
– नरेश केसी
भैरहवा, २७ मंसिर । मुस्लिम धर्म दर्शनका प्रणेता पैगम्बर मोहम्मदको जन्म जयन्तीको अवसरमा खुशी प्रकट गर्दै मुस्लिम धर्मावलम्बीहरुले रुपन्देही सदरमुकाम भैरहवामा खुशी साटासाट गरेका छन् ।
मोहम्मदलाई विभिन्न रंगी बिरंगी प्लेकार्डमा शुभकामना सन्देश दिँदै हजारौँको संख्यामा सहभागीहरुले मुस्लिम धर्मका पिताप्रति श्रद्धा व्यक्त गरेका हुन् ।

उनको जन्म जयन्तीको अवसरमा हुस्सु र कुइरोले ढाकिएको भैरहवाको सडकमा शीतलहरको प्रवाह नगरी सोमबार एकाबिहानै बालबालिका तथा वृद्धहरु समेत नेपालको राष्ट्रिय झण्डा र मुस्लिम धर्मका विभिन्न सन्देश लेखिएका झण्डा एवं ब्यानर सहित सडकमा निस्किएको मुस्लिम समुदायका अगुवा इरफान वारिसले जनाए । भैरहवा बहुमुखी क्याम्पसका लेक्चरर समेत रहेका वारिसले भने “विश्व समुदायले अंगीकार गर्दै आएको महत्वपूर्ण मुस्लिम धर्म दर्शनका पिता मोहम्मद जयन्तीको अवसरमा भैरहवामा स्वतःस्फूर्त रुपमा हजारौँको संख्यामा मानिसहरु खुशी साटासाट गर्नु सकारात्मक सन्देश हो ।”

सन् ५७० मा मक्का हेजाज अरेबिया (हालको साउदी अरेबिया) मा जन्मिएका मोहम्मदको ८ जुन ६३२ मा मदिनामा देहावसान भएतापनि उनले प्रतिपादन गरेको धर्म, दर्शन र शिक्षाका कारण अहिलेसम्म उनी जीवन्त रहेको संस्कृतिविद् प्रा.डा. गितु गिरी बताउँछन् ।
मुस्लिम अगुवाका अनुसार नेपालको सामाजिक सहअस्तित्व कायम गर्न र आपसी भाईचारा अभिवृद्धिको लागि पैगम्बर मोहम्मदको सन्देश महत्वपूर्ण रहेको छ ।
मुस्लिम समुदायको सहभागितामा मदिनाको फोटो र सरकारकी आमद मरहवा, दिलदारकी आमद मरहवा, भनेर ठूलो ¥यालीसहित भैरहवामा बजार परिक्रमा गरिएको हो ।














प्रतिक्रिया