१९ कार्तिक २०८३, बिहिबार

शक्तिपीठ शैलेश्वरी र उग्रतारामा मेला लाग्दै

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shaileshori-mandir– झलक पाली

डोटी, २९ कात्तिक । सुदूरपश्चिमका दुई प्रसिद्ध धार्मिक शक्तिपीठ शैलेश्वरी र उग्रतारामा सोमबार भव्य मेला लाग्दैछ ।

सुदूरपश्चिमाञ्चल क्षेत्रको प्रसिद्ध धार्मिक, साँस्कृतिक एवं पर्यटकीय महत्व बोकेका डोटी सदरमुकाम सिलगढीमा अवस्थित शैलेश्वरी र डडेल्धुरामा अवस्थित उग्रतारा मन्दिरमा प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्दछ ।

स्थानीय पञ्चेबाजा र आफ्नै मौलिक विशेषताहरु सहित दुवै ठाउँमा मेला लाग्ने गर्दछ ।

शैलेश्वरीमा प्रत्येक १२ वर्षमा लख्यहोम तथा १ सय ४४ वर्षमा कोटीहवन महायज्ञ लाग्ने गर्दछ भने दुवै मन्दिरमा नित्य पूजा हुने गर्दछ ।

भगवान शिव र माता पार्वतीले आफ्नो विवाह पश्चात मधुचन्द्रिकाका निम्ति डोटी जिल्लामा अवस्थित रमणीय चन्द्रागिरी पर्वत हालको सिलगढीलाई रोजेको बताइन्छ ।

ब्रम्हा, विष्णु लगायत विभिन्न देवताहरु भगवान शिवको खोजी गर्दै यहाँ आई पुग्दा माता पार्वतीले देवताहरुलाई देखेर लज्जा स्वरुप विलिन हुँदा शिला बनेको हुनाले त्यसै बेलादेखि यसलाई शिलादेवी अर्थात शैलेश्वरी देवी भनेर भनिएको बताइन्छ ।

शिव र पार्वतीले शयल खेल्न आएको हुँदा शयलगढी हुँदै पछि आएर सिलगढी भन्न थालिएको एकथरीको भनाई पनि रहेको छ ।

शैलेश्वरी भगवतीको नित्य पूजा स्थानीय सिलगाउँ निवासी भट्ट परिवारका ब्राह्मणद्वारा गरिन्छ भने विभिन्न बाह्र गाउँका बाह्र बराला (शैलेश्वरीको कामको जिम्मा पाएका बाह्र गाउँका बासिन्दा) तोकिएको छ ।

त्यस्तै किंवदन्ती अनुसार परापूर्वकालमा स्थानीय साँकी थरका एक किसानले हलो जोत्ने क्रममा हलो अड्किएको र त्यसै ठाउँबाट रगत निस्किएपछि हलिले आफुले खानका लागी ल्याएको खिचडीले टालेर रगत रोकेपछि उग्रतारा देवीको उत्पत्ती भएको मानिन्छ ।

यिनै विश्वासकासाथ शैलेश्वरी र उग्रतारा माताको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको पाईन्छ ।

शैलेश्वरी र उग्रताराको मेला भर्न सुदूरपश्चिम क्षेत्रका प्रायः नौ वटै जिल्लाका साथै काठमाण्डौ र भारतबाट समेत हजारौं दर्शनार्थीहरु आउने गर्दछन् ।