१२ कार्तिक २०८३, बिहिबार

सरकारले के–के विषयमा गर्दैछ संविधान संशोधन ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahal-prachandकाठमाडौं, २२ कात्तिक । सरकारले प्रादेशिक सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्व प्रणालीमा हेरफेर गर्ने गरी चारवटा विषयमा संविधान संशोधन गर्न गृहकार्यलाई तीव्रता दिएको छ ।

संविधानको अन्तरवस्तुमा असन्तुष्ट मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले ती विषयमा संशोधन प्रक्रिया अघि बढाउन लागेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

संशोधनका विषयमा सहमति जुटाउन मधेसी मोर्चा र प्रमुख विपक्षी एमालेसँग प्रधानमन्त्रीसहित सत्तापक्षका प्रमुख नेताहरूबीच अनौपचारिक छलफल भइरहेको छ ।

प्रधानमन्त्री दाहालले दुई दिनअघि एमाले अध्यक्ष केपी ओलीसँग छुट्टै कुराकानी गरी सहमतिमा आउन आग्रह गरेका थिए ।

‘राजनीतिक दलहरूबीच सहमति बनिसकेको छैन । जतिसक्दो छिटो सहमति जुटाउने गरी सरकारले सरोकारवाला दलहरूसँगको छलफललाई तीव्रता दिएको छ’, कानुनमन्त्री अजयशंकर नायकले भने, ‘शीर्ष नेताहरूबीच सहमति जुट्नेबित्तिकै विधेयक संसदमा पेस हुन्छ ।’

तीनबुँदे सहमति गरेर प्रधानमन्त्री निर्वाचनमा पुष्पकमल दाहाललाई संसद्मा समर्थन गरेका मधेसी दलहरूले प्रतिबद्धताअनुसार काम नभएको भन्दै असन्तुष्टि व्यक्त गर्न थालेपछि सरकारले संविधान संशोधनको गृहकार्य थालेको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले कांग्रेस र माओवादीका केही नेतालाई संशोधनको प्रस्ताव तयार गरी मधेसी दलसँगको अनौपचारिक कुराकानी गर्ने जिम्मेवारी दिएका छन् ।

भारत भ्रमणमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा फर्केलगत्तै संशोधन प्रस्तावमाथि औपचारिक रूपमा सहमतिको प्रयास सुरु हुने कांग्रेसका एक नेताले बताए । दुवै पक्षबीच अनौपचारिक तहमा कुराकानी भने भइरहेको छ ।

‘सीमांकन, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्वलगायत विषयमा संशोधन प्रस्ताव तयार गर्नेबारे लामो समयदेखि छलफल भइरहेको छ, तर यसैगरी टुंग्याउने भन्ने स्थिति बनिसकेको छैन’, परराष्ट्रमन्त्री प्रकाशशरण महतले भने । उनले संशोधनबारे कुनै व्यक्ति विशेषले केही कुराकानी गरेको हुन सक्ने भए पनि पार्टीमा आधिकारिक रूपमा धारणा तयार नभइसकेको जानकारी दिए ।

आइतबार सञ्चारमाध्यममा सरकारले तयारी गरिरहेको भनिएका चारवटा विषय समेटिएको संशोधन प्रस्तावसम्बन्धी विधेयकको मस्यौदा ‘ननपेपर’ का रूपमा सार्वजनिक भएको थियो ।

कानुनमन्त्री नायकले उक्त मस्यौदा सरकारले तयारी गरेको आधिकारिक दस्तावेज नभएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले समेत त्यसमा सत्यता नरहेको भन्दै प्रतिक्रिया दिएका छन् ।