ष गणेश गुरुङले जिकिर गरे ।

खेलमा प्रथम हुनेलाई २५ हजार, द्वितीयलाई १२ हजार र तृतीयलाई ६ हजार तथा उत्कृष्ट सबैलाई शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको कार्यक्रमका संयोजक समेत रहेका गणेश गुरुङले जानकारी दिए । खेलमा जिल्ला र वाहिरी जिल्लाका कूल २२ समूहले नाम दर्ता गराएको अध्यक्ष संशल्प गुरुङले बताए । उद्घाटन खेल गोल्डेन युवा क्लव बनियाभार र शिवशक्ति युवा क्लव शिवपुरबीच प्रतिबद्धता भएको आयोजकले जनाएको छ । उद्घाटन खेलमा शिवशक्तिले गोल्डेन युवाक्लबलाई २ का विरुद्ध ४ गोल गर्दै जीत सुनिश्चित गरेको बताइएको छ ।