काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी भित्र आफ्नो गुटलाई कमजोर बनाउन अर्का नेता कृष्णप्रसाद सिटौलाले भूमिका खेलेको भन्दै सभापति शेरबहादुर देउवासँग आफ्नो अस्तित्व बचाई दिन भन्दै शरणमा परेका छन् ।
पार्टी महाधिवेशनमा सिटौलाले आफूलाई सभापतिमा हराई दिएको आरोप लगाउँदै आएका पौडेललाई नेविसंघ र महिला संघको निर्वाचनमा सिटौलाले निर्वाचनबाटै तेश्रो सानो समूहमा पुगाएपछि पौडेल हालै सम्पन्न तरुण दल महाधिवेशनमा सभापति देउवाको शरणमा पुगेका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
नेविसंघमा पौडेल समूहले सिटौला र देउवा समूहको तुलनामा थोरै सिटमा मात्र बिद्यार्थीले चुनाव जितेको थियो भने सिंगो महिला संघमा एक सिट मात्र हासिल गरेको थियो । महिला संघमा सिटौला समूहका २२ उम्मेदवारले महामन्त्रीसहित सदस्य पदमा विजय हासिल गरेपनि पौडेल प्यानलबाट एक जना कल्याणी रिजाल मात्र केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् ।
पौडेलले नेविसंघ र महिला संघमा सिटौला समूहलाई दिएजति सख्या आफुलाई दिए, निर्वाचनमा प्रतिष्पर्धा नै नगर्ने र सर्वसम्मत गर्ने वाचा गरेका थिए । देउवाले सर्वसम्मत गर्दा केही सिट त सिटौलालाई दिनु पर्ला नि भन्दा पौडेलले आफूलाई जति पदाधिकारी वा केन्द्रीय सदस्य दिए पनि हुने भनेर प्रस्ताव लगेका थिए । पौडेलको शरणलाई मरण गर्नु हुन्न भन्ने बुझेका सभापति देउवाले उनको प्रस्तावलाई तिहार अघि र पछिको भेटमा स्वीकार गरे । तर, जव सर्वसम्मतबाट पौडेल समूहलाई पनि ३० प्रतिशत सिट दिने उदारता सभापति देउवाले देखाए तव पौडेलले उनैलाई अप्ठ्यारोमा पारे ।
सर्वसम्मतले नेतृत्व चयन गरेपनि निर्वाचनमै जाने सिटौला समूहको अडानले देउवालाई अप्ठ्यारोमा पु-याएको थियो । देउवाले सिटौलासँगको भेटमा ‘पौडेलले मान्दै मानेन, यस पटक तपाईँलाई १५ प्रतिशत दिन्छु’ भनेर आग्रह गरेका थिए ।
देउवाको यस्तो आग्रहबाट चिढिएका नेता सिटौलाले ‘पार्टीको १३ औं महाधिवेशन, नेविसंघ र महिला संघको महाधिवेशनमा समेत आफूले गरेको सहयोग, सहकार्य र गठबन्धनलाई स्मरण नगर्ने र हामीलाई भित्तामा पु¥याउन खोजेको हो भने भविश्यमा तपाईँसँग कहिल्यै सहकार्य हुँदैन’ भन्ने जवाफ दिएका थिए । देउवा–सिटौलाको मंगलबार राति राष्ट्र वैंकमा भएको भेटको जानकारी दिँदै एक सहभागीका अनुसार सिटौलाको जवाफपछि देउवाले हातै जोडेर भनेका थिए ‘सिटौलाजी यस पटकको लागि माफी दिनुहोस्, मलाई मेरै साथि र रामचन्द्रले सहमति मान्छु भनेर अप्ठयारोमा पारे अवदेखि तपाइँको चित्त दुखाउँदिन ।’
सभापति देउवाको अनुनय र आग्रहपछि सिटौलाले पनि पार्टी यूवा नेताहरु गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरीसँग सभापतिको अनुरोध बमोजिम एक पटक छोडिदिउँ भन्ने प्रस्ताव गरेका थिए । नत्र उनले आफूहरु चुनावकै पक्षमा रहेको भन्दै तरुणलाई आमरण अनसनको लागि तयारी हालतमा राखेका थिए ।
यता, रामचन्द्र पौडेल निर्वाचनमा गए देउवासँग मिलेर पनि सिटौला समूहलाई पराजित गर्न सकिन्न भन्ने निष्कर्ष सहित निर्वाचनको विपक्षमा उभिएका थिए । त्यसैले उनले आफ्नो गुटका नेताहरु महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. रामशरण महत लगायतलाई कन्भिन्स पनि गरे ।
आफ्नो गुटका तरुणहरुलाई सर्बसम्मतबाट पदाधिकारीसहित ४० प्रतिशत सिट भागमा पार्ने ति नेतालाई दिएका थिए । पौडेलले सभापति देउवासँग राम्रो डिल गरेका रहेछन् भनेर मक्ख परेका ति नेताहरु जव हिस्स परे जतिखेर पौडेलले एउटा महामन्त्री पदमा आफ्ना अनुचर कालिकोटका भूपेन्द्रजंग शाहीको नाम पठाए । त्यसअघि पौडेलले तीनै जना नेतालाई उपाध्यक्ष, कोषाध्यक्ष र महामन्त्रीमा यूवा जुझारुको नाम सिफारिस गर्न भनेका थिए ।
आफ्नो गुटको नेता पौडेलले दिएको आश्वासन अनुसार महामन्त्री कोइरालाले बीपीका नाती सिद्धार्थ कोइराला, प्रकाशमानले गणेशमानका नाती, आफ्नै छोरा प्रभासमान सिंह र डा. महतले भजित रमेश महतको नाम तरुण दल पदाधिकारीमा सिफारिस गरे । तर, पौडेलले कोइराला, सिंह र महत तिनैजनालाई झुक्याएर शाहीलाई मात्र पदाधिकारीमा सिफारिस गरेका थिए ।
पौडेलले आफ्नो गुटमा तरुण दलका आकांक्षीलाई मिलाउन समस्या हुने भन्दै उपाध्यक्ष पद ४ र सचिव ७ बनाउन प्रस्ताव गरेका थिए । पौडेलको त्यस्तो प्रस्तावमाथि सिटौला समूहले आफुहरुलाई महामन्त्री दिए स्वीकार्य हुने नत्र निर्वाचनमा जाने आडान राखेको थियो ।
निर्वाचनमा जाँदा आफ्नो गुटको सर्मनाक हार हुने देखेर पौडेलले देउवालाई आफ्नो गुटबाट कोही पनि सभापतिमा उम्मेदवार नहुने भन्दै राजनीतिक रुपमा आत्मसमर्पण गरेका थिए । पौडेलको देउवाप्रति समर्पणलाई डा. शेखर कोइरालाहरुले निकै असन्तुष्टि व्यक्त गरेका छन् ।
पौडेलले धोका दिएको भन्दै यतिवेला प्रकाशमान सिंह, सशांक र रामशरणले उनलाई नेता नमान्ने सम्मको धम्की दिएका छन् । पौडेलको कार्यशैलीप्रति यसअघि नै डा. शेखर कोइराला, बलबहादुर केसी, आनन्दप्रसाद ढुंगानालगायतले असन्तुष्टि जनाई सकेका छन् ।














प्रतिक्रिया