काठमाडौं, ९ पुस । ‘क्रिश्मस डे’को अवसर पारेर आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णयमा हिन्दू युवा जनशक्ति संघले आपत्ति जनाएको छ ।
गत वर्षको चैत १९ गते केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले क्रिश्मस डेका दिन क्रिश्चियन कर्मचारीलाई मात्रै बिदा दिने तर सार्वजनिक बिदा नदिने निर्णय गरेको थियो ।
यो पनि पढ्नुस्ः क्रिश्मसमा क्रिश्चियन कर्मचारीलाई मात्रै बिदा दिने ओली सरकारको निर्णयको हिन्दूवादी संघद्धारा स्वागत
ओली सरकारको उक्त निर्णयलाई उल्ट्याउँदै शनिबार अपराह्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षतामा बसेको मन्त्रीस्तरीय बैठकले क्रिसमस डेमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
निर्णयलगत्तै हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुरले दैनिक नेपालसँग कुरा गर्दै हिन्दू बाहुल्य राष्ट्रमा हिन्दूहरुको भावनालाई लत्याउदै २ प्रतिशत ईशाईको पक्षमा निर्णय गरिनु आपत्तिजनक रहेको बताए । ‘यो बहुसंख्यक हिन्दूमाथिको प्रहार हो । निर्णय तत्काल सच्याउनुपर्छ ।’
‘पर्सीदेखि आन्दोलन सुरु हुन्छ’
अध्यक्ष ठाकुरले हिन्दूहरुको भावनालाई लत्याउने निर्णयविरुद्ध पर्सीदेखि कडा आन्दोलन गर्ने बताए । ‘यो सरकारले ईशाई विस्तारवादलाई प्रश्रय दिइरहेको छन्,’ उनले भने- ‘ईशाई विस्तारवादविरुद्ध अहिले हिन्दू जागरण नेपालले कैलालीमा आन्दोलन गरिरहेका छन् । अब हामी संयुक्त रुपमा राजधानी केन्द्रीत आन्दोलन थाल्छौं ।’
यसअघि ओली सरकारले राजपत्रबाट क्रिश्मस डेको विदा कटौती गर्दै क्रिश्चियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिने निर्णय गरेको थियो । त्यतिबेला गृहमन्त्री शक्तिबहादुर बस्नेत थिए । उनकै प्रस्तावमा यो निर्णय भएको थियो ।
ठाकुरले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि सरकारको निर्णयको कडा शब्दमा विरोध गरेका छन् ।












प्रतिक्रिया