४ मंसिर २०८३, शुक्रबार

पूर्वराजाले गणतन्त्रविरुद्ध षड्यन्त्र गरे सरकारले नियन्त्रणमा लिन्छः माओवादी नेता अनन्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– निशानदाजु भट्टराई

घोराही, १० पुस । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले पूर्वराजा ज्ञानेन्द्र शाहले बाह्रय शक्तिको आडमा आफ्नो स्पेस खोजेको बताएका छन् ।

साथै, उनले गणतन्त्र र संघीयताविरुद्धमा षड्यन्त्र गर्न खोजे सरकारले ज्ञानेन्द्रलाई नियन्त्रणमा लिने चेतावनी दिए ।

नेकपा माओवादी प्रदेश नम्बर ५ को बैठकपछि आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले अहिले नै पूर्वराजा ज्ञानेन्द्रलाई फर्काउने अवस्था नरहेको र धमिलो पानीमा माछा मार्न खोजेको बताए ।

‘पूर्वराजा ज्ञानेन्द्रले चीन र भारतका नेताहरुसंग भेटघाट गरेर आफ्नो स्पेस बनाइदिन विन्ती गर्ने गरेको सूचना आएको छ, यो गलत हो,’ उनले भने– ‘पछिल्लो पटक वक्तब्य जारी गरेर ज्ञानेन्द्रले विवादमा आउने काम गरे । बोल्न र लेख्न पाउने अधिकार अन्य नागरिकझै उनलाई पनि छ, यदि गणतन्त्र र संघीयतालाई नै चुनौति दिने गरी एक्सनमा आए सरकारले नियन्त्रणमा लिनुपर्ने हुन्छ ।’

दरबार हत्याकाण्डको छानविन गर्नुपर्ने जनताको माग रहेकाले सरकारले प्रस्ताव ल्याएर यसलाई अघि बढाउने उनको भनाई छ ।
‘बुटबल राजधानी बनाउन एमालेको आन्दोलन’
फरक प्रसंगमा नेता अनन्तले प्रदेश विभाजनको विरुद्धमा एमालेले बुटबलमा गरिरहेको आन्दोलन राजधानीका लागि भएको टिप्पणी गरेका छन् । वर्तमान संशोधन प्रस्तावमा भएको सीमांकन अनुसार दाङ राजधानी बन्ने भएपछि एमालेले बुटबलमा राजधानीका लागि आन्दोलन गरिरहेको आरोप लगाए ।

उनले दाङ थारुहरुको आदिभूमि भएकाले यसलाई नै प्रादेशिक केन्द्र बनाउन आफूहरु लागिपरेको बताए । ‘दाङलाई राजधानी बनाउने तयारी स्वरुप हामीले सीमांकन हेरफेर गर्नेगरी संशोधन प्रस्ताव पेस गरेका हौं । कुनै पनि हालतमा प्रस्ताव पास हुन्छ,’ पूर्व अर्थमन्त्री समेत रहेका पुनले भने– ‘संशोधन प्रस्तावले मुलुकमा बिखण्डन ल्याउँछ भन्नु गलत हो । एमालेले प्रस्तावको नकारात्मक प्रचार गरिरहेको छ । यसले उसलाई नै घाटा पुर्याइरहेको छ ।’