१ कार्तिक २०८३, शनिबार

कालीगण्डकी जलाशयबाट विद्युत् उत्पादन सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेनी (म्याग्दी), १७ पुस । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारका एक व्यक्तिले कालीगण्डकी नदीमा उपकरण जडान गरी दुई किलोवाट विद्युत् उत्पादन गरेका छन् ।

दैनिक हुने विद्युत्भार कटौतीबाट आजित भएपछि बेनीबजारवासीलाई वैकल्पिक ऊर्जाका बारेमा जानकारी गराउन म्याग्दी ऊर्जा प्राविधिक सेवा केन्द्रका सञ्चालक दुर्गाप्रसाद श्रेष्ठले खुल्लामञ्च नजिकको कालीगण्डकीबाट दुई किलोवाट क्षमताको विद्युत् उत्पादन सुरु गर्नुभएको हो ।

तत्काललाई अस्थायी रुपमा सञ्चालन गरे पनि सबैको सहयोग भएमा पाँच किलोवाटसम्म उत्पादन गर्न सकिने श्रेष्ठले बताउनुभयो । विगत २०५७ सालदेखि ऊर्जाको क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले जिल्लाको सदरमुकाम बेनीबजार आसपासबाट बग्ने म्याग्दी र कालीखोलाबाट बजार तथा आसपासका क्षेत्रमा ऊर्जाको खपत गर्न सकिने दाबीसमेत गर्नुभयो ।

विद्युत् उत्पादनका लागि कुलो निर्माणका साथै टर्वाइन, जेनेरेटर र छ मिटरको पाइपका साथै अन्य सामग्री प्रयोग गरिएको छ । प्रतिसेकेन्ड एक सय लिटर पानी फालेपछि एक हजारवाट उत्पादन गर्न सकिन्छ । एक हजारवाट बराबर एक किलोवाट हुन्छ । एक किलोवाटबाट एक सय चिम बाल्न सकिन्छ ।

म्याग्दी ऊर्जा केन्द्रले जिल्लाका विभिन्न गाविसका साथै ओखलढुङ्गा, रामेछाप, चितवन, मकवानपुर, रुकुम, जाजरकोटका साथै विभिन्न एक दर्जन जिल्लामा पाँचदेखि १० किलोवाटसम्मको लघु जलविद्युत् जडान गरेको जनाएको छ । रासस