चन्द्रौटा, ३० मंसिर । कपिलवस्तुको शिवराज नगरपालिका ३, खरेन्द्रपुर जंगलमा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
शिवराज नपा ३ सुपादेउराली मन्दिरदेखि करीब ५सय मिटर पूर्व बेल नदी र जवाई खोलाको दोभानमा शव फेला परेको हो ।
नयाँवस्तीका स्थानीय डाले घाँस काट्न जंगलमा गएको बेला शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको जानकारी अनुसार वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराई सहितको टोली घटनास्थल पुगेको थियो ।
फेला परेको शव सडीगली कंकाल बनिसकेको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए । शरीरको मासु सबै गलीसकेको, टाउको छुट्टिएको, कपाल समेत झरेको अवस्थामा कंकाल मात्र बाँकी रहेको उनले बताए ।
शवको प्रकृति हेर्दा एक महिनाअघिको रहेको प्रहरी निरीक्षक भट्टराईले जनाए । घटनाका बारेमा प्रहरी अनुन्धान सुरु गरिसकेको छ ।
खैरो पाइन्ट, सेतो डोरा भएको सर्ट, कालो ज्याकेट, इष्टकोट लगाएको हेर्दा झण्डै ४५/५० वर्ष उमेरको जस्तो देखिने कंकालको सनाखत भएको छैन –भट्टराईले भन्नुभयो ।
शवलाई सनाखतका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको उहाँले बताउनुभयो । बेवारिसे शवबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी प्रहरीले जनाएको छ ।













प्रतिक्रिया