काठमाडौं, ११ पुस । संविधान संशोधन प्रस्ताव फिर्ता लिन सत्तारुढ दलहरुले पहल थालेका छन् ।
संशोधनको विरोधमा प्रमुख प्रतिपक्षी एमालेसहित ९ दलले संसद ठप्प पारेपछि सत्तारुढ कांग्रेस र माओवादीका नेताहरुले प्रस्ताव फिर्ता लिन छलफल अगाडि बढाएका हुन् ।
यसैक्रममा सोमबार विहान नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
भक्तपुरको सानोठिमीस्थित ठाकुर निवासमा भएको भेटवार्तामा नेताहरुबीच संविधान संशोधनको विषयलाई लिएर भइरहेको गतिरोधलाई कसरी हटाउने भन्नेबारेमा छलफल भएको छ ।
भेटपछि तमलोपा अध्यक्ष ठाकुरले जारी गतिरोधको निकास खोज्ने पहलका लागि छलफल केन्द्रित भएको बताए ।
भेटका क्रममा संविधान संशोधन प्रस्तावलाई फिर्ता लिने वा परिमार्जन गरेर प्रक्रियामा जाने भन्ने बारेमा नेताहरुबीच छलफल भएको ठाकुरले जानकारी दिए । ‘संविधान संशोधन फिर्ता लिने कि परिमार्जन गर्ने विषयमा सकारात्मक छलफल भयो । गतिरोध अन्त्यका लागि हामी प्रयासरत छौं,’ उनले भने ।
सभामुख ओनसरी घर्तीले सहमतिका लागि आज सात प्रमुख दलको संयुक्त बैठक आह्वान गरेको सङ्घारमा तीन नेताबीच भेटवार्ता भएको हो ।












प्रतिक्रिया