३० आश्विन २०८३, शुक्रबार

नागरिकता हाम्रो रगत हो, भारतीयलाई बेचिँदा पनि सहने ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suraj-Bhandari

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विघटन, देशको ठूलो दल नेपाली कांग्रेसको अगुवाईमा तेस्रो दल माओवादी केन्द्रका नेता पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन, चिनियाँ राष्ट्रपति सि जिङ पिङको भ्रमण चर्चा र रद्द, लोकमानसिंह कार्की महाअभियोग प्रस्ताव, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण हुँदै अहिले नेपालमा नागरिकतासँग जोडिएका विषयमा चर्चा परिचर्चा पेचिलो बनेको छ ।

२०४६ सालपछिको राजनीतिक घटनाक्रम र विभिन्न समयमा भएका आन्दोलनसँग नागरिकताको विषय प्रत्यक्ष–अप्रत्यक्ष ढंगवाट जोडिँदै आएको देखिन्छ । पछिल्लो समय तराई केन्द्रित आन्दोलनको महत्वपूर्ण मुद्दा समेत नागरिकता हुँदै आएको छ । पक्कै पनि नागरिकता हल्का विषय हुन सक्दैन । नागरिकता पहिचान हो । राष्ट्र भूगोल मात्र हुन सक्दैन, नागरिकको सद्भावमा राष्ट्रको परिचय, सार्वभौमिकता, स्वाधिनता र अखण्डता लुकेको हुन्छ । तर यति गम्भिर विषय नेपालमा किन हल्का मुद्दा बनिरहेको छ ? किन यसप्रतिको गम्भिरता झल्किने सकेको छैन ? सत्ता मोहका खातिर पटकपटक यो विषय किन गौण बन्दै गएको छ ? हरेक पटकको आन्दोलन होस् या आफ्नो मर्जी अनुरुपको धर्ना प्रदर्शन र त्यसको आडमा धम्काएर वा दिने डराएर किन नागरिकता प्राप्तिको विषय झन् झन् सहज र कमजोर पारिँदै छ ?

नागरिकताको विषय यसरी किन उठिरहन्छ ? के साँचो अर्थका भूमिपुत्रहरुले नागरिकता पाउन गाह्रो नै छ त ? के नेपालमा जन्मिएकाहरुलाई नागरिकता लिन सकस व्यवहोर्नु परेको छ ? के नेपालमा नजन्मिएका वा वंशज नखुलेकाहरुले नेपालमा बाँच्न वा आफू परिचित हुने अधिकार पाएका छैनन् त ? विश्वका नाम लिइने प्रजातान्त्रिक मुलुकहरु भन्दा नागरिकताको विषय हाम्रो देशमा कुन अर्थमा कडा छ ?

भारत होस् वा अमेरिका के त्यहाँ नागरिकता पाउन सहज छ त ? अहिले अमेरिकामा राष्ट्रपतिको निर्वाचन चलिरहँदा मेक्सिकोसँगको खुला सिमा र खुला सीमाका कारण देखिएको समस्या, देखिन सक्ने चुनौती किन चुनावी अभियानको महत्वपूर्ण हिस्सा बनेको छ । नागरिकताको विषय प्रधान हुदैंनथ्यो भने यो मुद्दा यसरी पेचिलो बन्ने थिएन । अमेरिकालाई विश्वकै अग्रप्रजातान्त्रिक मुलुकको सूचीमा राखेर हेरिन्छ तर अमेरिकाले पनि नागरिकताको विषयमा किन आफूलाई कडा बनाएको होला ? अर्कोतर्फ भारतमा के वर्षौवर्ष देखि बसिरहेका नेपालीहरुले नागरिकता वा त्यहाँको परिचय पत्र पाएका छन् त ? के उनीहरुले त्यो अधिकार उपभोग गर्न पाएका छन् जो त्यहाँ जन्मिएका वा त्यहाँको परिचय पत्र भएकाहरुले पाएका छन् ? भारतमा बर्षौ बस्दैमा वा त्यहाँ जन्मिँदैमा समेत लिन चाहेमा नेपालीले त्यहाँको नागरिकता पाउने अवस्था छैन् यो नेपालमा मुद्दा उठाउनेहरुलाई पनि राम्ररी थाहा भएकै विषय हो ।

