काठमाडौं, ३० कात्तिक । देशका झन्डा बोकेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई प्रशिक्षक राजु बस्न्यातले दुर्व्यवहार गरेको आरोप लागेको छ ।
हङकङमा सम्पन्न आइसिसी विश्वकप महिलाअन्तर्गत एसिया छनोटमा सहभागी हुन गएका नेपाली खेलाडीले नै प्रशिक्षकविरुद्ध लिखित उजुरी दिएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
हङकङको प्रतियोगितामा सहभागीमध्ये ६ खेलाडी (हामीले नाम गोप्य राखेका छौँ)ले उजुरी गरेपछि राष्ट्रिय खेलकुद परिषद्ले छानबिन सुरु गरेको छ ।
सदस्यसचिव केशवकुमार विष्टलाई सम्बोधन गरी आएको उजुरीमाथि क्रिकेट समन्वय समितिले छानबिन गरिरहेको छ ।
विष्टले छानबिन गरी प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिइसकेका छन् ।
विष्टले छानबिन भइरहेको र दोषीमाथि कारबाही हुने बताए । ‘मैले सुन्नचाहिँ सुनेको छु, क्रिकेट समन्वय समितिलाई घटनाबारे बुझेर प्रतिवेदन बुझाउन निर्देशन दिइसकेको छु,’ विष्टले भने, ‘समितिले छिटै छानबिनको प्रतिवदेन बुझाउनेछ । कोही दोषी भए तत्कालै कारबाही हुनेछ ।’
आरोप
१. महिला टोलीकी एक सदस्यलाई जबर्जस्ती मदिरा खुवाएको र सुतिरहेको अवस्थामा यौन दुर्व्यवहारको प्रयास गरेको
२. घटनापछि राति नै अन्य खेलाडीले मुख्य प्रशिक्षक बस्न्यातसँग झगडा गरे, झगडाकै क्रममा प्रशिक्षकबाट एक खेलाडीलाई आक्रमण प्रयास गरेको
३. वादविवाद हुँदा प्रशिक्षकद्वारा खेलाडीलाई अश्लील गालीगलौज गरेको
४. टोलीकै अर्की एक खेलाडीलाई पनि मदिरा खुवाई पटक–पटक यौन दुर्व्यवहारको प्रयास गरेको














प्रतिक्रिया