काठमाडौं, २३ कात्तिक । राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको महाधिवेशन आगामी मंसिर २५–२७ गतेका लागि तोकिएको छ ।
मंगलबार पार्टी अध्यक्ष कमल थापाले महाधिवेशन मिति तोक्दै तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न विद्यार्थी नेतृत्वलाई निर्देशन दिएका छन् ।
‘पार्टी अध्यक्षले तोकिएकै समयभित्र महाधिवेशन सम्पन्न गराउन निर्देशन दिनुभएको छ,’ थापालाई भेटेर फर्किएका प्रजातान्त्रिक विद्यार्थी संगठनका वरिष्ठ उपाध्यक्ष पूर्ण चौलागाईले भने– ‘हाम्रा सम्पूर्ण विद्यार्थी साथीहरु पनि महाधिवेशनको पक्षमा छन् । महाधिवेशन समयमै हुन्छ ।’
महाधिवेशनको मिति तोकिएसँगै आफूहरुले तयारी सुरु गरेको वरिष्ठ उपाध्यक्ष चौलागाईले बताए ।
सौरभ भण्डारीको कारवाही उल्ट्याइयो
संगठनका वरिष्ठ उपाध्यक्ष चौलागाईको नेतृत्वमा गएको विद्यार्थी टोलीले पार्टी अध्यक्ष थापालाई विद्यार्थी नेता सौरभ भण्डारीको कारवाहीको विषयमा डेलिगेसन समेत दिएका थिए । अध्यक्ष थापाले उक्त कारवाही उल्ट्याइदिएका छन् । भण्डारीलाई आफ्नो पक्षमा नलागेको भन्दै महाधिवेशन तयारी समिति संयोजक उज्जवल पोखरेलले कारवाही गरेका थिए ।
पूर्ण चौलागाई समूह बलियो
महाधिवेशन मिति तोकिनु आगावै चुनावी तयारीमा लागेका वरिष्ठ उपाध्यक्ष चौलागाईले आफू अध्यक्षको बलियो दावेदार भएको दाबी गरे । ‘संगठनका हालका अध्यक्ष, कारवाहीमा परेका विद्यार्थी नेता सौरभ भण्डारी लगायत सबै मेरो पक्षमा छन्,’ उनले भने– ‘पार्टी अध्यक्ष कमल थापा पनि मेरो पक्षमा हुनुहुन्छ ।’













प्रतिक्रिया