– भरत प्रधान
लिस्बन (पोर्चुगल), २२ कात्तिक । करिब दुई साता अघि पोर्चुगलको ओदीमीरामा भएको सडक दुर्घटनामा परि ज्यान गुमाएका दुई नेपाली युवाको शव स्वदेश पठाईएको छ ।
दुर्घटनामा परि ज्यान गुमाएका गैडाकोट–१६, अमरापुरी, नवलपरासीका अनिल थापा र रिघा–३, ठुलोरिघा, बाग्लुङ्गका सन्तोष सापकोटाको शव गैर आवासीय नेपाली संघ पोर्चुगलको पहलमा आइतबार स्वदेश पठाईएको हो ।
शव पठाउनका लागी आवश्यक पर्ने सबै कानुनी प्रक्रिया पुरा गरेर थापा र सापकोटाको शव स्वदेश पठाईएको संघका अध्यक्ष भिम केसीले जानकारी दिनुभयो । पोर्चुगलमा रहेका नेपाली समुदायबाट आर्थिक सहयोग जुटाएर टर्कीस एयरको बिमानबाट शव पठाईएको केसीले बताउनुभयो । उनीहरुको शव पठाउन करिब ८ लाख रुपैयां लागत लागेको उहांले बताउनुभयो ।
उनीहरुको शव सोमबार त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल काठमाण्डौं पुग्ने बताईएको छ । पोर्चुगलमा नेपाली राजदूतावास नभएकै कारण शव पठाउन केही कुटनीतिक समस्या झेल्नुपरेको अध्यक्ष केसीले बताउनुभयो ।
थापा र सापकोटाको भिला नोभा दि मिलफोन्तेसबाट साओ तेतोनिया तर्फ जाने क्रममा उनीहरु सवार कार अनियन्त्रीत भई सडकबाट उछ्छीटीएर रुखमा ठोक्कीदा गत २७ अक्टोबरमा दुर्घटनास्थलमै ज्यान गएको थियो ।
बैदेशिक रोजागारीका क्रममा थापा ३ बर्ष र सापकोटा १ बर्ष अघि पोर्चुगल आएका थिए । उनीहरु कृषि कामदारका रुपमा यहां कार्यरत थिए ।













प्रतिक्रिया