विश्वको हरेक राष्ट्र आफू जतिसुकै प्रजातान्त्रिक विधि अवलम्वन गरेको मुलुक हो भनेर भनोस् । तर त्यो देशमा नागरिकताको सवाल अहम् विषय हुन्छ । नागरिकताको मुद्दा राष्ट्रिय स्वाभिमानको विषय हो । यसमा कहि कतैं सम्झौता गरिएको देखिदैंन । कसैले माग्दैमा वा दबाब दिएकै भरमा नागरिकता प्राप्तिलाई सरल गरिएको इतिहास देखिदैंन न त त्यसरी आफ्नो देशको नागरिकता प्रभाव वा दवावमा कमजोर होस् भन्ने चाहना नै त्यहाँका बासिन्दामा रहेको हुन्छ । तर, विडम्वना यसको अपवाद नेपाल किन बनिरहेको छ ? झन् झन् नागरिकताको विषय किन लचिलो बनाइँदैछ ? यो नजानेर वा भोलिको सम्भावित परिघटनामा दूरदर्शिता नपनाएर पक्कै होइन । यो खुला किताव जस्तै छर्लङ्ग भएको विषय भएको छ । अब त खुल्लम खुल्ला मागहरु आउदैछन् प्रभाव, दबाब, लोभ या डरका कारण त्यसमा सम्वन्धित पक्ष सरोकारवाला दलहरुले औठा छाप गरिरहेका छन् । आखिर किन ? भोलि कसका लागि किन यस्तो गरिदैंछ ? के अहिले आइरहेका मागहरु हाम्रा मधेशी, आदिवासी वा जनजातिको हितमा भोलि हुनेछ ? के हाम्रो उद्देश्य अरु नै हो त ? अनि यस्तै रहे दलहरुले के भोलि राजनीति कसका लागि कहाँ गर्ने व्यक्तिगत हिसावले हेर्दा समेत अड्कल काटेका छैनन् होला त ? आखिर किन यस्तो भैरहेको छ । गर्दागदै अब त लाज पनि पच्ने गरी अंगिकृत नागरिकता लिएका व्यक्ति देशको संवैधानिक पदहरुमा पुग्न पाउनेसम्मको विषय बाहिर आएको छ । अब यो रहे अब हुन चाँहि के बाँकी रहन्छ । हाम्रो जस्तो खुला सिमा जोडिएका देशमा यो व्यवस्था माग गरिनु खास स्वार्थ जो कोहीले पनि बुझेका छन् तर मुख्य कुरा बुझ पचाउन खोजिएको छ । अंगिकृत नागरिकता लिएका व्यक्तिलाई संवैधानिक पदमा पुर्याउने कुरा आम नेपालीले सोच्ने विषय नै होइन । अझ नेपालमा नागरिकताको विषय फरक हुनैपर्दछ । विश्वका विकसित प्रजातान्त्रिक देशले समेत आफ्नो देशमा जन्मिएका र आएकाबीच फरक गर्ने गर्छ त्यो नेपालमा पनि लागू हुनै पर्दछ । अझ हाम्रो जस्तो खुला सिमा भएको देशका लागि यो महत्वको विषय वन्नुपर्दछ, देश अहिले समृद्द नभएपनि सम्भावनायुक्त छ, भोलिको लागि अहिले नै अरुले सोच विचार गरेर यी विषयहरु एकपछि अर्को उठाइएको छ, यो नजान्ने सायद अब होलान्, लुकेर होइन अव त खुल्लम खुल्ला चुनौती दिने काम भएको छ । अनि नेता, दल, सरकार त प्रभाव, दबाब, लोभ र डरले गर्दा लुुसुक्क परे हामी जनता चाँहि किन यस्तो असह्य पीडाबोध गरेका छौं ?

तराई, पहाड, हिमाल जो जहाँ छौं, हामी हाम्रो देशको माया गर्छौ । देशभित्र कँही कतै विभेद नहोस् भन्ने चाहन्छौं, त्यो हाम्रा भित्र नहोस् भन्ने चाहन्छौं, अब जागौं केही गरौं, आफ्नो लागि गरौं, भोलिको सन्ततिको लागि गरौं, खास मधेशी, जनजाती, थारु, पिछडिएका वर्गको निम्ति गरौं, उनीहरुको भाग खोस्ने योजनाको प्रतिरक्षा गरौं । आऊ तराई, मधेश, पहाड, हिमाल सबै जनता जागौँ । अहिलेदेखि नै खवरदारी गरौं । नागरिकता खोस्टो कागज होइन्, हाम्रो रगत हो । यो नागरिकतामाथिको मात्र खेलवाड होइन्, हाम्रो पूर्खाको गौरवमाथिको खेलवाड हो । नेपाल र नेपालीको स्वमाभिमानमाथिको खेल हो । लाखौँ नेपाली देश बनाउन विदेशमा पसिना चुहाउने, अनि भारतबाट अस्ति भर्खर छिरेकालाई चाँहि धमाधम नागरिकता बाँड्ने काम भइरहेको छ । त्यसो हुँदा पनि हामी चाँहि मौन छौँ । अब कहिलेसम्म टुलुटुलु हेरेर बसिरहने ?