काठमाडौं, २५ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) निकट राष्ट्रिय युवा जनस्वयंसेवकले कात्तिक २७ गतेदेखि देशभर भ्रष्टचारीहरूको आश्रयस्थल खोजी गरी भण्डाफोर अभियान चलाउने चेतावनी दिएको छ ।
‘राष्ट्रका लागि युवा’ नामको अभियान चलाएर युवा संगठनले देशभरका भ्रष्टहरूको आश्रयस्थल खोजी सामाजिक कारवाही गर्ने भएको हो ।
अध्यक्ष झकबहादुर मल्लले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अभियानको घोषणा गरेका हुन् । नेकपा (माओवादी) ले आयोजना गरेको नेपाल बन्दको अघिल्लो दिनबाटै युवाले थाल्ने अभियानले बन्दलाई पनि बल पुग्ने विश्वाससहित आयोजना गरिएको युवा संगठनको भनाई छ ।
अध्यक्ष मल्लका अनुसार खाद्य सम्प्रभुतालाई सुनिश्चित गर्न अखाद्य सामाग्री वितरण गर्ने, चर्को मूल्यमा विक्री गर्ने एवं कमिशनखोरहरूका भण्डारण खोजी गरेर सामाजिक कारवाही हुनेछ ।
खाद्य निर्यातमा अनुगमन गर्ने र अखाद्य बस्तु विक्री गर्नेलाई नियन्त्रणमा लिएर जनतामाझ भण्डाफोर गर्नु अभियानको मुख्य उद्देश्य रहेको अध्यक्ष मल्लको चेतावनी थियो ।
विप्लव माओवादीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयंसेवकको सम्पन्न केन्द्रीय समितिको बैठकले अभियान पूर्णतः जनताको सेवामा समर्पित रहने र अभियानमा काठमाडौं उपत्यका सफाइ गर्ने कार्यमा केन्द्रित गर्ने निर्णय गरेको छ ।
उपत्यकामा रहेको ट्राफिक जाम हटाउने, फुटपाथ व्यवस्थित गर्ने, सार्वजनिक तथा सरकारी सेवालाई सहज गराउने जस्ता कार्य अभियानका प्राथमिक कार्यभित्र पर्ने उक्त संगठनले जनाएको छ ।
नेपाल र नेपाली जनताको अवस्था दिनानुदिन संकटग्रस्त बन्दै गइरहेकोले भ्रष्टाचारीहरूका आश्रयस्थल पत्ता लगाई सार्वजनिक र भण्डाफोर गर्ने, राष्ट्रघात र जनविरोधि क्रियाकलापको भण्डाफोर गर्ने, जस्ताकार्य अभियानको मूख्य उद्देश्य हो,’ मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
मुलुक भ्रष्टाचार, कमिसन, कालोबजारी व्यापक बन्दै गइरहेको बेला आफ्नो अभियानमा आम जनता बौद्धिक वर्गले साथ र सहयोग हुने आशा गरेको बताएको छ ।
सामाजिक र साँस्कृतिक मुल्य मान्यता धाराशायी बन्दै गइरहेका बेला छन् । ‘वेरोजगारीका कारण हजारौं युवाहरु दैनिक रुपमा विदेशिन बाध्य भइरहेका छन् । महंगीले आकाश छुँदै गएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसरी देश र जनताको भविष्य अन्यौलता तिर, अप्ठयारो दिशातिर गइरहेको छ, यस्तो स्थितिमा सहयोग पाउने आशा हामीले लिएका छौं ।’












प्रतिक्रिया