मस्को, ३० कात्तिक । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार साँझ टेलिफोन वार्ता भएको क्रेमलिनले जानकारी दिएको छ ।
दुई शक्तिराष्ट्रका नेताबीच भएको टेलिफोन कुराकानीमा अमेरिका र रसियाबीच चिसिएको सम्बन्धलाई सामान्यीकरण गर्ने विषयमा वार्ता भएको पनि क्रेमलिनले बताएको छ । क्रेमलिनका अनुसार निकट भविष्यमै भेटवार्ता हुने विषयमा पनि दुई नेताबीच सहमति भएको छ ।
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयपछि ‘ऐतिहासिक विजय’को संज्ञा दिँदै टेलिफोनमार्फत पुटिनले ट्रम्पलाई बधाई दिनुभएको वासिङगटनद्धारा जारी विज्ञप्तिमा जनाइएको थियो ।
ट्रम्पले चुनावी अभियानको क्रममा गर्नु भएको बाचाहरु पूरा गर्नु हुने कामनासमेत पुटिनले गर्नु भएको क्रेमलिनले जानकारी दिएको छ ।
यी दई नेताबीचको टेलिफोन वार्तामा अन्तर्राष्ट्रिय आतङ्कवाद र अतिवादीको विरुद्धमा लड्न संयुक्त प्रयास जारी राख्ने विषयमा पनि सहमति भएको.क्रेमलिनले जानकारी दिएको छ । त्यसैगरी सिरियाको द्वन्द्व समधानको विषयमा पनि यी दुई नेताबीच छलफल भएको बताइएको छ ।
दुबै देशले सामाना गर्र्दै आएको आर्थिक मुद्दालगायत अमेरिका र रुसबीचको दुई सय वर्षदेखिको ऐतिहासिक सम्बन्धको विषयमा पनि छलफल भएको छ ।
ट्रम्पले पुटिनलाई रसिया र रसियाली जनतासँग चिरस्थाई सम्बन्ध कायम हुने पखाईमा आफू रहेको बताउनुभएको वासिङ्गटनद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस/एएफपी
















प्रतिक्रिया