काठमाडौँ, २५ कात्तिक । नेकपा (एमाले) का सचिव भीम आचार्यले देश तथा जनताको हितमा गरिने संविधान संशोधनको पक्षमा आफ्नो पार्टी रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा सचिव आचार्यले अङ्गीकृत नागरिकलाई राष्ट्रको महत्वपूर्ण स्थानमा लैजाने तथा हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने प्रयोजनका लागि संविधान संशोधन गर्न नसकिने स्पष्ट गर्नुभयो ।
उहाँले सीमाङ्कनका लागि आयोगले दिने प्रतिवेदनका आधारमा अगाडि बढ्नुपर्ने सुझाव दिँदै सरकारले स्थानीय निकाय वा तहको निर्वाचनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले संविधान समयसापेक्ष रुप परिवर्तन हुँदै जाने मुलुकको कानुन भएकाले संविधानप्रति असन्तुष्ट दल तथा पक्षलाई सम्बोधन गर्न सकिने बताउनुभयो ।
उहाँले अहिलेको संविधानले सबै मातृ भाषालाई राष्ट्रिय भाषाको दर्जा तथा देवनागरी लिपिलाई काम कारबाहीका लागि माध्यमका रुपमा मान्यता दिएकाले त्यसमा विवाद गर्न आवश्यक नरहेको विचार व्यक्त गर्नुभयो ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारले मधेसी जनताको भावनालाई सम्बोधन गर्न चाँडो संविधान संशोधनको प्रस्ताव ल्याउनुपर्ने बताउनुभयो । रासस












प्रतिक्रिया