काठमाडौं, १ मंसिर ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रभावकारी मानिएका नेता खुमबहादुर खड्काबीच प्रारम्भिक चरणको सहमति भएकोले अब कांग्रेस कार्यसमितिले छिट्टै पूर्णता पाउने सम्भावना देखिएको छ। प्राप्त समाचारअनुसार गत साता (कात्तिक २५ गते) सभापति देउवा र नेता खड्काबीच निर्णायक वार्ता भएको थियो। संवादका क्रममा पूर्वसहमति बमोजिम आफूलाई उपसभापति बनाउनुपर्ने धारणा खड्काले प्रकट गरेपछि देउवाले बाह्य दबाबका कारण तत्काल उपसभापति बनाउन अप्ठ्यारो परेको भनी स्पष्ट जवाफ दिएका थिए।
त्यसबाहेक खड्काको सिफारिसमा तत्काल तीनजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिने र सङ्ख्या बढाएपछि अन्य तीनजनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने प्रस्ताव पनि सभापति देउवाले राखेका थिए। देउवाले उपसभापतिको सङ्ख्या थप गर्न सकेको अवस्थामा भने आफू ‘तपाई (खड्का) लाई नै उक्त पदमा चयन गर्न तयार भएको’ भनी प्रतिबद्धता जनाएको समाचार सुत्रको भनाई छ। सभापति देउवाले आफूामाथि आइपरेको दबाब र आफ्ना अप्ठ्याराहरु खुलस्त ढङ्गले राखिसकेपछि खड्काले उनिसंग विवाद गर्न नचाहेको र देउवाको प्रस्तावमा सहमति जनाएको बुझिएको छ। कांग्रेस सम्बद्ध सुत्रले जनाएअनुसार खुमबहादुर खड्काले लोकप्रिय नेता पूर्ण बहादुर खड्काको नाम महामन्त्रीमा प्रस्ताव गरेको र पूर्णको नाममा देउवाले सहमति जनाइसकेका छन्। आजको घटना र विचार साप्ताहिकमा खबर छापिएको छ।















प्रतिक्रिया