काठमाडौं, ३० कात्तिक । मादक पदार्थ सेवन गरेर मात्र होइन, गाँजालगायत लागुऔषध सेवन गरेर सवारी चलाउनेलाई पनि प्रहरीले कारबाही गर्न थालेको छ ।
मदिराभन्दा लागुऔषध सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको सम्भावना अझ बढी हुने भएकाले प्रहरीले उनीहरूलाई पनि कारबाही गर्न थालेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
नगरकोट सडक क्षेत्रमा गाँजा सेवन गरेर सवारी चलाउनेको संख्या धेरै रहेको खुलेपछि प्रहरीले कारबाही गर्न थालेको हो ।
‘धेरैले गाँजा सेवन गरेर सवारी चलाउने र दुर्घटनामा पर्ने गरेको देखियो,’ महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी प्रमुख एसपी किरण बज्राचार्यले भनिन्, ‘गाँजा खाएर सवारी चलाउनेलाई पनि हामीले पक्राउ गरी कारबाही गर्न थालेका छौँ ।’
काठमाडौं उपत्यकाका धेरै युवायुवती गाँजा तथा अन्य लागुऔषध सेवन गर्न नगरकोट पुग्ने गरेको खुलेको छ । लागुऔषधमा लट्ठिएर उनीहरू सवारीसाधन चलाएर फर्कने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
हाल एक दिन थुनेर अभिभावकलाई जिम्मा लगाइएको एसपी बज्राचार्यले बताइन् । लागुऔषध सेवनकर्तालाई लागुऔषध मुद्दामा छुट्टै कारबाहीसमेत हुन सक्छ ।
नगरकोट क्षेत्रमा जाने युवायुवतीमाथि प्रहरीले निगरानी बढाएको छ । नगरकोटका कतिपय होटेलकै कर्मचारीले गाँजा बिक्री गर्ने सूचना प्रहरीले पाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङ र चितवनका राजमार्गछेउका पसलमा चालकलाई लक्षित गरी गाँजा बिक्री हुने गरेको छ ।
धादिङ तथा मकवानपुरआसपासमा धेरै गाँजा बिक्री हुने भएकाले राजमार्गआसपासका होटेल तथा पसल सञ्चालकले गाँजाको समेत कारोबार गर्दै आएका छन् ।
राजमार्गमा सवारी चलाउनेहरू गाँजाको नियमित ग्राहक भएको प्रहरील अनुसन्धानले देखाएको छ । पृथ्वी राजमार्र्गमा हुने दुर्घटनाको एउटा कारण लागुऔषध सेवन गरेर सवारी चलाउनु पनि हो ।














प्रतिक्रिया