– सीताराम चौधरी
चन्द्रौटा (कपिलवस्तु), २४ मंसिर । कपिलवस्तुको शिवराज नगरपालिका-११ बालापुरकी ३४ वर्षीय लिला न्यौपाने पक्राउ परेकी छन् ।
जबरजस्ती चोरी मुद्धामा चारवर्षदेखि फरार रहेको भन्दै वडा प्रहरी कार्यालय चन्द्रौटाले न्यौपानेलाई विहीबार पक्राउ गरेको हो । २०६९ जेठ १२ गते कपिलवस्तु जिल्ला अदालतले न्यौपानेलाई जबरजस्ती चोरीमा ४ वर्ष १८ महिनाको कैद फैसला गरेको थियो ।
उनी जस्तै जिल्लाको शिवराज नगरपालिका ६, चन्द्रौटाका ५४ वर्षीय चन्द्रमणी ज्ञवालीलाई पनि प्रहरीले विहीबार पक्राउ गरेको छ । किर्ते कागजमा कैद मुद्धा लागेका ज्ञवालीलाई जिल्ला अदालतको पक्राउ पुर्जी अनुसार प्रहरीले पक्राउ गरेको हो । गत २०६१ बैशाख ३१ गते किर्ते कागज गरेको भन्दै उहाँलाई अदालतले ५० रुपैयाँ जरिवाना र एक वर्षको कैद फैसला गरेको थियो ।
जिल्ला अदालतले फरार अभियुक्त पक्राउ गर्न दिएको पक्राउ पुर्जी अनुसार प्रहरीले खोजअनुसन्धान अघि बढाएको थियो । प्रहरीको अनुसन्धानको दायरामा रहेका दुवैलाई वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक झविन्द्र भट्टराईले बताउनुभयो । पक्राउ परेका दुवैलाई कारवाहीका लागि जिल्ला अदालत तौलिहवाको जिम्मा लगाएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो ।
२०७३ असोज २७ गते कार्यालयको जिम्मेवारी सम्हाल्नुभएका प्रहरी निरीक्षक भट्टराईले चन्द्रौटा क्षेत्रमा हुने विभिन्न अपराधिक क्रियाकलापमा कमी ल्याउन सुरक्षा व्यवस्थालाई कडा बनाउनुभएको छ । सोही क्रममा विभिन्न अपराधिक घटनामा संलग्न अपराधीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
प्रहरी निरीक्षक भट्टराईको कार्यकालको दुई महिनामै विभिन्न घटनामा १३ अपराधी पक्राउ परिसकेका मुद्धा शाखाका प्रहरी नायब निरीक्षक विश्व सुवेदीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा एक सय रुपैयाँदेखि ४वर्ष कैद सम्मका अभियुक्तहरु रहेको प्रहरीले जनाएको छ । अझैपनि कैयौं मुद्धामा फरार रहेका अभियुक्तहरुको खोजीकार्य तथा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।













प्रतिक्रिया