१९ कार्तिक २०८३, बिहिबार

प्रदेश सीमांकन हेरफेरविरुद्ध ३ दिने आमहड्ताल, कपिलवस्तुको जनजीवन प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा(कपिलवस्तु), १ पुस । व्यवस्थापिका संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गरी ५ नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा संयुक्त संघर्ष समिति कपिलवस्तुले शुक्रबारदेखि पूर्वपश्चिम राजमार्ग ठप्प पारेको छ ।

पुस ३ गतेसम्म ७२ घण्टाका लागि गरिएको आमहडतालको पहिलो दिन विहानैदेखि जिल्लाको जनजीवन प्रभावित बन्यो । जिल्लाको शिवपुर, चन्द्रौटा, चौवन्न, इमिलिया, बुड्ढी, गोरुसिंगे, बनगाई, चार नम्बर, पिपरा लगायतका स्थानमा बन्दकर्ताहरु विहानैदेखि सडक अबरुद्ध पारेका थिए । बन्दका कारण लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेनन् । हाइवे आसपासका बजार, पसल, कलकारखाना, शिक्षण संस्था समेत ठप्प रहे । चन्द्रौटा स्रोतकेन्द्र अन्तर्गत संचालित अर्धवार्षिक परीक्षा समेत प्रभावित बन्यो । बन्दले बालबालिका सबैभन्दा बढी मार खेप्नुपरेको जनगुनासो छ ।

प्रदेश नम्बर ५ टुक्राउने विधेयकको विरोधमा नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा माले लगायतका दलहरुको संयुक्त संघर्ष समिति विरोधमा उत्रिएको छ । यसैगरी विभिन्न दलका युवा एवं विद्यार्थी संगठन समेत संविधान संशोधन विधेयकको विरोधमा उत्रिएका छन् । सरकारले विधेयक फिर्ता नलिएसम्म आन्दोलन नरोकिने नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवं संयुक्त संघर्ष समिति सदस्य नेत्रराज अधिकारीले बताउनुभयो । बन्द निकै शान्तिपूर्ण रहेको उहाँले दाबी गर्नुभयो । बन्दका क्रममा एम्बुलेन्स, शव बाहन, दूधका गाडी, कुटनीतिक नियोग, प्रेस, मानवअधिकारबादीलाई भने निर्बाध रुपमा चल्न दिइएको अधिकारीले बताउनुभयो ।

यता संयुक्त संघर्ष समिति जिल्ला संयोजक एवं नेकपा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले संशोधन प्रस्ताव देश र नागरिकको हित विपरीत भएको र तत्काल फिर्ता लिन बारम्बार अनुरोध गर्दा समेत सरकारले बेवास्ता गरेका कारण ७२ घण्टे बन्दको आह्वान गरिएको बताउनुभयो । प्रचण्ड सरकारले भारतीय निर्देशनमा ५ नम्बर प्रदेश टुक्राउन खोजेको, हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन दबाव दिएको, अंगीकृतलाई संबैधानिक पद दिलाउँदै देशलाई टुक्रा टुक्रा पारेर अन्ततः नेपालको तराईलाई भारतमा गाभ्न दुष्प्रयास गरेकाले सबै नेपाली एकजुट भई प्रचण्ड सरकार र भारतीय विस्ताबादको विरुद्ध संघर्षमा उत्रन संयुक्त संघर्ष समितिले आह्वान गरेको छ ।

सम्पूर्ण नेपाल र नेपालीको हितका लागि आन्दोलनमा होमिएकाले आन्दोलनमा सम्पूर्ण देशप्रेमीहरुको सहभागिता र समर्थन रहने संयुक्त संघर्ष समितिले विश्वास लिएको छ । साथै आन्दोलनका कार्यक्रममा सक्रिय सहभागिता जनाउन पार्टीका सम्पूर्ण जनवर्गीय संगठनका सदस्य, पार्टीका सम्पूर्ण कमिटी सदस्य, पार्टीका संगठित सदस्य र साधारण सदस्य सबैलाई निर्देशन समेत दिइएको संयुक्त संघर्ष समिति संयोजक पोख्रेलले बताएका छन् ।

प्रस्ताव फिर्ताको माग गर्दै रुपन्देही, अर्घाखाँची, प्यूठान र रोल्पामा समेत ३ दिनको आमहडताल आह्वान गरिएको छ । भने पाल्पामा ४८ घण्टे आमहडताल आह्वान गरी आन्दोलनलाई सशक्त पारिएको बताइएको छ ।