काठमाडौं, १४ मंसिर । राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले कठिन चुनौति रहेका ठाँउहरुमा कुशलतापूर्वक जिम्मेवारी पूरा गर्न सैनिक अधिकृतलाई निर्देशन दिएकी छन् ।
मंगलबार राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ युएनमिस मिसन, दक्षिण सुडानमा तैनाथ हुन जाने रिपुमर्दन गण (शा.से.) सातौं डफ्फा र यूएनएसएमआईएल मिसन लिवियामा तैनाथ हुने जाने स्पेशल गार्ड युनिट (शा.से.) पहिलो डफ्फाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भएको प्रि डेप्लोमेन्ट तालिमको अन्तिम निरीक्षण गर्दै भण्डारीले कुशलतापूर्वक जिम्मेवारी पूरा गर्न सैनिक अधिकृतलाई निर्देशन दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको पहिलो पटक निरिक्षण भ्रमण गरेकी राष्ट्रपति भण्डारीले सम्बोधन गर्दै निकट भविश्यमा दक्षिण सुडान र लिवियामा शान्ति स्थापना कार्यका लागि जान लागेका फौजहरुलाई बधाई तथा शुभकामना दिनुको साथै उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिइन् । त्यस्तै उनले वीर सैनिकहरुले आर्जेको गौरवलाई कायम राख्दै निष्ठापूर्वक कार्य गर्नेमा आफू विश्वस्त रहेको बताउँदै नेपालको मान, सम्मान र इतिहासलाई विश्वमाझ पुर्याउन नेपाली सेनाले खेलेको भूमिका गौरव गर्न लायक भएको उल्लेख गरिन् ।
नेपालको परराष्ट्र नीति बमोजिम नेपाली सेनाले, नेपाल र नेपालीहरुको प्रतिनिधित्व गर्दै विश्व शान्तिको लागि विभिन्न द्वन्द्वग्रस्त स्थानहरुमा शान्ति सैनिकहरु तैनाथ गरी उल्लेख्य रुपमा योगदान दिंदै आइरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले लिवियामा पहिलो पटक फौज खट्टिन लागेकाले अन्य मिशनहरुमा जस्तै उक्त मिशनमा पनि नेपालको गरिमा कायम राख्ने गरी कार्य गर्न निर्देशन दिइन् ।
सोही अवसरमा रक्षामन्त्री बालकृष्ण खाँडले विश्वमा नेपालको परिचय स्थापना गर्न नेपाली शान्ति सैनिकहरुले ठूलो भूमिका खेलेको बताउँदै आगामी दिनमा समेत विश्व शान्तिप्रतिको नेपालको प्रतिबद्धतालाई कुशलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरे । नेपालको परराष्ट्रनीतिलाई व्यवहारिक रुपमा बहुराष्ट्रहरु सम्मिलित मिशनमा परिचित र स्थापित गर्न नेपाली शान्ति सैनिकहरुको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले शान्ति स्थापना कार्यका लागि आवश्यक सहयोग गर्न नेपाल सरकार सदैव तयार रहेको बताए ।
निरीक्षणको क्रममा राष्ट्रपति भण्डारीलाई वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिले केन्द्रको बारेमा जानकारी गराएको थिए भने दक्षिण सुडान र लिवियामा तैनाथ हुन जाने टोलीहरुद्वारा प्रस्तुत प्रि डिप्लोमेट तालिम अन्तर्गत डेमो तथा अभ्यासको राष्ट्रपति भण्डारीले अवलोकन गरेकी थिइन् ।
उक्त कार्यक्रममा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री, राष्ट्रपति कार्यालयका पदाधिकारीहरु, निमित्त रक्षा सचिव, नेपाली सेनाका रथीबृन्द, अधिकृत, सञ्चारकर्मीहरु लगायत सकलदर्जाको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया