१९ कार्तिक २०८३, बिहिबार

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन, आइतबार सबै अदालतमा बिदा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

govinda-shrestha-judge

काठमाडौँ, २७ कात्तिक । पूर्वप्रधानन्यायाधीश गोविन्दबहादुर श्रेष्ठको आज निधन भएको छ ।

ब्रेन ट्युमरको उपचार गरिरहनुभएका ७७ वर्षीय श्रेष्ठको आज उहाँकै निवास ललितपुरको सुनाकोठीमा निधन भएको हो । ब्रेन ट्युमर भएपछि केही समयअघि उहाँको भारतको मेदान्त अस्पतालमा शल्यक्रिया गरिएको थियो ।

न्यायमा पहुँच बढाउन सकियोस्, जनतामा न्याय पारौँ भन्ने भावना राख्ने श्रेष्ठमा एउटा सज्जन व्यक्तिमा हुनुपर्ने सबै गुण भएको व्यक्तिका उहाँले न्याय क्षेत्रमा परिचय बनाउनुभएको थियो । उहाँले विसं २०६०/६१ मा नौ महिना सर्वाेच्च अदालतको नेतृत्व सम्हाल्नु भएको थियो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । उहाँप्रति श्रद्धाञ्जलि प्रकट गर्न प्रधानन्यायाधीश सुशीला कार्की पशुपति आर्यघाट पुग्नुभएको थियो ।

सर्वाेच्च अदालतका न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, उच्च अदालत, विशेष अदालत र जिल्ला अदालतका न्यायाधीश पनि आर्यघाट पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । आर्यघाटमा प्रहरीको एक टोलीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । उहाँका एक छोरा र तीन छोरी हुनुहुन्छ ।

यसैबीच प्रधानन्यायाधीश कार्कीको अध्यक्षतामा आकस्मिक रुपमा बसेको सर्वाेच्च अदालतको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश श्रेष्ठको असामयिक निधनप्रति आइतबार सर्वाेच्च अदालत र मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको प्रवक्ता नहकुल सुवेदीले जानकारी दिनुभयो । रासस