१२ कार्तिक २०८३, बिहिबार

भारतीय राष्ट्रपति आएकै बेला प्रचण्ड सरकारले गरेको ‘हर्कत’ले रिसायो चीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

xi-jinping

काठमाडौँ, २४ कात्तिक । नेपाल सरकारको उच्च तहबाट उदासीनतापूर्ण व्यवहार भोगेपछि उत्तरी छिमेकी चीनबाट हालै नेपाल भ्रमणमा आएका दुई प्रतिनिधिमण्डल असन्तुष्ट भई स्वदेश फर्केका छन् ।

यही कात्तिक १५ देखि १८ सम्म नेपाल भ्रमणमा आएको चीनको छिङ्हाई प्रान्तका सार्वजनिक सुरक्षा मामिला प्रमुख वाङ चोङसङ नेतृत्वको टोलीले ‘अपमाजनक’ व्यवहार भोगेर फर्केको हो ।

गृह मन्त्रालयको निमन्त्रणामा आएको ६ सदस्यीय चिनियाँ टोलीलाई मन्त्रालयका उच्च अधिकारी नभेटी फर्कादिएका हुन् । चिनियाँ टोलीले नेपालका सुरक्षा अंगका प्रमुखसँग भेट्न समय मागे पनि नदिएपछि कसैलाई नभेटी उनीहरू स्वदेश फर्किएका छन् ।

गृह अधिकारीलाई भेट्ने कोसिस सफल नभएपछि उनीहरू नगरकोट घुमेर स्वदेश फर्किएका थिए । निकट छिमेकी मुलुकको प्रतिनिधिमण्डललाई कूटनीतिक परम्पराअनुसार उचित आतिथ्य र व्यवहार गर्नुपर्नेमा गृह मन्त्रालयले उल्टो व्यवहार गरेको छ ।

यसबाट एकातिर छिमेकी चीन नेपालसँग असन्तुष्ट बन्न पुगेको छ । अर्कातिर नेपालका सरकारी निकायको गैरजिम्मेवारी र उदासीनता भल्किएको छ’, जानकार एक अधिकारीले भने ।

गृह स्रोतका अनुसार नेपालस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत गृहसचिव लोकदर्शन रेग्मी र शान्तिसुरक्षा महाशाखा प्रमुखसँग भेटवार्ताका लागि समय मागेको थियो । टोली कात्तिक १८ गतेसम्म नेपाल रहे पनि गृह मन्त्रालयका अधिकारीले भेट दिएनन् ।

‘परराष्ट्रमार्फत भेटवार्ताका लागि अनुरोधपत्र आएको थियो । तर गृहसचिव र शान्तिसुरक्षा महाशाखा प्रमुख दुवैले भेट्नुभएन’, गृह स्रोतले भन्यो ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणमा व्यस्त रहनुपरेको भन्दै गृह सचिव र शान्तिसुरक्षा महाशाखा प्रमुखले चिनियाँ टोलीलाई नभेटेको स्रोतले बतायो । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले गृह मन्त्रालयमा चिनियाँ प्रतिनिधिमण्डलले भेट नपाएको विषयमा गृहसँग सोध्दा चित्तबुझ्दो जबाफ नआएको बताए ।

गृह प्रवक्ता एवं शान्तिसुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थीले भने चिनियाँ टोली गृहको निमन्त्रणामा नेपाल आएर फर्केकोबारे आफूलाई जानकारी नरहेको दाबी गरे । ‘म यस महाशाखाको प्रमुख भएको एक महिना भयो । गृहले कुनै चिनियाँ टोलीलाई निमन्त्रणा गरेको थाहा छैन’, उनले भने ।

त्यसअघि नेपाल आएको अर्को एक चिनियाँ सरकारी प्रतिनिधिमण्डलले पनि यस्तै अपमानजनक व्यवहार नेपालको सरकारी निकायबाट भोगेको छ ।

कात्तिक २ गते नेपाल भ्रमणमा आएका चिनियाँ उद्योग तथा वाणिज्यमन्त्री चाङ माओले वाणिज्यमन्त्री रोमी गौचन थकालीसँग भेटवार्ताका लागि समय मागेका थिए । तर गौचनले आफू व्यस्त रहेको भन्दै भेट दिएनन् । यसबाट चिनियाँ पक्ष असन्तुष्ट भई फर्केको वाणिज्यका अधिकारीले बताए ।

चिनियाँ मन्त्रीले वाणिज्यमन्त्री थकालीसँग नेपाल र चीनबीचको पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’ टुंग्याउने विषयमा कुराकानी गर्न चाहेको स्रोत बताउँछ । ‘तर मन्त्री थकालीले बिनाकारण चिनियाँ मन्त्रीसँग भेट्न चाहनुभएन’, स्रोतले भन्यो ।

यद्यपि चिनियाँ मन्त्री नेतृत्वको उक्त टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, आपूर्तिमन्त्री दीपक बोहरा र उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग भने भेटेको थियो ।

नेपाल र चीनबीचको पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’ टुंग्याउने विषयमा छलफल गर्न गत आइतबारदेखि मंगलबारसम्मका लागि चीनको ल्हासामा हुने भनिएको बैठक स्थगित भएको छ ।

‘ल्हासामा हुने भनिएको पारवहन बैठक हुन नसक्ने भन्दै अन्तिम समयमा चिनियाँ पक्षले पत्र लेख्यो । नेपालबाट चीनसँगको सम्बन्धमा गरिएका पछिल्ला गैरजिम्मेवारीपूर्ण गतिविधिको प्रतिक्रियास्वरूप त्यसो भएको हुन पनि सक्छ’, जानकार अर्का अधिकारीले भने ।

कुनै पनि विदेशी सरकारी प्रतिनिधिमण्डल नेपाल सरकारको निमन्त्रणामा आउँदा सो प्रतिनिधिमण्डलको दूतावासको आग्रहमा परराष्ट्र मन्त्रालयले भेटवार्ताका लागि सहजीकरण गर्छ ।

अन्नपूर्ण पोष्टमा समाचार छ ।