काठमाडौं, ४ पुस । सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद चन्द्र भण्डारीले युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या घटना राजनीतिक कारणले भएको बताएका छन् ।
घटनापछि सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गर्दै पाँच नम्बर प्रदेश टुक्राउने सरकारको प्रस्तावविरुद्ध आन्दोलनमा रहेका भण्डारीले तिवारीको हत्या आन्दोलनसँग जोडिएको ठोकुवा गरेका हुन् ।
सोमबार देबदहमा गोली हानी हत्या गरिएका अध्यक्ष तिवारी पाँच नम्बर प्रदेश टुक्राउने निर्णयविरुद्धको आन्दोलनमा रुपन्देहीमा सशक्त भएर लागेका थिए । उनको हत्या सरकार संरक्षित आपराधिक समूहबाट भएको शंका गरिएका बेला कांग्रेस सांसद चन्द्र भण्डारीले स्वाभिमानको आन्दोलनमा रहेका युवा नेता मारिनुमा राजनीतिक कारण हुनसक्ने आशय व्यक्त गरेका हुन् ।
उनले जति नै किन्न खोजे पनि नेपाली नझुक्ने बताउँदै स्वाभिमानको आन्दोलनका लागि १० गते १० लाख जनता सडकमा उतारेर बदला लिने घोषणा पनि गरेका छन् ।
उनले लेखेका छन्- ‘रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्याले हामी सबै दुखी छौ । यसभन्दा पहिले भैरहवा उधोग बाणिज्य संघ उपाध्यक्ष कुल प्र न्यौपानेलार्इ पनि गोली प्रहार गरिएको थियो । जसले जे षड्यन्त्र गरे पनि अब नेपाल झुक्दैन । यही नेपाली को पहिचान हो । नेपालको अखण्डताको लागी १० गते दशलाख जनता सडकमा उपस्थित हुनै पर्दछ । त्यही नै राष्ट्र बिखण्डनका लागी तम्सिएकाहरुको लागी बदला हो । उठौं देशको स्वाभिमान आन्दोलनमा ।’
यसअघि पाँच नम्बर प्रदेशको आन्दोलनको रुपन्देहीमा नेतृत्व गरिरहेका भैरहवा उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि मंसिर २१ गते गोली प्रहार भएको थियो । आन्दोलनको अगुवाई गर्नेहरुमाथि यसअघि पनि आक्रमण हुने गरेकाले यो घटनापनि आन्दोलन र राजनीतिसँगै जोडिएकोमा धेरैको आशंका छ ।












प्रतिक्रिया