काठमाडौं, २७ कात्तिक । मान्छे हराएको भन्दै खोजिदिन उपत्यका प्रहरीमा दैनिक दुई–तीनवटा उजुरी पर्छन् । तर, सबै घटना गम्भीर किसिमका हुँदैनन् ।
कोही प्रेमीसँग घुम्ने जाने त कोही विवादले घुर्की देखाउन घर छाडेर सम्पर्कविहीन हुने गर्छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
मिहिनेत गरेर अनुसन्धान गर्दा हराएका भनेका व्यक्ति मस्ती गरिरहेको अवस्थामा भेटिन्छन् । त्यसकारण प्रहरीले मान्छे हराएका सबै घटनालाई गम्भीरताका साथ हेर्दैन ।
कुनै घटना शंकास्पद लाग्यो भने मात्र त्यसमा गम्भीर अनुसन्धान हुन्छ । गत १३ कात्तिकमा महानगरीय अपराध महाशाखामा सिन्धुपाल्चोक महाकांल घर भई नारायणस्थान डेरा गरी बस्ने सन्तोष नेपाली ‘एलिसा’ हराएको भन्दै उनको परिवारसहित उजुरी लिएर गए । पूर्वप्रेमीलाई भेट्न भनेर हिँडेकी उनी तीन दिनदेखि हराएकी थिइन् ।
उनी कतै घुम्न गएको हुन सक्ने प्रहरी आशंका थियो । तर, २० कात्तिकमा हराएकी भनिएकी युवतीको शव भेटिएपछि प्रहरीको तनाव बढ्यो । भक्तपुरको बोडेस्थित सडकछेउको झाडीमा प्रहरीले बोराभित्र शव फेला पारेको थियो । शव दुर्गन्धित भइसकेको थियो ।
पहिलो दिन त प्रहरीले शवको सनाखत नै गर्न सकेन । भोलिपल्ट हराएका व्यक्तिको विवरणका आधारमा त्यो शव एलिसाको भएको निष्कर्ष निकाल्यो ।
हराएकी भनिएकी एलिसाको हत्या गरेर बोरामा शव फालिएको थियो । पूर्वप्रेमीलाई भेट्न गएकी एलिसाको कसले हत्या ग-यो ? प्रहरीले २१ गते शवको सनाखत गरी अनुसन्धान अघि बढायो ।
यसरी समातिए प्रेमी
एलिसाको खोजी गरिदिनुपर्यो भन्दै प्रहरी कार्यालयमा पुगेका उनका प्रेमी रेशम भनिने मुक्तिनाथ लामिछानेलाई पनि प्रहरीले शंकाको घेरामा राख्यो । त्यसपछि प्रहरीले एलिसाका बुबालाई बालायो । ‘डेढ करोड माग्दै धम्क्याउने व्यक्तिको स्वर कतै सुनेको जस्तो लाग्छ ?’ प्रहरीले उनलाई सोध्यो । उनले नचिनेको बताए ।
त्यसपछि एलिसाका पूर्वप्रेमी श्याम श्रेष्ठ र पछिल्ला प्रेमी लामिछानेको स्वर तुलना गरेर सुनाए । धम्क्याउने स्वर लामिछानेको स्वरसँग मिल्दोजुल्दो रहेको उनले बताए । त्यसपछि प्रहरीलाई उनीमाथि थप शंका लाग्यो र फोन ग¥यो । उनको मोबाइल अफ भइसकेको थियो ।
प्रहरी उनको खोजीमा लाग्यो । २२ कात्तिकको बेलुका उनको घरमा पुग्यो । तर, उनी घरमा थिएनन् । मोबाइल पनि अफ थियो । परिवारका सदस्यले उनी कहाँ रहेको भन्ने थाहा नभएको बताए । पछि, उनी च्यामासिंहस्थित ठुलीआमाको घरमा रहेको खुल्यो ।
परिवारका एक सदस्यलाई लिएर प्रहरी त्यहाँ पुग्यो । मध्यरात भइसकेको थियो । च्यामासिंहमा लामिछानेको ठुलीआमाको घरमा प्रहरी पुगेलगत्तै एक युवक घरको छतबाट हाम फाले । प्रहरी सजग भए, आफ्नो पेस्तोल कक गरे ।
आफूमाथि आक्रमण गर्न सक्ने भएकाले प्रहरीले चनाखो भएको थियो । घरछेउको परालको थुप्रोमा एक युवक लुकेर बसिरहेका थिए । उनी नै एलिसाका प्रेमी लामिछाने थिए । ‘किन भाग्न खोजेको ?’ प्रहरी अधिकारीले उनलाई सोधे । सुरुमा उनी केही बोलेनन् । पछि, आफैँले एलिसाको हत्या गरेको स्वीकार गर्दै सबै कहानी प्रहरीलाई बेलीबिस्तार लगाए ।
आवेगमा हत्या
गत १० साउनमा लामिछानेले नै प्रेमिकालाई गोपीकृष्ण हलमा फिल्म हेर्न चाबहिल बोलाएका थिए । नारायणस्थानस्थित कार्यालयबाट एलिसा चाबहिल पुगिन् । उनीहरूले फिल्मचाहिँ हेरेनन्, दुवैजनाले चिया खाए । चिया खाएपछि लामिछानेले आफ्नो घर जाने प्रस्ताव राखे । युवती तयार भइन् । दुवैजना बोडेस्थित घर पुगे । घरमा पुगेर लामिछानेले आफैँ चिया बनाएर एलिसालाई दिए, आफूले पनि पिए ।
एलिसा वैदेशिक रोजगारीमा जाने तयारीमा थिइन् । त्यसका लागि लामिछानेसँग ४० हजार रुपैयाँ सापटी लिएकी थिइन् । सोही पैसाको विषयमा उनीहरूबीच कुरा भयो । कुराकानीको बीचमा उनका पूर्वप्रेमी श्याम श्रेष्ठको प्रसंग जोडियो । पूर्वप्रेमी श्याम श्रेष्ठसँग पनि उनले विदेश जान भनेर पैसा लिएकी थिइन् ।
‘विदेश गएपछि पहिला श्यामको पैसा तिर्छु, त्यसपछि तिम्रो त जहिले दिए पनि भइहाल्छ नि,’ युवतीको यही भनाइपछि उनीहरूबीच झगडा सुरु भयो । आफूभन्दा पूर्वप्रेमीप्रति माया देखाएपछि लामिछानेले आफ्नो रिस नियन्त्रण गर्न सकेनन् ।
त्यही विषयमा उनीहरूबीच भनाभन भयो । एलिसाले उनलाई गाली गरिन् । उनीहरूबीच कुटाकुट भयो । त्यसपछि उनले भ¥याङमा रहेको गुन्द्री बुन्ने हतासो ल्याएर एलिसामाथि आक्रमण गर्न थाले । रिसको आवेगमा उनले प्रेमिकाको ज्यान नै लिए ।















प्रतिक्रिया