– विमल योगी
काठमाडौं, १८ पुस । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संविधान संशोधनको प्रस्ताव फिर्ता लिएर संसदको गतिरोध अन्त्य गर्न सरकारलाई सुझाव दिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीचको बैठकमा एमालेका नेताहरूले संशोधन प्रस्ताव फिता लिन दबाब दिएको हो ।
बैठकपछि पत्रकारसँग कुरागर्दै एमालेका अध्यक्ष केपी ओलीले संसद अबरोध सत्तारुढ दलहरूका कारण भएको बताए । ‘हाम्रो कारणले संसद अबरोध भएको होइन’, उनले भने, ‘संविधान संशोधनको प्रस्ताव फिर्ता लिएपछि संसद चलिहाल्छ नि ?’
तपाईहरूको रणनीति के हो भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा एमाले अध्यक्ष ओलीले भने, ‘हाम्रो कुनै रणनीति छैन । हामी सोँझो हिसावमा छौँ । उहाँहरूले संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ ।’
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख विपक्षी दलहरूलाई पनि मिलाएर लैजानु पर्छ भन्ने मान्यतामा आफूहरू रहेको बताए । ‘कुरा अहिले नै मिलेको छैन । कुराकानी गरिरहनु पर्छ’, उनले भने, ‘संसदमा संशोधन प्रस्ताव अगाडि बढाउने वा नबढाउने कुरा सभामुखको कुरा हो । हामीले कसरी निर्देशन दिन मिल्छ ?’
माओवादी केन्द्रका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले दलहरूका बीच छलफल जारी रहेको भन्दै प्रमुख विपक्षी दलहरूको पनि सहमतिमा प्रस्ताव अगाडि बढाउनु पर्ने बताए । ‘सभामुखले स्थिति हेरेर संसद चलाउनु हुन्छ । संशोधन अगाडि बढाउनु हुन्छ । उहाँको कुरा हो’, उनले भने, ‘दलहरूका बीच कुरा मिलेको छैन । वार्ता जारी छ । सहमतिमा संशोधन प्रस्ताव अगाडि बढ्नु पर्छ ।’
शीर्ष बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, रामचन्द्र पौडेल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठको सहभागिता रहेको थियो ।












प्रतिक्रिया