काठमाडौं, २५ कात्तिक । नेपालमा सामसुङ मोवाइलको आधिकारीक विक्रेता दीपक मल्होत्राको नाम नसुन्ने सायद कमै होलान् ।
बानेश्वरमा रहेको लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न पुगेका सर्वोच्च अदालतका कर्मचारीले त्यहाँ मल्होत्राको कार्यालय रहेको त्यतिबेला पत्तो पाए, जतिखेर उनीहरुमाथि आइलागेका थिए त्यहाँ कार्यरत कर्मचारीहरु ।
लोकमानको उक्त घर मासिक पाँच लाख भाडा तिर्ने गरी मल्होत्राले प्रयोग गर्दै आएको खुलेको छ । लोकमानका ज्वाँई प्रवल थापाले मल्होत्राका कर्मचारीलाई उचालेर म्याद तामेली हुन दिएका थिएनन् । यूनाइटेड पोष्ट दैनिकले समाचार छापेको छ ।
लोकमानको घर भाडामा लिएर सामुसुङ मोवाइल विक्री गर्ने आवरणमा विभिन्न अवैध धन्दा चलाउँदै आएका तिनै मल्होत्रा भने लोकमानलाई जोगाउन कांग्रेस, एमाले र माओवादीका नेताहरुलाई प्रभावमा पार्न तल्लिन छन् ।
विवादास्पद व्यापारी मल्होत्रा सरकारी रकम दुरुपयोग काण्डमा पनि मुछिएका थिए । राजस्वमा समेत अपचलनको आरोप खेप्दै आएका मल्होत्राले सरकारी रकम लिएर नतिरेपछि उनको तीन पुस्ते सार्वजनिक भएको थियो ।
मल्होत्रा, उपेन्द्र महतो, चौधरी ग्रुपका बसन्त चौधरी, दीपक भट्ट, रामेश्वर बोहोरा, यती एयरलाईन्सका सञ्चालक आङछिरिङ शेर्पा, सुबर्णलाल श्रेष्ठ, रामेश्वर थापाहरु यतिखेर लोकमानलाई जोगाउन सक्रिय छन् ।
यी मध्ये पनि सामसुङ मोवाइलका प्रमुख आधिकारिक नेपाली बिक्रेता मल्होत्राले आफ्नो तस्करी धन्दालाई लोकमानले गुपचुप बनाएका कारण बढि सक्रिय भएर लागेको अख्तियारमा चर्चा हुने गर्छ ।
मल्होत्राले काठमाडौंको दरवारमार्गस्थित याक एण्ड होटल नजिकै इविसु ज्वेलर्स सञ्चालन गर्दै आएका छन् । उनले काठमाडौंको भेडासिंह लगायत अन्य पाँच स्थानमा पनि यसरी नै सुन पसलहरु सञ्चालन गर्दै आएका छन् ।
जसको काम नै अबैध रुपमा भित्राएका सुनहरु बेचविखन तथा बिक्री गर्नु हो । उनले देखाउने दाँतका रुपमा सुन पसलहरु सञ्चालन गर्दै आइरहेका भए पनि त्यहाँबाट ठूलो परिमाणमा तस्करी धन्दालाई मलजल पु-याउँदै आएका छन् ।
मल्होत्राको प्रहरीमा पनि पहुँच बढ्नुमा लोकमानका नातेदार पुर्व डिएसपी सुरेन्द्रबहादुर सिंह रहेको बताइन्छ । सिंहले मल्होत्रा र लोकमानबीचको सम्बन्धलाई निकै नजिक बनाएका थिए ।
विगतमा एयरपोर्टमा मल्होत्राको धेरै सून र नगद जफत हुन थालेपछि लोकमानले एयरपोर्टमा सेटिङ मिलाउन त्यहाँका कर्मचारीलाई तर्साएको एक कर्मचारी बताउँछन् ।
एअर अरेविया र फ्लाई दवईबाट करोडौं अबैध डलर र सुन जफत गरिँदा मलहोत्राको नाम बाहिर आएको थियो । स्रोतका अनुसार सिंह र मल्होत्राले सुन गोदाम गर्न नक्साल भाटभटेनी नजिकैकै सिंहकै घर प्रयोग गर्दै आइरहेका छन् ।
एयरपोर्टमा तत्कालिन डिआईजी विजयलाल कायस्थले लोकमानकै दबाबमा सुनको सेटिङ मिलाउने गर्दथे । जसका कारण उनी १६ महिनासम्म विमानस्थल प्रमुख भएर बसेका थिए ।
उनी विरुद्ध अख्तियारमा जति उजुरी परेपनि लोकमानले उजुरी नै लुकाएर राखेको एक एआईजी बताउँछन् । त्यसो त काठमाडौं पछि बीरगञ्जमा मल्होत्राका पार्टनरका रुपमा चिनिने नेशनल मेडिकल कलेजका बसुरुद्दीन अन्सारीले उनलाई त्यहाँबाट सहयोग गर्दै आएका छन् ।
सुन तस्करी देखि अवैध हुण्डी र डलरमा अन्सारी र मल्होत्राको संयुक्त कारोबार हुँदै आएको स्रोत बताउँछ । अर्कोतर्फ २०७२ साल बैशाख १२ गेतको महाभूकम्पपछि त्रिपाल खरिद काण्डमा समेत लोकमान मुछिए ।
त्यति ठूलो भ्रष्टाचार छानविन नहुनुमा एउटै कारण छ, ग्यालेक्सी इन्टरनेशनलका मल्होत्रासँग उनको ब्यापारिक साझेदारी र मन्त्रालयले खरिद गरेका सयौं पाल, त्रिपाल स्वयम् आफैले लिएर राहत बाँड्ने नाममा दुरुपयोग गर्नु ।
मल्होत्राले लोकमानकै निर्देशनमा त्रिपाल खरिद गर्ने करोडौंको ठेक्का हात पारेका थिए । करिब ५० करोड रुपैयाँ बराबरको रकममा २५ करोड घोटला भएको त राष्ट्रिय सर्तकता केन्द्रले छानविन गरेर सार्वजनिक गरिसकेको छ ।















प्रतिक्रिया