
– रञ्जित लामा
कञ्चनपुर, २८ मंसिर । यो कारणले त्यो कारणले कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास, बेलौरी र बाइसेबिचवा अबैध कारोबारका लागि बेला–बेलामा चर्चामा आउने गरेको छ । केही दिन अघिमात्र पचकडिया प्रहरी पोष्टका इन्चार्ज लालसिंह बिष्टकै मिलोमतोमा लाखौंको तस्करी हुने गरेको खुलासा भएको छ ।
तस्करहरुसँग कामको प्रकृति हेरेर बिष्टले मासिक प्रतिब्यक्ति ३ हजार र फुटकर जति पनि लिने गरेको तथ्य हालसालै बाहिर आएको हो ।
गत साता मात्र ४ जना कपडा ब्यापारीहरुसँग जनही ३ हजारका दरले प्रहरी सहायक निरीक्षक बिष्टले रकम अशुली गरेको थियो । रकम अशुली गरेको बारे सोधपुछ गर्दा यसरी रकम अशुली गर्ने कुरा नौलो र नयाँ नभएर पचगडिया प्रहरी पोष्टको सिस्टम नै भएको बिष्ट स्वयंले खुलासा गरेका छन् । आफूले मात्र तस्करहरुलाई टाइट गर्ने वा अबैध सामानहरुमा मिलेर नजाने हो भने आफ्नो सरुवा ५÷१० दिनमै हुने उनले जिकिर गरे । “आफ्नो भलाईको लागि पनि तस्करहरुसँग मिलेर जानु पर्छ” –पचकडिया प्रहरी पोष्टका इन्चार्ज बिष्टले भने ।
जिल्लाको दक्षिणी क्षेत्रका भारतीय बजारहरुबाट हुने लाखौंको अबैध सामानहरुमा मिलोमतो भएको आरोप खेप्दै आएको पचगडिया प्रहरी पोष्ट बाइसेबिचवा, हाल इन्चार्ज लालसिंह बिष्टको यो पछिल्लो कदमले सो आरोपलाई पुष्टि पारेको छ । तस्करीको अड्डाको रुपमा कुख्यात बन्दै गएको यो क्षेत्रमा करोडौंको अबैध कारोबार हुने श्रोतको दाबी छ ।
कैलाली जिल्लाको धनगढीदेखि झण्डै २ किमीको दुरीमा रहेको यो नेपाल/भारत सीमावर्ती क्षेत्रमा रासायनिक मल, चामल, चिनी, सिमेन्ट लत्ताकपडा, हार्डवेयरका सामान, इलेक्ट्रोनिक पार्ट पुर्जा, कुखुरा, कखुरा चल्ला, मोटरसाइकल, हातहतियार, लागुऔषध तथा चरेसलगायतका अबैध सामानहरुको ट्रान्जिट पोइन्टको बदनामी कमाइरहेको यो क्षेत्रमा नेपाल प्रहरीका असइ लालसिंह बिष्टको यो पछिल्लो बयानले सबैको ध्यानाकर्षण गरेको छ ।
यस किसिमको घटनाले अहिले जनताको सेवा र सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरीको संगठनप्रति नै प्रश्न चिन्ह खडा भएको छ । के असई लालसिंह विष्टले जस्तै अन्य प्रहरी पोष्ट र कार्यालयका इन्चार्जले पनि तस्करहरुसँग रकम अशुल्छ ? या असई विष्टले मात्र तस्करहरुसँग रकम अशुल्ने गरेको हो ? यो कुरा स्पष्ट हुन जरुरी छ ।












प्रतिक्रिया