१ कार्तिक २०८३, शनिबार

कतारमा अलपत्र परेका दश नेपाली स्वदेश फर्किए

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

quatar-ma-nepali– कुमार अविरल पन्थी

कतार, ११ मंसिर । कतारमा करिव ३ महिनादेखि अलपत्र परेका दश नेपाली स्वदेश फर्किएका छन् । दुर्इ जना गत सोमबार र ८ जना शुक्रबार स्वदेश फर्किएका हुन् ।

गुल्मी सेवा समाज कतारको पहल, नेपाली राजदूतावास कतारको विशेष सहयोग तथा झविन्द्र आचार्यको निरन्तर प्रयासमा दश जना पीडित नेपाल फर्किन पाएका छन् ।

मोरङका तिलक भुजेल, अम्बर थेगिंग, सुनसरीका अजय चौधरी, झापाका दीपेन ताजपुरिया, धनकुटाका रत्न भुजेल, नवलपरासीका भगवान गुप्ता, बिनोद चमार, रुपन्देहीका ओम प्रकाश पासी र गुल्मीका गंगाबहादुर थापा, वीरबहादुर बिक बिगत ३ महिनादेखि कम्पनी मालिक फरार भएपछि अलपत्र परेका थिए ।

तिलक भुजेल र अम्बर थेगिंग गत सोमबार नै नेपाल फर्किएका छन् । बाँकी ८ जनालाई कानूनी प्रकृया पूरा गरी उनीहरुले पाउनु पर्ने क्षतिपूर्तिको व्यवस्था मिलाएर गत शुक्रबार स्वदेश पठाइएको झबिन्द्र आचार्यले बताए ।

पीडितलाई न त अल वाजिर कम्पनीले नै टिकट दियो नत मेनपावरले नै आचार्य आफूले नै दश जनाको टिकटको ब्यबस्था मिलाएर स्वदेश पठाएका थिए ।

नेपालबाट कतार आउँदा मेनपावर कम्पनी र एजेन्टले लिएको सबै पैसा फिर्ता हुने व्यवस्था मिलाएर पीडितहरु नेपाल फर्किएपछि उनीहरुले पाउनु पर्ने क्षतिपूर्ति मेनपावर कम्पनीले दिएको पीडितहरूले जनाएका छन् ।

अल वाजिर कम्पनीका मालिकले दश जनालाई केही दिनभित्र कम्पनीबाट पाउन पर्ने रकम र घर फिर्तीका लागि टिकट उपलब्ध गराउने बताए पनि उनलाई फोन सम्पर्क गर्न खोज्दा विभिन्न बाहाना बनाएर पुनः सम्पर्क बिहीन बनेका थिए ।

काठमाडौंको बसुन्धरास्थित ग्लोबल डाइनामिक मेनपावरबाट पाँच जना एक वर्षअघि र पाँच जना छ महिनाअघि मासिक १००० र २०० तलबमा कतार आएका थिए ।

कम्पनी र मेनपावरवीच समन्वय गर्ने दीपु भन्नेले उक्त कम्पनीमा काममा लगाएका थिए । अहिले दीपु पनि सम्पर्क बाहिर रहेका छन् ।

अलपत्र परेका पीडितहरुलाई खाना समस्या परेपछि निरन्तर रुपमा गुल्मी सेवा समाज कतारले खाद्यान्न सहयोग गरेको थियो । कतारमा स्थापित अन्य सामाजिक संस्थाले पनि उनीहरुलाई राहत उपलब्ध गराएका थिए ।