काठमाडौँ, २४ कात्तिक । अमेरिकामा जारी राष्ट्रपतीय निर्वाचनको सन्दर्भ पारेर नेपालका लागि अमेरिकी राजदूत अलाइना बि टेप्लिज्ले आज उहाँकै निवासमा एक समारोहको आयोजना गर्नुभयो ।
त्यस अवसरमा उहाँले प्रजातन्त्रको सर्वाधिक सुन्दर पक्ष नै निर्वाचन भएकाले बितेका २०० वर्षदेखि अमेरिकामा प्रजातान्त्रिक ढङ्गले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण भइरहेको बताउनुभयो ।
समारोहमा सभामुख ओनसरी घर्तीमगर, मन्त्रिपरिषद्का सदस्यहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय निकायका प्रतिनिधि, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत उपस्थित हुनुहुन्थ्यो ।
त्यसअघि समारोहमा उपस्थित सबैले अमेरिकी निर्वाचनकै शैलीमा नमूना मतदान गरेका थिए ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयी हुँदै रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प ४५ औं अमेरिकी राष्ट्रपति बन्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी हिलारी रोधम क्लिन्टनले पराजित हुनुभएको छ । रासस












प्रतिक्रिया